Comments Add Comment

एमसीसी ‘नेपालकै पहलमा’, मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट

एक तारा र ग्रहले पाए नेपाली नाम

२ पुस, काठमाडौं । खुमलटारमा मंगलबार बसेको प्रचण्ड पक्षधर नेताको बैठक, केही दिनदेखि चर्चामा रहेको एमसीसी र पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफमाथि सुनाइएको मृत्युदण्डको सजायले आजका दैनिक अखबारहरूमा स्थान पाएका छन् ।

त्यस्तै, कर्णाली सरकारले सञ्चालनमा ल्याएको छोरीको बैंक खाता कार्यक्रम, मासुको भाउ बढाउन ह्याचरी उद्योग संघले गरेको चलखेल, शीतललहरपछि कष्टकर बनेको मधेसी जनजीवनमाथि पनि आजका पत्रपत्रिकाहरूले चिहाएका छन् ।

‘एमसीसी नेपालकै पहलमा’ शीर्षकअन्तर्गत कान्तिपुरले केही समयदेखि चर्चामा रहेको विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सोधीखोजी गरेको छ । कान्तिपुरका अनुसार, एमसीसीमाथि सत्तारूढ दलका नेताहरूले नै प्रश्न उठाइरहेका बेला अमेरिकाले भने यससम्बन्धी परियोजना नेपाल सरकारकै पहल र अनुरोधमा आएको बताएको छ । अमेरिकी राजदूत ¥यान्डी डब्लू बेरीले एमसीसी सम्झौता कार्यान्वयनले नेपाल छिट्टै आर्थिक समृद्धिको बाटोमा जाने प्रतिक्रियासमेत दिएका छन् ।

एमसीसी परियोजनाअन्तर्गतको सडक निर्माणले नेपाली जनताका निम्ति अति आवश्यक पूर्वाधार तयार गर्ने र ऊर्जा प्रसारण लाइनको विस्तारबाट आर्थिक समृद्धिको बाटो पहिल्याउन मद्दत पुग्ने विश्वास उनको छ । उनले कान्तिपुरसँग भनेका छन्– यही प्रक्रियाबाट नेपालले बाहिरी विश्वमा आफूलाई खुला व्यापारका लागि तयार भएको सन्देश दिन सक्छ । नेपालमा वैदेशिक लगानी र परियोजनासमेत अझ बढी आकर्षित हुनेछन् ।’

कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमबारे पनि कान्तिपुरले चर्चा गरेको छ । कान्तिपुरका अनुसार यो कार्यक्रमअन्तर्गत प्रदेश सरकारले २० वर्षसम्म मासिक ५ सयका दरले रकम जम्मा गरिदिनेछ । यसरी जम्मा भएको रकम पाउन केही सर्त छन् । माध्यमिक तह पूरा नगरेका र २० वर्षअघि नै विवाह गरेकाले खातामा जम्मा भएको रकम पाउने छैनन् ।

एक तारा र ग्रहलाई दिइएको नेपाली नामबारे कान्तिपुरले एंकर बनाएको छ । समाचार अनुसार सौर्य मण्डल बाहिर पत्ता लागेको तारा एचडी १००७७७ को नामाकरण सगरमाथा गरिएको हो । यस्तै एचडी १००७७७ बीको नाम लालीगुराँस राखिएको छ ।

अन्नपूर्णको नजर प्रचण्ड निवास खुलमटारमा मंगलबार बसेको उनीपक्षीय नेताको बैठकमाथि परेको छ । अन्नपूर्णको दाबी अनुसार पार्टी एकतापूर्वको भागबन्डामा सभामुख माओवादीको भागमा परेकाले सभामुख छाड्न नहुने मत प्रचण्ड पक्षधर नेताहरूले राखेका छन् ।

नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको अर्को खबर पनि अन्नपूर्णमा छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको समाचारमा दाबी गरिएको छ । मारिएका चल्लाको मूल्य १५ करोड रुपैयाँ बराबर छ ।

अन्नपूर्ण लेख्छ– संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्श्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ । संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment