Comments Add Comment

‘ठूला पार्टीका नेताले होटलका कोठा चाहार्नुभयो’

हामी लज्जित भएका छौं, माफी माग्न चाहान्छौं- कुमार पन्त

२ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट १२१७ मतका साथ अध्यक्षमा निर्वाचित भएका कुमार पन्तले आगामी विश्व सम्मेलन काठमाडौंमा नगर्ने घोषणा किन गरे ?

यो प्रश्नबारे जिज्ञासा राख्दा नवनिर्वाचित अध्यक्ष पन्तले अनलाइनखबरसँग भने, ‘अस्ति हामीले होटल हायातमा देख्यौं, ठूला पार्टीका ठूला नेताहरुले होटलका कोठा चाहार्नुभयो । यो हाम्रो पार्टीको मान्छे हो, यसलाई जसरी पनि जिताउनुपर्छ भनेर लबिङ गरेको देखियो ।’

पन्तले थपे, ‘नेपालमा आएपछि राजनीतिक गतिविधिहरु बढ्ने गरेका छन् । यही कारणले पनि मैले काठमाडौंमा भोटिङ नगरेर अनलाइन प्रणालीबाट गर्ने योजना बनाएको हो ।’

विगतमा राम्रैसँग सम्मेलनहरु भए पनि यस वर्ष भने काठमाडौंमा एनआरएनएका नेताहरुको निकै आलोचना भयो । एनआएनएको सम्मेलनमा भाग लिन अष्ट्रेलियाबाट काठमाडौं आएका एक प्रतिनिधिले त्रिभुवन विमानस्थलमा वितण्डा मच्चाएपछि सामाजिक सञ्जालमा समग्र संस्थामाथि नै आलोचना भयो । अर्कोतर्फ सम्मेलनकै क्रममा पनि देखिएको भद्रगोल व्यवस्थापन, हुलदंगा र नाराजुलुस जस्ता क्रियाकलापले एनआरएनए आलोचित बन्न पुग्यो ।

यिनै सन्दर्भहरुलाई लिएर अनलाइनखबरले नवनिर्वाचित अध्यक्ष कुमार पन्तसँग कुराकानी गरेको छ । कुराकानीका क्रममा हामीले पन्तसँग आगामी दुई वर्षे कार्यकालमा तपाईका योजनाहरु के कस्ता छन् भनेर पनि सोध्यौं ।

यसपालि काठमाडौंमा एनआरएनले बितण्डै मच्चाए भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ, विदेशमा के सिकेर आउनुभयो ?

यसपालि आलोचना हुनुको कारण भनेको भोटिङ सिस्टमले गर्दा हो । हामीले यसअघि रामलक्ष्मण दाजुभाइको कम्पनीबाट भोटिङ मेसिन ल्याएर निर्वाचन गराएका थियौं । त्यो मेसिन अन्य निर्वाचनहरुमा पनि प्रयोग भइरहेको रहेछ । त्यही मेसिन ल्याएर हामीले निर्वाचन सम्पन्न गराउन खोज्यौं । तर, प्राविधिक समस्या सिर्जना भयो ।

समस्या आउँदा मतदान स्थगित गर्नुपर्‍यो, जसले गर्दा साथीहरु आक्रोशित हुनुभयो । होहल्लाहरु भए । प्रहरीसँग सामान्य भए पनि मुठभेडको स्थिति बन्न खोज्यो । यो राम्रो कुरा होइन । यसबाट हामी लज्जित भएका छौं । हामी माफी माग्न चाहान्छौं ।

तपाईहरुले देश त्याग्नुभयो, नागरिकता त्याग्नुभयो, तर कांग्रेस-कम्युनिष्ट पार्टी किन त्याग्न सक्नुभएन ?

राजनीति नेपालमा आएपछि गरिन्छ । बाहिर राजनीतिमा त्यस्तो सक्रिय भएको देखिँदैन । नेपाल आएपछि राजनीतिक दलका नेताहरुसँग भेट्ने र नेताहरुले पनि त्यस्ता कामलाई सहज गर्ने । यसरी नेपालमा आएपछि राजनीतिक गतिविधिहरु बढ्ने गरेका छन् । हो, यही कारणले पनि मैले काठमाडौंमा भोटिङ नगरेर अनलाइन प्रणालीबाट गर्ने योजना बनाएको हो ।

निर्वाचित भएसँगै तपाईले काठमाडौंमा विश्व सम्मेलन नगर्ने घोषणा गर्नु भयो, यसको कारण के होला ?

मैले भन्न खोजेको काठमाडौंमा विश्व सम्मेलन नै गर्न हुँदैन भनेको होइन । विश्व सम्मेलन हामी काठमाडौंमा नै गछौर्ं । मैले भन्न खोजेको निर्वाचनको कुरा हो ।

यस नवौं सम्मेलनमा विभिन्न कुराहरु बाहिर आए । आलोचना भयो । अघि नै मैले भनिसकें, निर्वाचनका बेला हायात होटलका कोठा-कोठा चाहारेर ठूला पार्टीका ठूला नेताहरुले यो हाम्रो कार्यकर्ता हो, यसलाई जसरी पनि जिताउनुपर्छ भन्दै हिँड्नुभयो । त्यसले हाम्रो अभियानलाई राम्रो गर्दैन । यसकारण मैले निर्वाचन अनलाइन प्रणालीबाटै गराउँछौं भन्न खोजेको हो ।

कस्ता व्यक्ति एनआरएन हुन् ? एनआरएनको परिभाषाकै विषयमा विरोध छ नि ?

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था एनआरएनए हो । त्यहाँ दर्ता भएर अनुसार विदेशमा २ वर्ष बसेको पूरा भएको व्यक्ति एनआरएन हो । विदेशी कूटनीतिक निकायमा काम गर्ने वा विद्यार्थीहरु भने एनआरएन होइनन् ।

अब २ वर्षको प्रावधान हटाएर ६ महिना बनाउने र जो त्यहाँको ट्याक्स पेयर भइसकेको छ, त्यो मान्छे एनआरएन बन्न सक्ने प्रस्ताव सरकारसँग गर्दैछौं । यसका लागि म भोलिदेखि नै लागि पर्नेछु ।

एनआरएनए अभियान शुरु भएको १६ वर्ष भयो, अहिलेसम्म नेपालले के पायो ?

जतिबेला एनआरएनएको परिकल्पना गरिएको थियो, त्यतिबेला नेपालमा सशस्त्र युद्ध चलिरहेको थियो । यो द्वन्द्ध नेपालमा लामो समय चल्दैन र द्वन्द्व रोकिएपछि नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु भेटिनेछन् भनेर हामीले एनआरएनए बनायौं ।

हामीले त्यसपछि नेपालमा लगानीको प्रशस्त सम्भावना छ, लगानी गर्नुहोस् भन्यौं । यसका साथै हामी आफैंले समेत लगानीको शुरुवात गर्‍यौं । गैरआवासी नेपालीहरुले गरेको लगानीपछि देशमा लाखौं रोजगारी सिर्जना भएका छन् । अहिले हजारांै गैरआवासी नेपालीहरुले लगानी गरेका छौं, यसले गर्दा धेरै श्रमिकले रोजगारी पाउनुभएको छ । यो गैरआवासीय नेपाली अभियानले ल्याएको उपलब्धि हो । हामीले अहिले सामुहिक लगानी पनि गरिरहेका छौं ।

भर्खरैमात्र लमजुङको दोर्जीमा जलविद्युत् आयोजना बनिरहेको छ । यो संस्थाले आहृवान गरेर नै बन्न शुरु भएको हो ।

हामीले १० अर्ब रुपैयाँ लगानी भित्र्याउँछौं भनेर सरकासँग सहमति नै गरेका छौं । यो लगानी भित्र्याउन म भोलिदेखि नै लागि पर्छु ।

तपाईहरुको कार्यालय रहेकै बालुवाटारको जग्गा विवादमा छ, यसबारे के भन्नुहुन्छ ?

यहाँ विवाद भएका कुराहरु लुकाउनुपर्ने केही कुरै छैन । नेपालमा यस्ता घटना भइरहेका छन् । हामीले पैसा तिरेर सबै प्रक्रिया पूरा गरेर किनेका छौं । भोलि म बसेको घर पनि सरकारी हुन सक्ला । सबै प्रक्रिया पूरा गरेर लिएको जग्गामा हामी फसेको होइन, फसाइएको होला । यहाँ गैरआवासीय नेपालीहरुले विदेशी भूमिमा कमाएको एक/एक पैसा जम्मा गरिएको छ । यसरी विदेशी भूमिमा परिश्रम गरेर बनाइएको सबैको सम्पत्ति छाडेर जाउ भनेर सरकारले नभन्ला । यदि भनिहालेछ भने पनि म सरकारसँग वार्ता गरेर समस्या सुल्झाउन लागि पर्नेछु ।

तपाईको दुईवर्षे कार्यकाल कस्तो रहला ?

मेरो दुईवर्षे कार्यकाल पूरा गर्नका लागि मैले केही ठोस योजना तर्जुमा गरेको छु । मैले नम्बर वान के भनेको छु भने विदेशमा बस्ने जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ, वहाँहरुलाई पञ्जीकृत शुल्क हटाएर निशुल्क सदस्यता दिलाउँछु । किनकि पैसाका नाममा हाम्रो अभियानमा केही विकृतिहरु भित्रिएका छन् । यस्ता विकृतिहरुलाई म मेरो कार्यकालमा हटाउन चाहान्छु ।

दोस्रो कुरा, जति पनि नेपालमा जम्मा भएर चुनाव गर्ने चलन छ, यसको अन्त्य गर्छु भनेको छु । नेपालमा प्रतिनिधिहरु आएर चुनाव गर्दा विभिन्न समस्याहरु देखिए । ठूलो खर्च गरेर आउनुपर्ने बाध्यता भयो । म यसलाई हटाउन चाहान्छु । यसलाई अनलाइन प्रविधिमा रुपान्तरण गर्ने योजना छ त्यसो भएपछि नेपालमा आएर लाइन बसेर भोट हाल्नुपर्ने अवस्था रहँदैन ।

जहाँ हुनुहुन्छ, त्यहीँबाट अनलाइन प्रणालीमार्फत भोट हाल्न सक्ने व्यवस्था म बनाउँछु । अनलाइनबाट भोट हाल्ने भएपछि नेपालमा आउनुपरेन । अर्को कुरा, निश्चित प्रतिनिधिमात्रै भोटका लागि छान्नुपरेन । हाम्रा पञ्जीकृत सदस्यहरु सबैले भोट हाल्न पाउनुहुनेछ ।

यो सबै गर्नुपर्ने केका लागि ?

अस्ति हामीले होटल हायातमा देख्यौं, ठूला पार्टीका ठूला नेताहरुले होटलका कोठा चहार्नुभयो । यो हाम्रो पार्टीको मान्छे हो, यसलाई जसरी पनि जिताउनुपर्छ भनेर लबिङ गरेको देखियो ।

यो संस्था भनेको ८० लाख गैरआवासी नेपालीहरु मिलेर बस्न चाहेको संस्था हो । नेपालको समृद्धिका लागि एकताबद्ध भएर लाग्न खोजेको संस्था हो । यसलाई तहन-नहस बनाउन खोजिएको छ । यसलाई रोक्न पनि मैले अबको निर्वाचन यसरी गर्ने परिपाटी अन्त्य गर्न खोजेको छु ।

सबैलाई एक ढिक्का बनाउनुपर्ने कुरा गर्नुभयो, तर तपाईलाई चुनाब हारेका साथीहरुलाई सँगै अघि बढाउन त गाह्रो पर्ला नि ?

निर्वाचनमा भाग लिइसकेपछि हारजित हुनु स्वाभाविक हो । मैदानमा दुईजना उठेपछि एकजना त लड्नै पर्छ । मैले साथीहरुलाई पनि भनेको छु, चुनावमा भएको हारजितलाई सामान्यरुपमा लिनु पर्छ यो ठूलो कुरा होइन ।

संस्थामा विभिन्न नियुक्तिहरु छन् । विभिन्न जिम्मेवारीहरु लिन सकिन्छ । म हाम्रा सबै साथीहरुलाई समेटेर हामी एक छौं भन्ने सन्देश दिन चाहान्छु । म यो काम तत्कालै शुरु गर्दैछु । एनआरएनए भनेको हामी सबैको संस्था हो । हाम्रो अभियानलाई सफल बनाउन हामी सबै लाग्नैपर्छ ।

अनि तपाईमाथि त चुनावमा धाँदली गरेको आरोप लाग्यो नि ?

खै, त्यो कसले, कसरी लगाउनुभयो मैले बुझेको छैन ।

तपाईकै प्रतिस्पर्धी कुल आचार्यले अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गरेर धेरै फर्जी मतदाताहरु तयार गरिएको आरोप लगाउनुभएको छ नि ?

मैले पनि साथीहरुबाट धाँदली भएको आरोप लगाउनुभएको छ भन्ने सुनंे । वहाँले मलाई बुझाउनुभएको छैन, कहाँ कसरी भन्नुभयो । वहाँले भनेको कुरामा सत्यता छ भन्ने मलाई लाग्दैन ।

निर्वाचनको एउटा नियमावली बनाइएको थियो । त्यो नियमावली पास गरेरै काम गरिएको छ । त्यस्ता फर्जी मतदाता नामवलीहरु बनाइए भने, नेपालमा आएर फर्केर बसिसकेका मान्छेहरुले निर्वाचनमा भाग लिन खोजे भने त्यसको विषयमा दाबी विरोध गर्नका लागि समय पनि छुट्याइएको थियो । त्यस्तो शंका थियो भने निर्वाचन आयोजमा दाबी गर्नुपर्ने थियो । त्यस्तो दाबी किन गरिएन ? निर्वाचन आयोगले सच्याउनुपर्ने कुरा सच्याइएको जानकारी पनि पाएको थिएँ । तर, मैले आयोगबाट रिपोर्ट लिइसकेको छैन । कुनै साथीहरुले त्यस्तो गर्नुभयो भन्ने मलाई लाग्दैन । मैले त्यस्तो गरेकै छैन ।

अन्त्यमा, तपाईले आफ्ना प्रतिस्पर्धीबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

हाम्रो अभियानमा म सबैसँग हातेमालो गरेर काम गर्न चाहान्छु । साथीहरु आजसम्म जसरी अभियानलाई सफल बनाउन लागि पर्नुभएको छ, त्यो सक्रियता सधैं हुनुपर्छ । संस्था हाम्रो हो । कसैलाई काखा र कसैलाई पाखा गर्ने मेरो रणनीति छैन । सबैले मिलेर काम गर्नुपर्छ । साथीहरुबाट मैले सधैं सहयोगको अपेक्षा राखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment