Comments Add Comment

आँखा र नाक नभएको बच्चा जन्मिएपछि…

काठमाडौं । आमा र बच्चाको स्वास्थ्यमा अलिकति पनि तलमाथि नहोस् भनेर हामी निकै सजग हुन्छौं । त्यसैले हामी पटक-पटक डाक्टरकहाँ गएर बिभिन्न स्वास्थ्य परीक्षण गराउँछौं र आमा-बच्चा दुवैको स्वास्थ्य ठीक रहे-नरहेको एकिन गर्छौं ।

तर, जब स्वास्थ्य परीक्षण गर्ने डाक्टरले नै ठीक भनेको बच्चा असामान्य जन्मियो भने आमा-बुवाको अवस्था कस्तो होला ? पक्कै पनि पीडादायी हुन्छ । यस्तै पीडा पोर्चुगलका एक दम्पत्तिलाई भएको छ र डाक्टरले लापरवाही गरेको भन्दै देशभर आक्रोश फैलिएको छ ।

७ अक्टुबरको दिन पोर्चुगलको एक सानो शहरमा एक अनौठो बच्चाको जन्म भयो । बच्चाको आँखा, नाक र टाउकोको एक भाग नै थिएन । बच्चा गर्भमै रहँदा धेरै किसिमको जाँच भएको थियो । तर, बच्चाको आँखा, नाक र टाउकोको एक भाग नै नभएकोबारे अभिभावकलाई जानकारी नै दिइएन ।

गर्भवती पूरै नौ महिना अर्तुर कार्वल्हो नामका डाक्टरको निगरानीमा थिइन् । उनैले गर्भवती र गर्भको बच्चाको परीक्षण पटक-पटक गरेका थिए । तर बच्चा यस्तो अवस्थामा जन्मिएपछि डाक्टर अर्तुरलाई लापरवाहीको आरोपमा मेडिकल काउन्सिलले निलम्वनको कारबाही गरेको छ ।

डाक्टरले लापरवाही गरेको खबर सार्वजनिक भएपछि देशबासीमा आक्रोश फैलिएको छ । आक्रोशित भएकाहरुले आफूमा यिनै डाक्टरले गरेको लापरवाहीको सूचना पनि दिइरहेका छन् । यद्यपि यी आरोपहरुका विषयमा डाक्टर अर्तुरले कुनै प्रतिक्रिया दिएका छैनन् ।

गर्भवतीलाई डाक्टर अर्तुरले तीन पटक अल्ट्रासाउन्ड गरेका थिए । आमा-बुवाका अनुसार डाक्टरले बच्चाको स्वास्थ्यबारे कुनै चिन्ता व्यक्त गरेनन् ।

गर्भ ६ महिना पुगेपछि अर्को एक क्लिनिकमा चौथो पटक अल्ट्रासाउन्ड गराइयो, जुन ‘फाइड-डी’ अल्ट्रासाउन्ड थियो । यसबाट गर्भको रहेको बच्चाको बारेमा धेरै जानकारी मिल्छ ।

फाइड डी अल्ट्रासाउन्ड गरेपछि क्लिनिकका डाक्टरले भ्रुण राम्रोसँग बिकसित नभएको र बच्चा असामान्य रहेको बताए ।

त्यसपछि दम्पत्ति पुनः डाक्टर अर्तुरकहाँ गए । तर, उनले क्लिनकको डाक्टरले भनेजस्तो केही नभएको बताए । तर जब बच्चा जन्मियो, तब असामान्य देखियो । उसको टाउकोको केही भाग नै थिएन । त्यसपछि अस्पतालका कर्मचारीहरुले आमा-बुवालाई बच्चा केही घण्टासम्म मात्र बाँच्ने जानकारी दिए । यद्यपि उक्त शिशु दुई हप्तादेखि जिन्दगीसँग लडिरहेको छ ।

त्यसपछि डाक्टर अर्तुरविरुद्ध दोस्रो आरोप पनि सार्वजनिक भयो । स्वास्थ्य अधिकारीहरुका अनुसार उनीविरुद्ध कम्तिमा ६ जनाको उजुरी छ । कुनै उजुरी त सन् २०१३ का पनि छन् । धेरै व्यक्तिहरुले डाक्टर अर्तुरको लापरवाहीका कारण गर्भवतीको बेला समस्या सिर्जना भएको बताएका छन् ।

सन् २०११ पनि यस्तै एक असामान्य बच्चाको जन्म भएको थियो । बच्चाको अनुहारको केही भाग थिएन । खुट्टा पनि राम्रोसँग विकसित भएको थिएन र दिमाग पनि गम्भीर क्षति पुगेको देखिन्थ्यो ।

असामान्य अवस्थाको बच्चा जन्मिएपछि ती बच्चाको आमाले डाक्टरविरुद्ध आपराधिक मुद्दा दायर गरेकी छन् । आठ वर्षमात्र पुगेको उक्त बच्चाको धेरै पटक बिभिन्न अपरेसन गरिएको छ । यति हुँदा पनि त्यो बच्चा अहिलेसम्म हिँड्न र बोल्न सक्दैन ।

समाचारका अनुसार सन् २००७ मा यसै डाक्टरविरुद्ध एक अर्को आपराधिक मुद्दा दर्ता भएको थियो, जसको सुनुवाइ नगरी फाइल बन्द गरिएको थियो । उक्त बच्चाको जन्मिएको केही महिनापछि नै मृत्यु भएको थियो ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment