
४ कात्तिक, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास सोमबार हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ३ बजे सुरुङमार्गको शिलान्यास गर्नेछन् ।
सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।
काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो सुरूङ करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का लागेको छ ।पहुँचमार्गका लागि गुर्जुधारा र सुरुङको मुखभन्दा मुनि नागढुंगामा बन्ने २ वटा फ्लाइओभरको लागतसहित यो २२ अर्ब खर्च हुने परियोजना हो ।
यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ ।
अष्ट्रेलियन टनेलिङ मेथडबाट यो सुरुङमार्ग बन्नेछ । यसअन्तरगत जम्बो ड्रिलिङ मेसिनहरु पनि प्रयोग गरिन्छ । सुरुङमार्ग बनाउन ५ देखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ । नेपालमा आयोजनाहरुका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनामार्फत लिनुपर्छ ।
ठेकेदार हाजमा नेपालमा राम्रो रेकर्ड भएको जापानी कम्पनी हो । कोटेश्वर–सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । यसले नै विपी राजमार्गको निर्माण गरेको हो ।
सुरुङमार्गका लागि जापान सरकारले १६ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भएको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
नौबीसेदेखि थानकोटसम्मको सडकखण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनिकरण गर्ने भन्दै सरकारले यो आयोजना अघि सारेको हो ।
विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबिसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।
यो सुरुङमार्ग दुबैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुन्छन् र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्कोपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ ।
सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेन (४मिटर) को सहायक सुरुङ पनि बन्नेछ ।
नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.८८ किलोमिटर लामो तीन लेनको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ । एक्सेस रोडमा लिंक गर्न गुर्जुधारामा नेपालकै पहिलो फ्लाइओभर पनि बनाइनेछ ।
प्रतिक्रिया 4