Comments Add Comment

सूर्यविनायक-धुलिखेल सडक विस्तारबाट जाइकाले हात झिक्यो

सडक विभागका अधिकारी भन्छन् - जाइकासँग फेरि अनुरोध गरौं

१३ मंसिर, काठमाडौं । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तारको परियोजनाबाट हात झिकेको छ । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले १६ किलोमिटर सडक विस्तारको योजनाबाट पन्छिएको हो ।

वर्षौंदेखि विभिन्न सडक परियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा हालै नागढुंगामा सुरुङमार्गको निर्माण सुरु भएको छ । तर, त्यो भन्दा अघिदेखि चर्चामा रहेको सूर्यविनायक-कोटेश्वर सडक खण्डको विस्तार भने अब जाइकाले नगर्ने निश्चितजस्तै भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीका अनुसार जाइकाले सडक ८ लेनसम्म विस्तार गर्ने यो परियोजनामा सरकारले देखाएको अपरिपक्वता, अविश्वास, कार्यशैलीप्रति जाइकाले खुला रुपमै रोष प्रकट गरेको छ ।

उसले अब यो परियोजनामा लगानी नगर्ने जानकारी सडक विभागसहित सम्वद्ध निकायलाई दिइसकेको छ । यो परियोजनामा सरकारले दोहोरो भूमिका खेलेको भन्दै जाइकाले अन्य परियोजनाहरुमा गर्ने भनिएको लगानी पनि रोकेको दाबी मन्त्रालय स्रोतको छ ।

जापानले २०१६ मा नागढुंगा सुरुङमार्गका लागि ऋण सहायता उपलब्ध गराएपछि सडक पूर्वाधारमा अर्को ठूलो ऋण दिएको छैन ।

‘एउटै परियोजनाबारे मन्त्री र सचिवपिच्छेका फरक नीति, भनाइ, अडानमा जाइकाको असन्तुष्टी छ, पहिले उसलाई जसरी हामी लै काम गर्न भन्यौं, अहिले त्यी कुरा भएन भनेपछि जाइकाले आयोजना नै छाडिदियो,’ ती अधिकारीले भन्छन्,’सरकारको लापरवाह प्रवृत्तिमा जाइकाको चित्त दुखाई मात्रै छैन, गुनासो पनि छ ।’

किन रिसायो जाइका ?

करिब अढाई वर्षअघि जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक-धुलिखेल सडक ८ लेनको बनाउन प्रारम्भिक अध्ययन गर्‍यो र अध्ययनका निचोडहरुको प्रस्तुती राख्दै सरकारलाई सोध्यो, ‘३ विकल्पमध्ये नेपाल कुन रोज्न चाहन्छ ?

पहिलो विकल्प थियो, अहिलेकै सडकलाई सुधार मात्र गरेर स्तरीकृत गर्ने, दोस्रो साँगाभन्ज्याङमा एतफर्की ‘ओपन कट’ गरेर सुधार गर्ने र तेस्रो साँगाभञ्ज्याङमा सुरुङमार्गसहित सडक विस्तार गर्ने ।

पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तिहरु रहेकाले आठ लेनको सडक बनाउन समस्या छ । सोही कारण उक्त खण्डमा सुरुङमार्गको प्रस्ताव गरियो । त्यतिबेला सरकारले सुरुङमार्गसहित यो सडक विस्तार गर्ने विकल्पलाई रोजेको थियो ।

नेपाल सरकारले सुरुङमार्ग बनाउने भनेपछि जाइकाले त्यसैअनुरुप सम्भाब्यता अध्ययन गर्‍यो । र, साँगामा २० मिटरको दूरीमा एकै स्थानमा दुईतर्फी हुने गरी दुई सुरुङ १.३ किलोमिटर दूरीका बन्ने अध्ययनले देखायो ।

सम्भाव्यता अध्ययन सकिएपछि जापानले सहुलियत ब्याजदरको ऋण सम्झौताका लागि प्रस्ताव गर्‍यो । सुरुङसहित निर्माण गर्दा २२ अर्बको लागत अनुमान थियो ।

तर, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसको फाइल पुग्यो, तब स्थिति उल्टियो । मन्त्रालयले परियोजना निकै महंगो भएको भन्दै अघि बढाउन नसकिने भनेर जवाफ फर्कायो ।

सुरुङमार्ग निर्माणका लागि विस्तृत डिजाइन सुरु भइसकेको अवस्थामा मन्त्रालयले सुरुङसहित निर्माण गर्दा परियोजना महंगो भएको बतायो र पूर्ण अनुदानमा बनाउन प्रस्ताव गर्‍यो ।

जापानले सहुलियत ऋणको प्रस्ताव दोहोर्‍याउँदै सुरुङविना नै सडक बनाउने भए १६ अर्बमा बन्न सक्ने जानकारी दियो । तर, मन्त्रालयले यो परियोजना पनि महंगो पर्ने भन्दै अघि नबढाउने बतायो, जसका कारण निकै चर्चा भएको सडक विस्तारको योजना अलपत्र बन्न पुग्यो ।

‘नागढुंगाको बाटो देखाएर अड्काइयो’

सरकार आफैंले विस्तार गरेको नागढुंगा-कलंकी खण्ड

सरकारसँग पटक-पटक वार्ता गर्दा पनि तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले परियोजना अघि बढाउन ग्रिन सिग्नल दिएनन् । त्यसपश्चात आयोजना नै तुहिएको मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

‘तत्कालीन मन्त्री रघुवीर महासेठले यो आयोजना सरकार आफैंले बनाउने भनेर सार्वजनिक अभिव्यक्ति नै दिनुभयो,’ मन्त्रालय स्रोत भन्छ, ‘आफू लगानी गर्न तयार भएको आयोजनामा मन्त्रीको गौण चासो देखेपछि जाइकापछि हटेको हो ।’

सरकारले जाइकालाई नागढुंगाको बाटोको उदाहरण दिँदै सस्तोमै सडक विस्तार गर्न सकिने उदाहरण पेश गरेको थियो । त्यसबाट झनै जाइका रुष्ट बनेको अधिकारीहरु बताउँछन् ।

‘नागढुंगाको बाटो कस्तो बन्यो, सबैले देखेकै छन्, बन्दाबन्दै भत्किसक्यो,’ सडक विभागका एक अधिकारी भन्छन्, ‘जाइकाले कोटेश्वर-सूर्यविनायक खण्डजस्तै स्तरीय र ३५ वर्षसम्म टिक्ने खालको सडक बनाउन प्रस्ताव गरेको हो । तर, हामी चुक्यौं ।’

जाइकाले सूर्यविनायकसम्म सडक विस्तार गर्दा सर्भिस लेन पनि आफैंले बनाउने भनेको थियो । जापानले यो सडक खण्डका विभिन्न स्थानमा ओभरहेड बि्रज (आकाशे पुल) सहित ट्राफिक लाइट प्रणाली पनि राख्न प्रस्ताव गरेको थियो ।

कोटेश्वर-सूर्यविनायक खण्डको सर्भिस लेन भने त्यतिबेला सरकारले नै बनाएको थियो । कोटेश्वर-सूर्यविनायक सडक पनि जापानले नै आठ लेनमा स्तरोन्नति गरेको हो ।

जापानको सहयोगमा विस्था भएको सूर्यविनायक-कोटेश्वर खण्ड

विभाग भन्छ : फेरि अनुरोध गरौं

सडक विभागका विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापा परियोजना अहिले अलमलमा परेको स्वीकार्छन् । परियोजनामा जापान सरकारले लगानी गर्न चाहे पनि प्राविधिक कारण केही अन्योल उत्पन्न हुन पुगेको उनले बताए ।

‘फेरि सरकारले औपचारिक रुपमा कूटनीतिक माध्यमबाट परियोजनामा फर्किन जाइकालाई अनुरोध गर्न सक्छ,’ उनले भने, ‘जाइका नागढुंगाको सुरुङमार्ग परियोजनामा सरकारसँगै छ । त्यसैले अनुरोध भयो भने सडक विस्तारको परियोजनामा पनि उसले सहभागिता जनाउन सक्छ ।’

सूर्यविनायक-धुलिखेल सडक अरनिको राजमार्गको एक खण्ड हो । उक्त राजमार्गबाट चीनसँगको तातोपानी नाका र वीपी राजमार्ग जोडिन्छ ।

यो खण्ड विस्तार भयो भने काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो हुनेछ । यो सडक स्तरोन्नतिपछि अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

यो सडक ८ लेनमा विस्तार भएपछि धुलिखेलको पर्यटन प्रवर्द्धनमा पनि कोशेढुंगा सावित हुने सरकारी विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment