Comments Add Comment

कमालका कमल : नयाँ लुक्सको मनाङ हाँक्दै

१४ पुस, काठमाडौं । साविक विजेता मनाङ-मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगको शुरुवाती तीन खेल जित्दै उपाधि रक्षा अभियान शुरु गरेको छ । र, मनाङलाई लिगमा कुशल नेतृत्व दिइरहेका छन् कप्तान कमल श्रेष्ठले ।

घरेलु फुटबलमा गर्विलो इतिहास बोकेको मनाङलाई सम्झिने हो भने लगातार तीन जित नौलो होइन । तर उसले जुन परिस्थितिबाट सम्हालिएर यो लिग खेलिरहेको छ, त्यस्तो अवस्थामा पाएको जितमा स्वयं खेलाडी र प्रशिक्षक पनि दंग छन् ।

लिग शुरु हुनु केही समयअघि मात्र कप्तान विराज महर्जनसहित पहिलो रोजाइका सात खेलाडीले मनाङ छाडेका थिए । यससँगै गत सिजन लिग खेल्ने टिममा रहेका १० र एएफसी कप खेल्दा टिममा थपिएका दुईसहित १२ खेलाडी क्लबमा रहेनन् ।

‘यत्रो वर्ष सँगै खेलेका धेरै खेलाडी नहुँदा हाम्रो टिम खालीखाली जस्तो थियो । कहाँबाट खेलाडी ल्याउने, को ल्याउने भन्ने अन्योल थियो,’ कप्तान कमल भन्छन् ।

जसोतसो टिम बन्यो । तर लिग सुरु नहुँदै अर्को झट्का लाग्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्जन विष्टलाई ४५ दिन निलम्बन गर्ने निर्णय सुनायो । उनले लिगको अधिकांश खेल गुमाउने भएपछि मनाङमा अर्को सन्नाटा छायो ।

तर प्रशिक्षकको एक बोलीले खेलाडीमा ऊर्जा भर्‍यो । प्रशिक्षकले टिम मिटिङमा भनेका थिए, ‘जाने त गइहाले । जो जति छौं, सबैले आफूलाई नेशनल खेलाडी सोच्नुपर्छ । हामीले मैदानमा उच्च मनोबलका साथ उत्रेर मनाङको इज्जत राख्नुपर्छ ।’

नभन्दै मनाङले सुरुवाती खेलहरुमा इज्जत राखेको छ र अनपेक्षित रुपमा उत्कृष्ट सुरुवात गरेको छ ।

तीन वटा क्लबलाई लगातार माथ दिएपछि टिमको मनोबल माथि उठेको छ । ‘पहिला हामी टप सिक्सको मात्र टार्गेट गरेर खेलिराथ्यौं । ट्रफी उठाउने टार्गेट नै थिएन,’ कप्तान कमलले भने, ‘तीन खेल जितेपछि खेलाडीको मनोबल उच्च भएको छ ।’ अबचाहिँ टिममा फेरि ट्रफीको मोह जागेको छ ।

****

मनाङको टिम जसरी सम्हालिएको छ, कमलको कप्तानी चयन पनि त्योभन्दा कम रोचक छैन । टिम भताभुङ्ग भएर प्लेइङ ११ जुटाउन मुस्किल परिरहेका बेला कप्तानीबारे सोचिएकै थिएन ।

तर क्लबाट खेलेकामध्ये पुरानो उनै थिए । त्यही कारण अभ्यासमा पनि टिममेटहरुले अब कमल नै हो भनेर जिस्काउँथे । उनले खासै चासो दिएका थिएनन् ।

ए डिभिजन लिग सुरु हुनुभन्दा तीन दिन अगाडि क्लबका महासचिवले कमललाई कप्तान चयन भएको जानकारी दिए । यो उनको लागि गजबको सरप्राइज थियो ।

कमलले मैदानमा आर्म ब्याण्ड भने गत वर्ष पनि लगाएका थिए । तर नियमित नभई कप्तान र सिनियर मैदान छाड्दा बचेको समयमा उनले त्यो अवसर पाउँथे ।

अब पूर्णरुपमा कप्तानी पाएका कमल भन्छन्, ‘विराज दाइ कप्तान हुँदा फ्रि भएर मज्जाले खेलिन्थ्यो । खेलमा मात्र फोकस हुन्थ्यो । अहिलेचाहिँ अलि दबाव हुन्छ ।’

मैदान भित्र मात्र होइन, बाहिर पनि टिमको एकता र आपसी सौहार्दतालाई कायम राख्ने जिम्मेवारी उनीसँग छ । ‘पहिला म धेरै बोल्थिनँ क्लबमा तर अब कोचसँग छलफल गर्नुपर्ने हुँदा नबोलेर सुखै हुँदैन,’ उनले भने, ‘पहिला गल्ती गर्दा कप्तानले ए भाइ यसो नगर भनेर सम्झाउँथे, अब मैले अरुलाई सम्झाउनुपर्नेछ ।’

यसरी शुरु भयो करियर

बुद्धनगरका कमल त्रिपुरेश्वरमा रहेको विश्व निकेतनमा पढ्थे । पढाइमा उनी औसत थिए । परिवारका सदस्यहरु त्यसमा सुधार चाहन्थे । तर कमलको मन फुटबलमा थियो । त्यसैले शर्त राख्थे, ‘जर्सी र बुट किनिदिए मात्र स्कुल जान्छु ।’

त्यसरी नै बाग्मती नदी छेउको खेल मैदानबाट उनले फुटबल खेल्थे । ‘पैसा पाएपछि स्कुल गाएको जस्तो गरिन्थ्यो,’ कमल भन्छन्, ‘१०० रुपैयाँमा कपडाको जुत्ता पाइने, त्यही किन्यो अनि स्कुल नजिकै बाग्मतीको मैदानमा खेल्न गयो ।’

यसरी नै बाग्मती किनार र स्कुलमा फुटबल खेलिरहेका उनीमाथि ब्वाइज युनियन क्लबको आँखा पर्‍यो । क्लबले कमललाई तालिममा समावेश गर्‍यो, नकआउट गेमहरुमा अवसर दिन थाल्यो र २०६७ सालमा ए डिभिजन लिगमै डेब्यू गरे ।

चार वर्षअघि कमल मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भए । हुन त त्यसबेला ए डिभिजन लिग थिएन । त्यसबेला उनलाई त्रिभुवन आर्मी क्लबले पनि भित्र्याउन चाहेको थियो । कुरा पनि भइरहेको थियो । तर कमलको मन मनाङतिर जोडियो । ‘मलाई मनाङको सेतो-नीलो जर्सी लगाउने ठूलो रहर थियो,’ कमलले भने ।

मनाङमा राइट डिफेन्समा खेल्ने विराज महर्जन थिए । कमलको पनि त्यही पोजिसन । कसरी खेल्न पाइएला र भन्ने लाग्यो । विराजलाई लेफ्टमा खेलाउने र कमललाई राइटमा खेलाउने सहमति गर्दै मनाङले उनलाई अनुबन्ध गर्‍यो ।

मनाङबाट उनले पहिलो प्रतियोगिताका रुपमा पोखरामा मनकामना केबलकार कप खेले । एउटा खेलमा म्यान अफ दि म्याच भए, प्रतियोगितामा बेस्ट डिफेण्डरको अवार्ड पाए । त्यसपछि उनले मनाङबाट नकआउट प्रतियोगिताहरु खेलिरहे । अहिले मनाङबाटै दोस्रो सिजन लिग खेलिरहेका छन् ।

चार उपाधिका साक्षी

सन् २०१५ मा काठमाडौंमा भएको साफ यू-१९ च्याम्पियनसिप घरेलु टोली नेपालले जित्यो । नेपालको कुनै पनि राष्ट्रिय टिमले सन् १९९३ पछि जितेको त्यो पहिलो उपाधि थियो । त्यसपछि नेपालले बंगलादेशमा भएको बंगलाबन्धु गोल्डकप खेल्यो । उपाधि जित्दै सिनियर टोलीले २३ वर्षपछि उपाधिको खडेरी तोड्यो ।

यी दुवैमा कमल श्रेष्ठ पनि खेलेका थिए । त्यसपछि नेपालले लगातार दुई उपाधि थप्यो । मलेसियामा भएको एएफसी सोलिडारीटी कप र भारतमा २०१६ मै भएको १२ औं सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण । यी सबैमा कमल टिममा थिए ।

तर बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा उनी छुटे । साफअघि इन्डोनेसियाको जाकार्तामा भएको एसियन गेम्समा नेपालको यू-२३ टिमले प्रतिस्पर्धा गर्दा कमल टिममा थिए । तर साफमा परेनन् । उनी टिममा नपर्दा सबै छक्क परेका थिए, किनकी एसियन गेम्समा उनी पहिलो रोजाइका खेलाडी थिए । ‘मैदान बाहिर हुँदा गाह्रो हुनेरहेछ । एकदमै नराम्रो अनुभव भयो । तर खेलाडीको करिअरमा उतारचढाव हुन्छ भनेर चित्त बुझाएँ,’ कमलले भने ।

नेपालको टिममा रहेर खेलेको एसियन गेम्स नै कमलको पछिल्लो अन्तर्राष्ट्रिय खेल थियो । त्यसअघि उनले राष्ट्रिय टिममा भने २०१७ मा एसियन कप क्वालिफायरअन्तर्गत फिलिपिन्ससँग खेलेका थिए । त्यसयता राष्ट्रिय टिममा पर्न सकेका छैनन् ।

केही समयअघि मात्र घरेलु मैदानमै नेपालको यू-२३ टिमले १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्यो । कमल यसमा पनि सहभागी हुन पाएनन् । २३ वर्ष माथिका तीन जना मात्र खेलाडीमा खेल्न पाउने नियम थियो सागमा । त्यसमा सुजल श्रेष्ठ, विक्रम लामा र विकेश कुथुले खेलेका थिए ।

‘लगातार चार उपाधि जित्दा म टिममा थिएँ । तर यसपटक घरेलु मैदानमा भएको साग उपाधि छुट्यो । नेपालमै भएको साग खेल्न नपाउँदा पीडा भयो,’ उनी भन्छन् ।

कमल राष्ट्रिय टिममा नपर्नुको कारण चोट पनि थियो । चोटका कारण उनले बीचमा एक वर्ष आराम गर्नुपर्‍यो । त्यसले गर्दा राष्ट्रिय टिममा पनि पर्न सकेनन् । गत वर्ष स्वीडिस प्रशिक्षक योहान कलिन आएपछि उनी राष्ट्रिय टिममा पर्न सकेका छैनन् ।

अब उनको लक्ष्य छ, लिगमा मनाङबाट राम्रो प्रदर्शन गर्ने र राष्ट्रिय टिममा पुनरागमन गर्ने ।

त्यसअघि लिगमा मनाङलाई राम्रो नतिजा दिलाउन चाहन्छन् । तर उनलाई यो पनि थाहा छ कि मनाङको टिम पहिलेजस्तो छैन । ‘पहिला मनाङ एउटा प्याकेज टिम थियो, सबै मिलेको । जुन पोजिसनमा पनि राष्ट्रिय खेलाडी थिए,’ कमल सम्झन्छन्, ‘अहिले पूरै चेन्ज भाएको छ, तै पनि टिमको प्रदर्शनमा खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment