Comments Add Comment

आलम पक्राउ प्रकरण : सरकारको नियतमाथि कांग्रेसलाई शंका !

३ कात्तिक, काठमाडौं । बम विस्फोट तथा ईंटा भट्टामा जिउँदै मान्छे पोलेको आरोपमा पक्राउ परेका पार्टी सांसद मोहम्मद अफ्ताव आलमको बचाउमा बोलेका शेरबहादुर देउवा २४ घन्टा पनि आफ्नो बोलीमा टिक्न सकेनन् ।

चौतर्फी आलोचनापछि देउवाले शनिबार विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सघाउने बताएका छन् । तर, पूर्वाग्रह र दबावमुक्त रहेर हुने अनुसन्धान भन्ने शर्त अझै छ ।

यसले के प्रष्ट देखाउँछ भने आलममाथि भइरहेको अनुसन्धानमा कांग्रेसलाई अझै शंका छ ।

यद्यपि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने अनुसन्धानमा आफूहरुले शंका नगरेको जिकिर गरे । स्वतन्त्र र निश्पक्ष अनुसन्धानमा सघाउने उनको तर्क छ ।

अनौपचारिक सम्वादका क्रममा कांग्रेस नेताहरुले आलम पक्राउ प्रकरणलाई लिएर पार्टी नेताहरुमा सरकारको नियतमाथि शंका रहेको स्वीकार गरेका छन् ।

किन भन्ने जवाफ खोज्नुअघि देउवाले आलम प्रकरणमा के र किन बोले भन्ने बुझौं ।

शुक्रबार भक्तपुरको बोडेमा कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका गाउँपालिका प्रमुख, उपप्रमुखहरुको प्रशिक्षण कार्यक्रम राखेको थियो । उद्घाटन कार्यक्रममा पार्टी सभापति देउवाले १२ वर्षअघिको घटनालाई ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यसबेला के हेरेर बसेको ? भने ।

नेताहरुका अनुसार देउवाले यो अभिव्यक्ति दिनुमा नेता कृष्ण सिटौलाको पनि भूमिका छ । कार्यक्रममा देउवाभन्दा अगाडि बोलेका सिटौलाले नै आलमको विषय उठाएका थिए । सञ्चार माध्यमहरु समेत ग्राण्ड डिजाइन बनाएर कांग्रेसविरुद्ध लागेको र आलमविरुद्ध समाचार त्यसको नमुना भएको उनको तर्क छ ।

सरकारको नियतमाथि शंका गर्छन् सिटौला

कांग्रेस सभापति देउवाले त थोरै भएपछि आफ्नो अभिव्यक्ति सच्याएका छन् । तर, सिटौलाको धारणा फेरिएको छैन । उनी सरकारको नियतमाथि शंका गर्छन् ।

झापामा रहेका उनले टेलिफोन सम्वादका क्रममा पनि सरकारमाथि आफ्नो आशंका दोहोर्‍याए । बाँके सभापति किरण कोइरालामाथि आक्रमण गर्नेलाई कारबाही नभएको भन्दै भने, ‘यसमा पनि सरकारको नियत शुद्ध छ भन्ने लागेको छैन ।’

किन भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘घटना भएको हो कि होइन भोलि अनुसन्धानले देखाउँला, अदालतले फैसला गर्ला । अहिले पुलिसले भन्दैमा दोषी हुन्छ र ?’

पक्राउ गर्दासाथ अलामलाई दोषीका रुपमा प्रस्तुत गरिनु, अनुसन्धानका विषयहरु गोप्य नराख्नुले पनि सरकारको नियतमाथि शंका लागेको उनले सुनाए । उनले भने, ‘६ गते काठमाडौं आउँछु, त्यसबारे यसबारे थप कुरा बताउँछु ।’

केन्द्रीय समितिमा थप छलफल हुन सक्छ

आलम प्रकरणबारे आसन्न केन्द्रीय कार्यसमितिमा पनि छलफल हुने नेताहरु बताउँछन् । कांग्रेसले उपचुनावका उम्मेदवारहरु टुंगो लगाउन ७ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । तर बैठकमा आलम प्रकरणले स्थान पाउने देखिन्छ ।

किनकी आलम आफैं पनि तीन दशकदेखि कांग्रेसको राजनीतिमा थिए र उनको प्रभाव अहिले पनि छ । उनका काका शेद इदि्रस कांग्रेसका पुराना र मुस्लिम समुदायकै पहिलो नेता हुन् । त्यसमाथि प्रमुख नेताहरुले सरकारको नियतमाथि नै शंका गरिरहेकाले केन्द्रीय समितिमा छलफल हुनसक्ने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment