+
+
Shares

उद्योगको लागि जग्गा सबैभन्दा ठूलो समस्या : वरिष्ठ उपाध्यक्ष गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १८:५४

२३ पुस, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा अझै पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । उद्योगका लागि जग्गाको अभाव मुख्य समस्या रहेको भन्दै गोल्छाले लगानीकर्तालाई जमिन उपलब्ध गराउनुपर्ने माग गरे ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला समापन गर्दै उनले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने सरकारलाई सुझाव दिए । सरकारले साना मझौला उद्यमीका समस्या सम्बोधन गर्नुपर्ने र उनीहरुलाई कर्जा प्रवाहमा सहजता गराउनुपर्ने गोल्छाको धारणा छ ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको पदभार सम्हालेपछि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिकाका बारेमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसंग सुझाव लिएर अंगाडि बढ्ने उनले बताए ।

मेला समापनका अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले मेलाले स्वदेशी उत्पादनको बजार प्रवर्द्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी उत्पादनको गुणस्तर बृद्धिमा टेवा पुर्‍याएको बताए ।

उत्कृष्ट उद्योग र स्टल पुरस्कृत

मेला समापनका अवसरमा उत्कृष्ट स्टल धनीहरुलाई पुरस्कृत गरिएको छ । समग्र स्टलमा रुपानी ईञ्जिनियरिङ बुटवल पहिलो, जीपिडी फूड प्रोडक्ट तिलोत्तमा ८ दोस्रो, जिल्ला कारागार रुपन्देही तेस्रो र आर्ट अफ लिभिङ् चौथो भएको छ ।

त्यस्तै प्रविधितर्फ जिसी रिसर्च एण्ड डेभलपमेन्ट प्रालि बुटवल पहिलो, गणपति मेटल वर्कसप भरतपुर चितवन दोस्रो, हस्तकलामा कोसेली हस्तकला बुटवल १४ पहिलो, नेपाल अपांग आश्रम बुटवल ११ दोस्रो, कृषितर्फ गुप्ता नर्सरी तिलोत्तमा ७ पहिलो, लांघाली अचार बुटवल ५ दोस्रो भएको छ ।

दुर्गम क्षेत्रबाट चिनारी महिला साझेदारी समुह पहिलो र देउती अर्गानिक मह तथा फलफूल उत्पादन समुह सिंजा ६ जुम्ला दोस्रो भएको छ ।

मेलाको उद्घाटनमा प्रदर्शन गरिएको झाँकीमा नेपाल आर्मीको गरुडदल गणले प्रस्तुत गरेको न्याउली बाजा सहितको सरायँ नाच पहिलो र नेवा पुच गुठी बुटवल देवीनगर दोस्रो भएको मेला मुल्यांकन तथा पुरस्कार व्यबस्थापन समितिका संयोजक महेशमान सिंहले जानकारी गराए । त्यस्तै राष्ट्रिय कलाकारहरु इन्द्र जिसी र मञ्जु पौडेललाई पनि सम्मान गरिएको छ ।

लगानी लुम्बिनीमा : समृृद्धि देशमा’ नारासहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालित २० औं औद्योगिक ब्यापार मेलामा नेपालका ३५ जिल्ला र विदेशी औद्योगिक उत्पादन, कृषि, घरेलु उद्योग, हस्तकला, गार्मेन्ट, होटेल रेष्टुरेन्ट, बैंक र पर्यटनका पाँच सय स्टल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?