+
+
Shares

स्वीडेनको निर्वाचनमा वामपन्थी गठबन्धनलाई बहुमत

बिहीबार मतगणना सकिएपछि स्वीडेनको निर्वाचन प्राधिकरणले राजधानी स्टकहोमस्थित ३४९ सदस्यीय संसद् रिक्सडागमा वामपन्थी विपक्षी चार दलले १७६ सिट जितेको घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते २१:५२

स्वीडेनमा भएको आमनिर्वाचनमा वामपन्थी विपक्षी गठबन्धनले झिनो अन्तरले विजय हासिल गरेको छ । यद्यपि नयाँ गठबन्धन सरकार गठन गर्न विपक्षी दलहरूले कठिन वार्ता गर्नुपर्ने देखिएको छ ।

बिहीबार मतगणना सकिएपछि स्वीडेनको निर्वाचन प्राधिकरणले राजधानी स्टकहोमस्थित ३४९ सदस्यीय संसद् रिक्सडागमा वामपन्थी विपक्षी चार दलले १७६ सिट जितेको घोषणा गरेको छ ।

यसैगरी, हाल सरकारमा रहेको कन्जरभेटिभ नेतृत्वको चार दलीय गठबन्धनले १७३ सिट जितेका छन् । यससँगै वामपन्थी गठबन्धनले तीन सिटको झिनो बहुमत हासिल गरेको हो ।

एक करोड ६ लाख जनसंख्या रहेको स्वीडेनमा दुई पक्षबीच करिब ५० हजार मतको मात्र अन्तर देखिएको छ ।

निर्वाचनको यो नतिजापछि दक्षिणपन्थी दलका नेता रहेका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गरेका छन् ।

नतिजा सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री क्रिस्टर्सनले आफूले राजीनामा दिने बताएका हुन् ।

‘अब नयाँ सरकार गठनको प्रक्रियाको अर्को चरणको नेतृत्व सभामुखले गर्नुहुनेछ । त्यसका लागि काम तत्काल सुरु गर्न सकियोस् भन्ने उद्देश्यले म प्रधानमन्त्री पदबाट आफूलाई मुक्त गर्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री क्रिस्टर्सनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

चुनावमा पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसनको वामपन्थी सोसल डेमोक्र्याट्स पार्टी सबैभन्दा ठूलो एकल दल बनेको छ, यद्यपि, उसले अघिल्लो निर्वाचनको तुलनामा केही समर्थन गुमाएको छ ।

यस नतिजापछि एन्डरसनले सन् २०२२ मा गुमाएको प्रधानमन्त्री पद पुन:प्राप्त गर्ने सम्भावना देखिएको छ ।

तर वामपन्थी गठबन्धनभित्रको वैचारिक विभाजनका कारण सरकार गठन गर्नु उनका लागि चुनौतीपूर्ण हुनेछ । यो गठबन्धनमा सोसल डेमोर्क्याट्स, लेफ्ट पार्टी, ग्रिन्स पार्टी र सेन्टर पार्टी छन् ।

सन् २०२१–२०२२ मा स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी एन्डरसन त्यसअघि सात वर्ष अर्थमन्त्री थिइन् । अब उनले समाजवादी लेफ्ट पार्टी र उदारवादी सेन्टर पार्टीबीचको मतभेद मिलाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?