Comments Add Comment

साढे चार वर्षपछि दशरथ रंगशालामा फर्कियो फुटबल

विदेशी स्टेडियममा गएजस्तो भयो : बालगोपाल

९ मंसिर, काठमाडौं । नेपालले विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध ३ मंसिरमै घरेलु मैदानमा खेल्ने तालिका थियो । तर खेल्न पाएन ।

२०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रंगशाला पूनर्निर्माण सकिएन । र, एसियाली फुटबल महासंघ (एएफसी)ले रंगशाला निरीक्षण गर्दा खेलाउन योग्य नभएको बताएपछि नेपालले भुटानमा गएर कुवेतविरुद्धको होम म्याच खेल्न बाध्य भयो ।

विश्वकप छनोटको खेल्न नपाएको एक सातापछि भने नेपाली फुटबलरहरुले दशरथ रंगशालामा अभ्यास गरेका छन् । मंसिर १५ देखि हुने सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि रंगशाला लगभग तयार भएको छ ।

साग खेल्ने नेपालको यू–२३ पुरुष टोलीले सोमबार रंगशालामा २ घण्टा अभ्यास गरेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालामा अभ्यास गर्न खेलाडी तथा प्रशिक्षक निकै खुशी देखिन्थे । मुख्य प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘साढे ४ वर्षपछि रंगशालामा ट्रेनिङ गर्न पायौं । एकदमै खुशी लागेको छ ।’

साग खेल्ने टोलीको कप्तान चयन भएका मिडफिल्डर सुजल श्रेष्ठको भनाइ पनि उस्तै थियो । ‘साढे चार वर्षपछि दशरथ रंगशालमा फर्किन पाएका छौं । सबै खेलाडी एकदमै उत्साहित छौं । यहाँभित्र पसेदेखि नै एकदमै उत्साहित भयौं’ उनले भने, ढिलो भए पनि यत्तिको बनेको छ । एकदमै खुशी छौं ।’

नेपालले पछिल्लो पटक २०७१ चैत ३ गते दशरथ रंगशालमा २०१८ को विश्वकप छनोट अन्तर्गत भारतविरुद्ध खेलेको थियो । २०७२ वैशाख १२ गते भुकम्पन गएपछि रंगशाल क्षतिग्रस्त बनेको थियो । त्यही दिन साफ यू–१५ गर्ल्स च्यम्पियनसिपको फाइनल तय भए पनि भूकम्पका कारण रोकिएको थियो ।

पुनर्निर्माणपछि रंगशालाले नयाँ स्वरुप पाएको छ । शुरुमा रंगशाला प्रवेश गर्दा अनौठो महसुस भएको मुख्य प्रशिक्षक महर्जनले सुनाए । ‘हामी पनि कुनै विदेशी स्टेडियममा गएर ट्रेनिङ गरेको अनुभव भइरहेको छ’ उनले भने ।

लक्ष्य स्वर्ण

सन् २०१६ मा भारतमा भएको १२औं सागमा स्वर्ण जितेको नेपाल यस पटक घरेलु मैदानमै स्वर्ण जित्दै इतिहास बनाउने लक्ष्यमा छ । प्रशिक्षक बालगोपाल महर्जनले त्यसैका लागि ४ महिनादेखि खेलाडीलाई ट्रेनिङ गराइरहेका छन् । ‘हामी २० वर्षपछि घरेलु मैदानमा साग फुटबल खेल्दैछौ । घरेलु दर्शकको सपोर्ट पनि हुनेछ । हामीलाई एकदमै रमाइलो लागिरहेको छ’ महर्जनले भने ।

सागका लागि शतप्रतिशत तयारी गरेको र लक्ष्य गोल्ड मेडल नै भएको उनले बताए । ‘सबैको अपेक्षा त्यही छ र हाम्रो तयारी हेर्दा पनि हामी गोल्ड मेडलको दाबेदार हौं’ उनले भने ।

कप्तान सुजलले पनि राष्ट्रिय टिमका खेलाडीले निरन्तर खेलिरहेको र अरु पनि चार महिना ट्रेनिङ गरेकाले टिम राम्रो बनेको बताए । ‘हामी घरेलु मैदानमा साग खेल्न उत्सहित छौं’ उनले भने, ‘हाम्रो टार्गेट राम्रो खेल्दै गोल्ड जित्ने छ ।’

तीन खेलाडी परिर्वतन

सागका लागि घोषित नेपाली टोलीमा तीन खेलाडी परिर्वतन भएको छ । अनुशासनको कारवाहीमा परेका विमल घर्ती मगर अन्जन विष्ट र दिनेश राजवंशीले घरमै हुने साग गुमाएका छन् उनीहरुको स्थानमा राजेश परियार, राजिव लोप्चन र प्रेजन तामाङलाई टिममा बोलाइएको छ ।

प्रशिक्षक महर्जन भन्छन्, ‘यो एउटा दुर्घटना हो । कुनै पनि क्षेत्रमा भवितव्य हुन्छ । मैले त्यस्तै ठानेको छु ।’

कप्तान सुजलले पनि तीन खेलाडीको अनुपस्थितिले केही घाटा हुने भए पनि टिममा अरु खेलाडी पनि क्षमतावान रहेको बताए ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment