Comments Add Comment

खानपान शिष्टचार : बालबच्चालाई केही सिकाउने कि ?

कस्तो खाना खाने भन्ने कुरा जति महत्वपूर्ण छ, उत्तिनै महत्वपूर्ण छ कति र कसरी खाने भन्ने कुरा ।  अर्थात खानपान शैली । खाना खाने उचित शैली अपनाइयो भने पाचन प्रक्रिया सहज हुन्छ । शरीरले पोषण प्राप्त गर्छ । अतः खानपान शैली बालबच्चालाई पनि सिकाउनुपर्छ ।

खाना कसरी खाने, कति खाने, के खाने भन्ने कुरामा उनीहरुलाई सानै उमेरदेखि अभ्यस्त गराउन सकिन्छ । यो भनेको खानपान शिष्टचार पनि हो । यसले बालबच्चालाई सही ढंगले खानका लागि प्रेरित गर्छ ।

संभव भएसम्म परिवारका सबै सदस्य एकसाथ बसेर खानेकुरा खानुपर्छ । यस्तो अवस्थामा बालबच्चालाई पनि सामेल गराउनुपर्छ । उनीहरुलाई अलग राखेर खानेकुरा दिनेभन्दा पनि परिवारका अन्य सदस्यसँगै एकसाथ खाना खान प्रेरित गर्नुपर्छ ।

खाना खानुअघि हातको सरसफाईमा ध्यान दिनैपर्छ । कतिपय बालबच्चा हात धुन अल्छी गर्छन् । उनीहरुलाई हात सफा नगरी कुनैपनि खानेकुरा खान हुँदैन भन्ने कुरामा अभ्यस्त गराउनुपर्छ ।

बच्चाले खानेकुरा पोखाउँछन् वा राम्ररी खाँदैनन् भनेर कतिपय अभिभावकले आफै ख्वाउने गर्छन्, जो गलत अभ्यास हो । बालबच्चालाई आफै खान प्रेरित गर्नुपर्छ ।

उनीहरुलाई सानै उमेरदेखि हरियो सागपात, सलाद आदिमा बानी पार्नुपर्छ । जब उनीहरु हुर्कदै जान्छन् र अन्य खानेकुराको स्वाद थाहा पाउन थाल्छन्, तब सागपात वा सलाद खान मन गर्दैनन् । त्यसैले उनीहरुलाई सानै उमेरदेखि नै सागपात लगायत पोषिलो र ताजा खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।

खानेकुरा खाइरहँदा हतार गर्ने, ठूल-ठूला गाँस निल्ने बानी राम्रो होइन । उनीहरुलाई सिकाउनुपर्छ कि, शान्त ढंगले आरमसाथ खानुपर्छ । खाना खाँदा सानो सानो टुक्राबनाएर त्यसलाई राम्रो तरिकाले चपाएर खान सिकाउनुपर्छ । खाना खाइरहँदा जुठो छर्ने, आवाज निकाल्ने, थाल बजाउने बानी राम्रो होइन ।

आफुलाई आवश्यक खाना मात्र थालमा पस्कन सिकाउनुपर्छ । धेरैजसो बालबच्चालाई थाहा हुँदैन कि, कति खानेकुरा खाने ? कतिले अघाइन्छ ? त्यसैले थोरै खानेकुरा प्लेटमा राख्ने । आवश्यक परेमा खाना थपेर खाने । सकेसम्म खानेकुरा जुठो बनाएर नछाड्ने बानी बसाल्नुपर्छ ।

कुन खाना कसरी खाने ? कुन खानेकुरासँग के मिसाउने ? यसबारे पनि उनीहरुलाई जानकारी गराउनुपर्छ । साथै कस्तो खानेकुराका कस्तो थाल वा कचौरामा खानुपर्छ भन्ने हेक्का हुनुपर्छ ।

खाना खाइरहँदा अहिलेका बालबच्चाहरु मोवाइल हेरिरहेका हुन्छन् । यो खराब बानी हो । खाना खाँदा सम्पूर्ण ध्यान खानामा नै केन्द्रित गराउनुपर्छ । मोबाइल खेलाउँदै, टेलिभिजन हेर्दै, हल्ला गर्दै, खेल्दै खानेकुरा खाने बानी उचित हुँदैन । खानेकुरा प्रशन्न भएर, शान्तसाथ, स्वाद लिएर खानुपर्छ ।

खानेकुरा खाइरहँदा कुन खानेकुराको स्वाद कस्तो हुन्छ, त्यसमा के पोषण मिल्छ भन्ने कुरा पनि अवगत गराउनु राम्रो हुन्छ । सागपात, सलाद, झोल पदार्थ आदि खानेकुरामा प्रेरित गर्नुपर्छ । खाना अघि र खानापछि तुरुन्तै पानी खान उचित हुँदैन भन्ने कुरा बुझाउनुपर्छ ।

आफ्नै भान्सामा पाकेको खानेकुरा कति ताजा, सफा, पोषिलो हुन्छ भन्ने कुरा पनि उनीहरुलाई जानकारी गराउनुपर्छ । घर बाहिरका खानेकुरा वा जंकफूडको खराब असारबारे बताउनुपर्छ ।

खाना खाइसकेपछि जुठो थाल उनीहरुलाई नै उठाउन प्रेरित गर्नुपर्छ । खानेकुरा खाइसकेपछि केही समय बज्रासनमा बस्नु उचित हुन्छ । यसले पाचन यन्त्रलाई सहज बनाउँछ ।

त्यसो त खानेकुरा पकाउने काममा पनि बालबच्चालाई सहभागी गराउन सकिन्छ । उनीहरुलाई भान्साको काममा अभ्यस्त गराउँदा धेरै कुरा जान्ने, सिक्ने मौका पाउँछन् । साथसाथै भान्सामा रमाउँछन् पनि । तरकारी काट्ने, केलाउने, पखाल्ने जस्ता कुरामा उनीहरुलाई सहभागी गराउन सकिन्छ । आफै सहभागी भएका कारण उनीहरु खानेकुरा खान पनि उत्सुक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment