+
+
Shares
योगेश भट्टराईको योजना :

‘ट्वीनअटर प्रदेशमा, ठूला जहाज काठमाडौंमा मात्रै’

'आगामी दशकलाई भ्रमण वर्षको रुपमा मनाउनु पर्छ'

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १०:५३

३ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण वर्षको रुपमा मनाउनु पर्ने बताएका छन् । भ्रमण वर्षको उदघाटन समारोह जनवरी १ मा हुने र त्यो दिन नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने जानकारी पनि मन्त्री भट्टराईले दिए ।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

‘आगामी वर्ष हामीले भ्रमण वर्ष मनाउँदै छौँ, सफल हुनेछ,’ मन्त्री भट्टराईले भने, ‘तर २०२० मै यो अभियान सम्पन्न हुँदैन, आगामी दशकलाई नै भ्रमण वर्षको दशकको रुपमा मनाउनु पर्छ ।’

मन्त्री भट्टराईले कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पुर्‍याउन सबै लागि पर्नुपर्ने बताए । पर्यटनको क्षेत्रबाटै हजारौंलाई रोजगारी दिन सकिने भन्दै यसमा सबैले लागिपर्नु पर्ने बताए । पूर्वाधारमा कमजोर भएको कारण केही चुनौती भने सामना गर्नु पर्ने उनले बताए । यद्यपि आगामी वर्ष नै अन्तर्राष्ट्रिय विमानस्थल थपिने भन्दै उनले यसबाट मुलुकमा पर्यटक भित्राउन अझ सहज हुने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै समस्या रहेको भन्दै त्यसको नयाँ विकल्पको विषयमा छलफल भइरहेको समेत बताए । मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई स्तरोन्नति गरिनेसमेत बताए । अध्यागमनमा नयाँ प्रविधिहरु प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

मन्त्री भट्टराईले ट्वीनअटर जहाजहरुलाई प्रदेशतिर सेवा दिन लगाएर काठमाडौंभित्र ठूला जहाजमात्रै प्रयोगमा ल्याउने योजना रहेको बताए ।

एनआरएनएको लगानीबाट आफू उत्साहित भएको भन्दै उनले अब भ्रमण वर्ष सफल बनाउन समेत एनआरएनएले भूमिका खेल्नु पर्ने बताए । भ्रमण वर्ष सफल बनाउन एक जना फोकल पर्सन तोक्न मन्त्री भट्टराईले एनआरएनएका अध्यक्षलाई आग्रह गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालमा पर्यटनको सम्भावना प्रचुर भएको भन्दै पर्यटक भित्राउन गाह्रो नहुने बताए ।

माल्टा, टर्की जस्ता देशहरूले सामान्य टापुहरुकै भरमा लाखौं पर्यटक भित्राउने गरेको भन्दै उनले नेपालमा त्यसको तुलनामा धेरै सम्भावना रहेको बताए । उनले नेपालको बारेमा कतिपय विदेशी सञ्चारमाध्यममा नकारात्मक समाचार प्रकाशन हुने गरेको भन्दै यसलाई रोक्न एनआरएनले भूमिका खेल्ने बताए ।

‘सगरमाथा सफा गरिएको फोटो खिचेर विदेमा भ्रमपूर्ण प्रचार भएको थियोे, यस्ता भ्रम चिर्न हामी सक्रिय हुनुपर्छ, हुन्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?