+
+
Shares

रवि-बालेन अयोग्यता पुराना नेतृत्वको पुनरोदयको आधार होइन : भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १०:२०

२९ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन शाहको ओरालो यात्रा र अयोग्यतालाई पुराना नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन चेतावनी दिएका छन् ।

भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठूलो ‘महाभूल’ हुने चेतावनी दिएका हुन्।

शुक्रबार फेसबुकमा पुराना दलका शीर्ष नेताहरूले पार्टीभित्र पुरानै भूमिकामा फर्कन गरिरहेको मेहनतलाई संकेत गर्दै नेता भट्टराईले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरूको आलोचना गरेका छन् ।

नेता भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा जस्ता पुराना पार्टीको अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई भजाएर रास्वपाको जन्म भएको र रवि तथा बालेनलाई नेता बनाइएको टिप्पणी गरेका छन्।

सुरुआती चरणमा उनीहरूलाई ठूलो सफलता मिले पनि पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति र सामाजिक आधारतर्फ ध्यान नदिँदा उनीहरूको पतन सुरु भएको उनको दाबी छ।

‘अरुको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्,’ भट्टराईले भनेका छन्, ‘बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोधले नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो, न आजकालाई काम लाग्नेछ।’

भट्टराईले आफ्नै पार्टी एमालेसहित कांग्रेस र नेकपाका शीर्ष नेताहरूले रास्वपाको ओरालो यात्रा तथा रवि र बालेनको अयोग्यतालाई देखाएर पुरानै गल्ती दोहोर्‍याइरहेको टिप्पणी गरेका छन् ।

नयाँको कमजोरीलाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर पुराना नेताहरू आत्मरतिमा मस्त रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पुनर्निर्माणमा ध्यान नदिने प्रवृत्ति पुराना दलमा हावी रहेको भट्टराईको निष्कर्ष छ।

पुराना दलका नेतृत्वलाई सचेत गराउँदै उनले लेखेका छन्, ‘नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ।’

के भने भट्टराईले ?

पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो। रवि, बालेनलाई नेता बनाइयो। तत्काल ठूलै सफलता पनि मिल्यो। तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्न तीर ध्यान नदिंदा शिखरबाट ओरालो यात्रा शुरू भएको छ ।

अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्। बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो न आजकालाई काम लाग्ने छ ।

अर्कोतिर पुराना दलका प्रमुख नेताहरू फेरी त्यही गल्ती दोहोर्‍याउँदैछन्। रास्वपाको ओरालो यात्रा र रवि-बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन्। विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पुनर्निर्माणतिर ध्यान नदिने, नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?