Comments Add Comment

रोक्साना खातुनलाई आलमका मान्छेले भनेका थिए- तिम्रो छोरा मरिसक्यो

३ कात्तिक, काठमाडौं । जिल्ला अदालतले रौतहटले बम विस्फोटका घाइतेहरूलाई हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलममाथि अनुसन्धान गर्न थप पाँच दिनको म्याद दिएको छ ।

रौतहट-२ बाट निर्वाचित सांसद आलमका मान्छेहरूले मृतककी आमालाई ‘तिम्रो छोरा मरिसक्यो’ भनेको खुलेको छ । आफ्ना छोरा ओसी अख्तरलाई खोज्न जाँदा उनकी आमा रोक्साना खातुनलाई आलमका मान्छेहरूले यस्तो जवाफ दिएर पठाएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।

पीडितले अभियुक्तमध्येका एक शेख मोविनको घरबाट जुत्ता समेत बुझेर लगेको सर्वोच्चको ठहर छ । महान्यायधिवक्ता कार्यालय लगायत विरुद्धको मुद्दामा सर्वोच्चले भनेको छ, ‘घटना घटेको सुनी ओसी अख्तरको आमा रोक्साना खातुन, मोहम्मद अफताब आलमको घरमा जाँदा विपक्षीहरूले तिम्रो छोरा मरिसक्यो, तिम्रो छोराको जुत्तासम्म शेख मोविनको जिम्मा छ भनेको र छोराको जुत्ता जिम्मा बुझी लगेको देखिन्छ ।’

‘आलम आफैंले मोटरसाइकल चलाएका थिए’

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन अर्थात २०६४ चैत २७ गते पूर्व मन्त्री आलमको काका शेख इदि्रसको घरमा बम पडि्कएको, गाईवस्तु बाँध्ने गोठ घरको पूर्वसाइडको देवाल भित्ता चर्केको, घरको छानामा नयाँ बाँसको भाटा लगाएको सोमाथि नयाँ र पुरानो खपडाले छाएको प्रहरीको घट्नास्थल मुचुल्कामा उल्लेख छ ।

घट्नाका प्रत्यक्षदर्शी सराजुल मियाँले बम विस्फोट हुँदा १/२ जनाको मृत्यु भएको बयान दिएका थिए । मियाँका अनुसार घाइते भएकामध्ये पिन्टु -त्रिलोक प्रताप सिंह)लाई दुबै हातमा र दायाँ तिघ्रामा घाउचोट लागेको थियो भने ओसी अख्तरलाई बाँया खुट्टा र दाहिने हातमा चोट लागेको थियो ।

‘म सो बम विष्फोटन भएको ठाउँदेखि ५ मी. पूर्व रुखमुनि बसेको थिएँ । सो दिन साँझ खेतमा जाँदा त्यही प्रहरीको दुईवटा गाडीका बीचमा रहेको ट्याक्टरबाट बोराको पोको निकाली ईट्टाभट्टामा हाल्दै गरेको आफूले देखेको र आफू गहुँबारीमा लुकेर बाँचेको भनी भनेको पाइन्छ’ सर्वोच्चले प्रत्यक्षदर्शीको बयान उदृध गर्दै आदेशमा लेखेको छ, ‘ओहीद मियाँले २०६४ चैत २७ गते बिहान ६ बजेको समयमा आफ्नै गाउँको मस्जिदको चौतारामा बसिरहेकामा प्रतिवादी मोहम्मद महताब आलमले मोटरसाइकल चलाएको, बीचमा ओसी अख्तर बसेको र पछाडि शेख सराज बसी म बसेको नजिकैबाट पश्चिमतर्फ लगेको भनी भनेको देखिन्छ ।’

हुलाकबाट जाहेरी

जिल्ला प्रहरी कार्यालय, रौतहट, गौरका तात्कालिन कार्यालय प्रमुख प्रहरी उपरीक्षक जयबहादुर चन्दले बमकाण्डसम्बन्धी मुद्दाको व्यहोरालाई कपोलकल्पित भनेका थिए । उनले मुद्दा खारेज गर्नुपर्ने व्यवहोराको पत्र अदालतमा पठाएका थिए ।

यो प्रकरणमा प्रहरी कति असहयोगी थियो भने जति गर्दा पनि पीडितको जाहेरी दर्ता नै गरेन । त्यसपछि पीडितले हुलाकमार्फत जाहेरी दर्ता गराएका थिए ।

नेपाल वार एशोसियशन, इन्सेक र मानव अधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबीन आयोगको माग गर्दा पनि सम्बन्धित निकायले अपराधको अनुसन्धान नगरेपछि पीडितहरूले सर्वोच्च अदालतको ढोका ढक्ढकाएका थिए ।

सर्वोच्च अदालतले २०६९ जेठमै यो घट्नाको गम्भीर अनुसन्धान गर्न आदेश दिएकोमा गत असोज २६ गते पूर्वमन्त्री आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment