Comments Add Comment

चितवनविरुद्ध लोकेशको त्यो इनिङ

११ पुस, पोखरा । नेपालमा हुने घरेलु फ्रेन्चाइज लिगहरुमा प्राय विदेशी ब्याट्सम्यान नै हाबी हुने गर्छन् । कुनै पनि टिमको जित–हारमा उनीहरुको ब्याटको निर्णायक भूमिका हुन्छ ।

यो सिजन भने स्वदेशी ब्याट्सम्यान पनि चम्किरहेका छन् । उनीहरुबाट ब्याटबाट केही ‘म्याच विनिङ’ प्रदर्शन भएको छ । यस्ता पारीहरुको सम्झना गर्दा लोकश बमले चितवन राइनोजविरुद्ध देखाएको ब्याटिङलाई छुटाउन सकिँदैन ।

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज प्रतियोगिताकै सबैभन्दा बलियो टिम हो, जो एक खेल पनि नहारेर फाइनलमा पुगिसकेको छ । गत ६ पुसमा चितवन राइनोजसित भिडेको थियो, बिराटनगर टाइटन्स । खेल चितवनले नै जित्यो तर, बिराटनगरका एक युवा ब्याट्सम्यानले सबैको मन जिते ।

यो म्याच अघिसम्म लोकश बमलाई कसैले ध्यान दिएका थिएनन् । नेपाली राष्ट्रिय अन्डर १९ टिमबाट खेलिरहेका उनको यो घरेलु टी–२० लिगमा पहिलो प्रतियोगिता थियो । र, बिराटनगरको ब्याटिङ पङ्तीमा उनी थिए, आठौं नम्बरमा ।

पहिलो ब्याटिङ गरेको चितवनले बिराटनगरलाई १४७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङका क्रममा बिराटनगर ३७ रनमै ६ विकेटको दयनीय स्थितिमा पुग्यो र चितवनका लागि जितको औपचारिकता मात्र बाँकी रह्यो । छैटौं विकेटका रुपमा राजेश पुलामीलाई गुमाएपछि ब्याटिङमा आए लोकेश बम ।

लोकेशले चितवनमाथि अनपेक्षित हमला गर्दै बिराटनगरलाई खेलमा फर्काए । केवल ३६ बलमा ६२ रन बनाएका उनले ५ छक्का र ५ चौका प्रहार गरेका थिए । बिराटनगरलाई जितका लागि १० बलमा २१ रन चाहिने अवस्थामा उनी आउट भए । उनको विकेटले चितवनको जित सुनिश्चित गर्‍यो । यही इनिङले लोकेशलाई आशालाग्दा ब्याट्सम्यानको रुपमा चिनाएको छ । र, बिराटनगरले अर्को म्याचमा उनलाई एकैपटक ओपनरका रुपमा प्रमोसन गरिदियो ।

ओपनरका रुपमा लोकशले लामो इनिङ खेल्न नसके पनि आफ्नो पावर हिटिङ भने देखाइरहेका छन् । अब फाइनलमा उनले आफूलाई प्रमाणित गर्ने अर्को मौका छ ।

०००

यादि धनगढीका लोकेश बमले पहिलो पटक क्रिकेट बल (खासमा टेनिस बल) समात्दा ९ वर्षका भइसकेका थिए । स्टम्प ताकेर बललाई घुँयत्रो झैं फ्याक्दा कम्ता मजा आएको थिएन उनलाई । अनि यही बललाई ब्याटले हिर्काएर मैदान कटाउँदा त मजा दोब्बर ।

त्यतिबेलै उनले मनमनै सोच, ‘खुब मजा हुनेरहेछ । अब दिनदिनै क्रिकेट खेल्छु ।’

सुरुसुरुमा उनको खेलमा परिवारले त्यति चासो दिएन । तर जब क्रिकेटको रस बस्दै गयो र उनी यसमै रमाउन थाले, अनि सुरु भयो परिवारको कचकच । ‘दिनभरि खेलेर हुन्छ ? खेलेर के पाउँछस् ? पढाई बिग्रिँदैन ?’ यस्ता प्रश्नहरु आइरहे ।

तर लोकेश रोकिएनन् ।

२०१४ मा नेपालले टी–२० विश्वकप खेलेको बेलादेखि आफूले क्रिकेटमै भविष्य देख्न थालेको उनी बताउँछन् । ‘विश्वकपमा नेपालले खेलेको मैले घरमै बसेर टीभीमा हेरेको थिएँ । त्यसपछि नै मैले पनि क्रिकेटमै लाग्ने अठोट गरेँ,’ उनी सुनाउँछन्, ‘क्रिकेटमा भविश्य छ भन्ने महसुस त्यतिबेला नै भयो ।’

त्यसको चार वर्षमै लोकेश नेपालीको यू–१९ राष्ट्रिय टोलीको सदस्य बनिसकेका थिए । अहिले टिमका महत्वपूर्ण ब्याट्सम्यान मानिन्छन् । उनले यू–१९ बाट खेल्न थालेको एक वर्ष बित्यो । लखनाउमा भारत, अफगानिस्तान लगायत देशसँगको सिरिजबाट उनले टी–२० मा इन्ट्री पाएका थिए ।

पोखरामा जारी पोखरा प्रिमियर लिगमा उनी विराटनगर टाइटन्सबाट खेलिरहेका छन् । उमेरले सानो भए पनि यस प्रतियोगितामा उनले ठूला सटहरु खेल्ने आफ्नो क्षमता देखाएका छन् । लोकेश नेपालमा धेरैभन्दा धेरै लिग भए खेलाडी व्यस्त भइरहने र खेलको स्तरमा पनि सुधार आउने बताउँछन् ।

फाइनलमा कस्तो गर्लान् ?

बिराटनगरले पीपीएलको फाइनलमा स्थान बनाइसकेको छ । बिहीबार भएको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हराउँदै बिराटनगर फाइनलमा प्रवेश गरेको हो । फाइनलमा उपाधिका लागि उसले चितवन राइनोजलाई पन्छाउनु पर्नेछ ।

पीपीएलमा आफ्नो ब्याटिङबारे लोकेश भन्छन्, ‘मैले आफ्नो शतप्रतिशत दिने प्रयास गरिरहेको छु । तर चितवनविरुद्धको म्याचपछि सोचेजस्तो भइरहेको छैन । फाइनलमा राम्रो गरेँ भने सायद राष्ट्रिय टिमका लागि पनि मलाई फाइदा हुन्थ्यो ।’

तर टिमको सुधारिएको प्रदर्शनमा भने उनी सन्तुष्ट छन् । भन्छन्, ‘सबैको सामूहिक योगदानले टिम फाइनलमा पुगेको हो ।’

भोलि हुने फाइनलमा चितवनले पक्कै पनि लोकेशलाई ध्यान दिने छ । टिममा मोहम्मद जैद आलम, नोमन खान, पुनित मेहरा जस्ता विदेशी ब्याट्सम्यान छन् भने सुनिल धमला, प्रदिप ऐरी राजु रिजाल जस्ता स्वदेशी ब्याट्सम्यान छन् । तर समूह चरणमा चितवनलाई अत्याएकाले फाइनलमा पारसले लोकशसँग सतर्क हुनैपर्छ ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment