Comments Add Comment

४७० जनाको कोरोना परीक्षण गरेर ढुक्क हुने अवस्था छ ?

४ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महासचिव डा. टेड्रोस एड्हनम गेहब्रेयससले भनेका छन्, ‘कोरोनाबाट बच्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको टेस्ट (परीक्षण) टेस्ट ….र टेस्ट हो ।’

‘म विश्वका सबै देशहरुलाई धेरै भन्दा धेरै परीक्षण गर्नको लागि आग्रह गर्छु’ उनले सोमबार एक कार्यक्रममा भनेका छन्, ‘जति धेरै परीक्षण गर्‍यो उति नै सचेत हुने सम्भावना बढ्छ । अहिलेका लागि कोरोना संक्रमण भए नभएको परीक्षण र क्वारेण्टाइन जत्ति प्रभावकारी अरु विकल्प छैन ।’

डब्लुएचओले धेरै भन्दा धेरै परीक्षणमा जोड गरिरहँदा कोरोनाको उच्च जोखिममा रहेको नेपालको अवस्था भने उल्टो छ । नेपालमा हालसम्म जम्मा ४७० जनाको मात्र कोरोना संक्रमणको परीक्षण गरिएको छ । यद्यपि अहिलेसम्म गरिएका एउटाबाहेक सबै परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

तर कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएका चीन, इरान, इटली, दक्षिण कोरियालगायतका देशबाट पछिल्लो एक महिनामा मात्रै झण्डै १० हजार हाराहारी संख्यामा मानिस नेपाल आइसकेका छन् ।

नेपालमा देखिएको कोरोनाको पहिलो संक्रमण पनि चीनबाट नेपाल आएका विद्यार्थीमै देखिएको थियो । यद्यपि उनी उपचारपछि निको भएको सरकारले बताएको छ ।

त्यसयता चीनको वुहानबाट उद्धार गरिएका १७५ जना र उनीहरुलाई नेपाल ल्याउने पाइलट तथा स्वास्थ्यकर्मीको परीक्षण गरिएको छ । त्यसैगरी कोरोनाको संक्रमण फैलिएको देशबाट नेपाल आएकाहरुमध्ये रुघाखोकी, ज्वरोको लक्षण देखिएकाहरु आफैं अस्पताल गई जाँच गराएका छन् ।

उनीहरुमा संक्रमण भेटिएको छैन । अरुको हकमा भने विमानस्थलमा ज्वरो नाप्ने र सेल्फ क्वारेन्टाइनमा बस्नुस् भनेर छाडिएको छ ।

ढुक्क हुने अवस्था छ ?

अहिले सर्वसाधारणले नेपालमा कोरोनाको संक्रमण नभित्रिएको कि नदेखिएको भनेर प्रश्न गर्न थालेका छन् ।

यही प्रश्न हामीले केही जनस्वास्थ्य विज्ञलाई सोध्यौ., ‘यति थोरै सङ्ख्यामा गरिएको परीक्षणले नेपालमा कोरोना संक्रमण छैन भनेर ढुक्क भएर बस्ने अवस्था छ ?

जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित भन्छन्, ‘तीन करोड नेपाली सबैको परीक्षण गर्न सम्भव नभए पनि कम्तीमा संक्रमण फैलिएको देशबाट आएकाहरुको परीक्षण गर्नुपर्ने हो, त्यसो गर्दा समाजमा मनोवैज्ञानिक त्रास कम हुन्थ्यो ।’

त्यसमा सहमति जनाउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेरबहादुर पुन भन्छन्, ‘जति धेरै परीक्षण त्यति धेरै शंका निवारण हुन्छ । तर सरकारको आफ्नै सीमितता होला ।’

सानो सङ्ख्यामा मात्रै परीक्षण गर्दा ठूलो जनसङ्ख्याको वास्तविक चित्र नआउने विभिन्न अनुसन्धानले देखाएको छ । संक्रमण फैलिएको क्षेत्रबाट आएका मानिसहरु र उनीहरुले प्रत्यक्ष भेटेकाहरुको जाँच हुनुपर्छ ।

तर, नेपालमा दैनिक २/४ वटा पनि परीक्षण हुन्न । किनकी अहिलेसम्म परीक्षण भएको ४ सय ७० परीक्षणमध्ये १ सय ९३ जना सरकारले चीनबाट उद्दार गरेका र उनीहरुलाई नेपालसम्म ल्याउने टोलीको थियो ।

यसले नेपालमा कोरोना संक्रमण फैलिएको छैन भन्दा पनि ठूलो सङ्ख्यामा जाँच नभएकाले नभेटिएको पो हो कि प्रश्न गर्न सकिने एक जनस्वास्थ्य विज्ञ बताउँछन् । उनी भन्छन्, ‘यो विषयमा अहिले नै ठोकुवा गरेर भन्न हतार होला, तर अहिले तत्काल परीक्षणको सङ्ख्या र होम क्वारेन्टाइन बढाउनुको विकल्प भने छैन ।’

कोरोना परीक्षणको मापदण्ड

सरकारले अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई मात्र कोरोना संक्रमण भए नभएको परीक्षण गर्न स्वीकृति दिएको छ । त्यसैले अरु कुनै पनि ल्याबले कोरोना परीक्षण गर्न पाउँदैनन् ।

यद्यपि २ वटा निजी ल्याबले कोरोना संक्रमणको परीक्षण गर्ने क्षमता राख्छ । तर दुबै ल्याबलाई ‘भवितव्य आइलागेमा चाहिन्छ’ भन्दै सरकारले तयारी अवस्थामा बस्न र आफ्नो अनुमति विना कसैको पनि कोरोना परीक्षण नगर्न भनेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि चिकित्सकको सिफारिस नभएसम्म कसैको पनि परीक्षण गर्दैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार संक्रमण फैलिएको देशबाट फर्किएका त्यस्ता नागरिकको मात्र कोरोना संक्रमणको परीक्षण गरिन्छ जसमा श्वासप्रस्वासमा समस्या आएको, रुघा लागेको र कडा ज्वरो आएको हुनुपर्छ । त्यसैगरी संक्रमण फैलिएको देशबाट आएका मानिसको सम्पर्कमा रहेकाहरुको पनि चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्न सकिन्छ ।

तर विश्व स्वास्थ्य संगठनले भने प्रष्ट भनेको छ, ‘कुनै प्रष्ट लक्षण नदेखिएकाहरुलाई पनि कोरोना संक्रमण भएको भेटिएको छ ।’

त्यस्तो केस एक प्रतिशत मात्रै भेटिएकाले सरकारले होम क्वारेण्टाइनमा बस्न निर्देशन दिएको र परीक्षणको आवश्यकता नठानेको डा. बास्तोलाको तर्क छ ।

उनका अनुसार त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा जाँच गर्दा कुनै लक्षण नदेखिए पनि उनीहरु होम क्वारेण्टाइनमा बस्छन् ।होम क्वारेण्टाइनमा बस्दा स्वास्थ्यमा समस्या आए अस्पतालमा खबर गर्न भनिएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुको निगरानी गर्ने व्यवस्था पनि गरेको छ । डाक्टर बास्तोला भन्छन्, ‘संक्रमण फैलिएको देशबाट फर्किने सबैको परीक्षण गर्न पाए त्रास कम हुने सत्य हो, तर यो विषयमा सरकारले मापदण्ड नबनाएकाले हामीले केही गर्न मिल्दैन ।’

किन प्राथमिकतामा परेन परीक्षण ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटा लक्षण देखिएको बाहेकका अन्यलाई परीक्षण गर्ने मापदण्ड नबनाएको बताउँछन् । उनी भन्छन्, ‘अब परीक्षणको सङ्ख्या नबढाउनुको विकल्प छैन । त्यसको मापदण्डको लागि हामीले योजना बनाइरहेका छौं ।’

प्रवक्ता देवकोटा कोरोना परीक्षणको सङ्ख्या नबढाउनुको अर्को दुई कारण प्रस्तुत गर्छन् ।

पहिलो– नेपालमा कोरोना संक्रमण अहिलेसम्म नभेटिनु ।

दोस्रो– संक्रमित देशबाट फर्किएका, तर कुनै लक्षण नदेखिएकालाई होम क्वारेन्टाइनमा राख्नु ।

उनका अनुसार होम क्वारेन्टाइनमा बस्दा १४ दिनभित्र लक्षण देखिए अस्पताल भर्ना गरेर परीक्षण गरिन्छ । साथै परिवारको अन्य सदस्यको परीक्षण पनि अनिवार्य हुन्छ । तर क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिएमा कसैको पनि परीक्षण जरुरी हुन्न ।

अब संक्रमित देशबाट आएका नागरिक र तिनका परिवारको कोरोना जाँच गर्ने तयारी भइरहेको बताउँदै प्रवक्ता देवकोटा भन्छन् ‘अब दोस्रो चरणको योजनामा यो सबै कुराहरु अटाउँछ ।’

प्रयोगशालाको क्षमता कति ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार अहिले दैनिक २ सय नमूना परीक्षण गर्न सकिन्छ । त्यसैगरी १५ सय किट स्टकमा छ । आवश्यक पर्नासाथ तुरुन्त किट मगाउन पनि सकिन्छ ।

२० जना कर्मचारी थप्ने हो भने प्रयोशालामा भएका तीनवटा उपकरण चलाएर तीन सिफ्टमा काम गर्दा दैनिक १५ सय नमूना परीक्षण गर्न सकिन्छ । उनी भन्छिन्, ‘हामीले गर्नुपर्ने सबै पूर्वतयारी गरिरहेका छौं । महामारी नै फैलियो भने निजी ल्याबहरु पनि छन्, हामी पनि क्षमता बढाउन सक्छौं ।’

नेपालको प्रयोगशालामा गरिएको परीक्षणमा पूर्ण विश्वस्त हुन उनले आग्रह गरेकी छन् । उनका अनुसार डब्लुएचओको टोलीले पनि ल्याबमा समन्वय गरिरहेको छ ।

टेकु ल्याबमा जाँच गरिएका केही नमूना हङकङको ल्याबमा पठाउँदा पनि एउटै रिपोर्ट आएको छ । उनी भन्छिन्, ‘अहिले सरकारको मापदण्डअनुसार हामीले कोरोना परीक्षण गरेका हौं । नयाँ मापदण्ड आयो भने हामी त्यहीअनुसार काम गर्न सक्षम छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment