
३ कात्तिक, काठमाडौं । अत्याधुनिक सुविधासहितको रेलमा चढेर पर्यटकहरुले बुद्धिस्ट सर्किटको भ्रमण सुरु गरेका छन् । शनिबार भारतको राजधानी नयाँदिल्लीबाट आठदिने भ्रमण सुरु गरेका पर्यटकहरु यही कात्तिक ६ गते नेपालको लुम्बिनी आउने छन् । र, एक रात लुम्बिनीमै बस्नेछन् ।
रेलमा सवार देश–विदेशका पर्यटकहरुलाई गौतम बुद्धसँग सम्बन्धित तीर्थस्थलको भ्रमण गराइने छ । अत्याधुनिक सुविधायुक्त यो रेलको एसी फस्ट क्लासमा ९६ सिट छन् । सेकेन्ड क्लासमा ६० सिट छन् । फस्ट क्लासको भाडा सवा तीन लाख भारु छ । सेकेन्ड क्लासको सिटको भाडा एक लाख भारु छ ।
बुद्धिस्ट सर्किटको भ्रमण गराउने यो विशेष रेलको डिजाइन भारतीय रेलवे खानपान तथा पर्यटन निगम (आईआरसीटीसी)ले गरेको हो ।
आईआरसीटीसीका प्रवक्ता सिद्धार्थ सिंहका अनुसार रेलको हरेक डिब्बामा ६४ जना अट्ने क्षमताको रेष्टुरेन्ट छ । यात्रीहरुले रेल चलिरहेको बेला त्यहीँ खाना, नास्ता खान सक्छन् ।
१९ अक्टुबर अर्थात् शनिबार नयाँदिल्लीको सफदरजंग रेलवे स्टेशनबाट हिँडेको यो रेल सीधा बिहार प्रान्तको गया गएको छ । यो रेल आइतबार बिहान गया पुगेको छ । गया रेलवे स्टेशनबाट यात्रीहरुलाई बोधगया भन्ने स्थानमा लगिने छ । बोधगया गौतमबुद्धले तपस्या गरी बुद्धत्व प्राप्त गरेको स्थान हो । त्यहाँ यात्रुहरुलाई होटलमा बसाइने छ । राजगीर, नालन्दा लगायतका स्थानको अवलोकन गराएर पर्यटकहरुलाई पुनः गया फर्काइने छ ।
गयाबाट रेल वाराणसी प्रस्थान गर्ने छ । पर्यटकहरुलाई रेलभित्रै साँझको खाना खुवाइने छ । २२ अक्टुबरमा रेल वाराणसी पुग्ने छ । त्यहाँबाट पर्यटकहरुलाई सारनाथ लगिने छ । बुद्धत्व प्राप्त गरेपछि गौतमबुद्धले पहिलो उपदेश सारनाथमै दिएका थिए, जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ ।
सारनाथको अवलोकन भ्रमणपछि यात्रीहरुलाई गंगा नदीमा बोटिङ गराइने छ । साथै साँझमा गंगा आरती पनि देखाइने छ । साँझ होटलमा खाना खाएपछि उनीहरुलाई रेलमा फर्काइने छ । त्यहाँबाट रेल भारतको नौतनवा प्रस्थान गर्ने छ ।
एक रात लुम्बिनीमै बास
२३ अक्टुबरको दिन रेल नौतनवा रेलवे स्टेशन पुग्ने छ । रेलभित्रै ब्रेकफास्ट गरेपछि पर्यटकहरुलाई नेपालको लुम्बिनी भ्रमण गराइने छ । पर्यटकहरुलाई होटलमा बिहानको खाना खुवाएपछि बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धको आमा मायादेवीको मन्दिरलगायतका स्थानको भ्रमण गराइने छ । ती पर्यटकहरु सो दिन लुम्बिनीकै एक होटलमा बास बस्ने छन् ।
छैठौं दिन लुम्बिनीमै ब्रेकफास्ट गराएर उनीहरुलाई लुम्बिनीबाट कुशीनगर लगिने छ । कुशीनगरमा गौतमबुद्धको निधन भएको थियो, जसलाई ‘महापरिनिर्वाण’ भनिन्छ । कुशीनगरको दर्शनीय स्थानको अवलोकन गराएपछि रेल बलरामपुर अर्थात् श्रावस्तीतर्फ प्रस्थान गर्ने छ ।
सातौं दिन रेल श्रावस्ती पुग्ने छ । श्रावस्तीमा गौतमबुद्धले तपस्या गरेको बताइन्छ । यहाँका केही स्थान अवलोकन गरेपछि पर्यटकहरुलाई रेलमै फर्काएर आगरा प्रस्थान गर्ने तालिका छ ।
आठौं दिन बुद्धिस्ट सर्किट भ्रमणमा निस्किएको रेल आगरा पुग्ने छ । त्यहाँ पर्यटकहरुलाई ताजमहलको भ्रमण गराउने कार्यतालिका छ । त्यसपछि रेल नयाँदिल्ली फर्किने छ ।
आईआरसीटीका प्रवक्ता सिद्धार्थ सिंहले आजतकलाई बताएअनुसार बुद्धिस्ट सर्किट यात्रामा राम्रो प्रतिक्रिया आएको छ । रेलका ५० प्रतिशत सिट भरिएका छन् । मानिसहरुको सकारात्मक प्रतिक्रियाअनुसार बुद्धिस्ट सर्किट रेल १२ पटक चलाइने उनले बताएका छन् ।
प्रतिक्रिया 4