Comments Add Comment

बेल्जियमकी राजकुमारी र स्वास्थ्यमन्त्री ढकालद्वारा कैलालीमा क्षयरोग केन्द्र उद्‍घाटन

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्र उद्‍घाटन भएको छ । बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार केन्द्रको संयुक्त रुपमा उद्‍घाटन गरेकी हुन्।

दामिन फाउन्डेसन तथा मानव स्रोत विकास केन्द्रको संयुक्त पहलमा कैलालीको गोदावरी नगरपालिका- ६ श्रीपुरमा क्षयरोग केन्द्र स्थापना भएको हो । राजकुमारी एस्ट्रिड दामिन फाउन्डेसनकी मानार्थ अध्यक्ष पनि हुन। राजकुमारी एस्ट्रिड गत शनिबारदेखि नेपालको भ्रमणमा छिन्।

केन्द्र क्षयरोग र कुष्ठरोगको रेफरल सेन्टरसमेत रहने दामिन फाउन्डेसनका नेपाल प्रतिनिधि डा. सुशील कोइरालाले जानकारी दिए । ‘सरुवा रोगहरूको प्रदेशस्तरीय अस्पताल बनाउन सकिन्छ’, कोइरालाले भने।

मानव स्रोत विकास केन्द्रका सचिव पदमराज जोशीले ६६ सालदेखि धार्मिक अनुसन्धानहरू गरेर सुरु गरेको अभियानले दामिन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगसँगै मूर्त रुप पाएको बताए। बेल्जियमकी राजकुमारीको उपस्थितिले आफूहरूलाई हौसला बढेको उनले बताए ।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले क्षयरोग नियन्त्रणमा केन्द्रको सुरुआत महत्त्वपूर्ण कदम भएको बताए । उनले सुदूरपश्चिममा सुविधासम्पन्न अस्पताल र चिकित्सकहरूको अभाव रहेको भन्दै चिकित्सक पठाइदिन संघीय सरकारसँग अनुरोध गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ४० वर्षपछि बेल्जियमबाट भएको उच्चस्तरीय भ्रमण गर्वको विषय भएको चर्चा गरे।

नेपालको दुर्गम क्षेत्रमा बिरामीहरू धेरै रहेको तर अस्पतालहरू नभएको तथ्यमा सरकार जानकार रहेको उनले बताए । हरेक प्रदेशमा एक अस्पताल र एक प्रतिष्ठान बनाउने सरकारको योजना सुनाउँदै रकम अभावमा उपचार नहुने भय नागरिकले लिन नपर्ने गरी सरकारले काम गरिरहेको उनले बताए।

नेपालका लागि बेल्जियमका राजदूत फ्रान्सवा देल्हाईले नेपाल र बेल्जियमबीचको मित्रता अझ गाढा भएको बताउँदै द्वीपक्षीय सम्बन्ध अभिवृद्धिमा सहयोग पुगेको बताए । उनले न्यानो सत्कारका लागि सुदूरपश्चिमबासीलाई धन्यवाद दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment