Comments Add Comment

उपचुनाव : अपेक्षाअनुसार मत खसेन, १२ घण्टामा आधा परिणाम आउने

१४ मंसिर, काठमाडौं । कास्कीसहित ३७ जिल्लाका ५२ सीटमा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । तर, अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित ४८ स्थानीय तहमा पनि मतदान भएको छ ।

कुल ५२ पदका लागि भएको चुनावमा कुल ४ लाख ५४ हजार ११४ मतदाता थिए । तर, २ लाख ९७ हजार १३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका छन् । यो सरदर ६५.४३ प्रतिशत हो ।

सबैभन्दा बढी हुम्ला र रौतहटमा ८५ प्रतिशत मत खसेको छ । हुम्लाको  खार्पुनाथको उपाध्यक्षका लागि उपचुनाव भएको थियो ।

प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव भएको कास्की २ मा ६३.४८ प्रतिशत मत खसेको छ ।

कास्कीमा गत चुनावभन्दा यसपटक करिब ४ हजार कम मत खस्यो । यहाँ गत निर्वाचनमा ६८ प्रतिशत अर्थात ४९ हजार ९ सय १३ मत खसेको थियो । यसपटक ७० हजार मतदाता रहेकोमा ६३.४८ अर्थात ४५ हजार ६२१ मत खसेको छ ।

यो पनि पढ्नुहोस कास्कीमा अघिल्लो चुनावमा भन्दा कम मत खस्यो

प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा भक्तपुरमा ७० प्रतिशत मत खसेको छ । त्यस्तै बाग्लुङमा ६१ प्रतिशत र दाङमा ६७ प्रतिशत मत खसेको छ ।

मेयरका लागि भएको धरान उपमहानगरको उपचुनावमा ५९.१३ प्रतिशत खसेको छ । १३ हजार मतदाता थपिएका धरानमा मतदानकाे अवस्था कास्कीको भन्दा पनि निराशाजनक देखिएको छ ।

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि भएको चुनावमा १६.४ प्रतिशत मत खसेको छ । यो उपचुनावमा खसेको सबैभन्दा कम प्रतिशत मत हो । यस वडाको नतिजा नेकपाको पक्षमा गएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपचुनावमा अपेक्षाअनुसार मत नखसेको स्वीकार गरे ।

‘धरानमा हामीले भनेजति मत खसेन । प्रतिनिधिसभा र प्रदेशसभामा पनि लगभग ६५ प्रतिशत मत खसेको छ । यो ७० हाराहारी हुन्छ भन्ने हाम्रो आँकलन थियो’, उनले भने ।

यद्यपि यसै कारण उपचुनाव प्रभावकारी भएन भन्न नमिल्ने थपलियाले बताए ।

मतदानका क्रममा कास्की, दाङ, सर्लाही लगायतका पाँच स्थानमा मतदान केन्द्र नजिकै बिस्फोटका घटना भए पनि त्यसले मतदानलाई असर नगरेको आयोगले जनाएको छ । ती घटनामा कुनै हताहती भएन ।

आयोगका अनुसार मतपेटिका संकलनसँगै सर्बदलीय बैठक राखेर मत गणना सुरु हुनेछ । र, १२ घन्टाभित्र ५० प्रतिशत स्थानको मत परिणाम पनि आइसक्ने छ ।

हेर्नुहोस् निर्वाचन  आयोगको वक्तव्य

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment