Comments Add Comment

अस्ट्रेलियामा कोरोनाको त्रास, यस्तो छ नेपाली समुदायको अवस्था

सिड्नी / अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा नै कोरोनाको संक्रमण देखिएपछि कूटनैतिक नियोगहरु, सामाजिक संस्थाका र व्यवसायीहरुले सचेतना र सतर्कता अपनाएको बताएका छन् ।

एकभन्दा धेरै नेपालीमा कोरोना फैलिएको आशंका गरिए पनि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले तास्मानिया राज्यमा एक जना नेपालीलाई मात्रै कोरोना देखिएको बताए ।

ती व्यक्तिलाई हाल तास्मानियाको एउटा होटेलको आइसोलेसनमा राखिएको छ । उनको अवस्था अहिले राम्रो रहेको राजदूत दाहालले बताए ।

यसबाहेक अस्ट्रेलियाका अन्य राज्यमा बसोबास गरेका कुनै पनि नेपालीमा सोमबारसम्म कोरोना संक्रमणको खबर नभएको बताए ।

उनले नेपाल सरकारले जारी गरेका सतर्कता सम्बन्धी सूचनाहरु अस्ट्रेलियाको नेपाली समुदायका लागि दूतावासले सार्वजनिक गरेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समितिका पूर्वअध्यक्ष शेष घलेले अस्ट्रेलियाका नेपालीहरुलाई संयम रहन र अस्ट्रेलियाको केन्द्रीय सरकार तथा राज्य सरकारका स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न सुझाव दिए ।

उनले शिक्षा क्षेत्रमा रहेका नेपाली हरुले पहिले आफ्ना विद्यार्थी, शिक्षक र कर्मचारीको स्वाथ्यलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे । ‘हामीले अस्ट्रेलियाले दिएको अवसरबाट व्यवसायलाई राम्रो गरेका छौं । अहिले संसारभर स्वास्थ्य संकटकाल भए पनि छिट्टै विश्वले यो संकटलाई पराजित गर्ने र सबै व्यवसायहरु फेरि राम्रो बन्ने छन्,’ उनले भने ।

अस्ट्रेलियाका पहिलो नेपाली कानून व्यवसायी डा शम्सेरसिंह थापाले यहाँका नेपालीहरुलाई स्वास्थ्य संकटकाल सम्बन्धी ध्यान दिनुपर्ने कानूनी तथा व्यवहारिक विषयमा यहाँस्थित नेपाली कूटनीतिक निकायहरुले पर्याप्त जानकारी दिनुपर्ने दायित्व भएको बताए ।

उनले शैक्षिक संस्थाहरु र परामर्श दाताहरुको पनि यहाँ रहेका विद्यार्थीको स्वास्थ्य अवस्थाबारे ध्यान दिनु पर्ने नैतिक दायित्व रहेको स्मरण गराए ।

स्वाथ्य संकटकाल भएकाबेला यहाँको सरकार तथा स्वास्थ्य संस्थाहरुले सार्वजनिक गरेका आधिकारिक सूचानाहरुमा मात्रै ध्यान दिन र सामाजिक संजालमा भएका अनाधिकृत सूचनामा विस्वास नगर्न पनि उनले सचेत गराए ।

अस्ट्रेलियाका नेपाली शैक्षिक परामर्शदाता भुवन पाण्डेले अहिले आफूहरुले सरकारले जारी गरेका स्वास्थ्य सतर्कता सम्बन्धी सूचनाहरु विद्यार्थीलाई दिने गरेको बताए ।

उनी कार्यरत संस्थाले अस्ट्रेलियामा सबैभन्दा बढी नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श दिने गरेको छ । उनले आफ्ना सबै राज्य तथा विदेशमा भएका कार्यालयहरुबाट विद्यार्थीलाई कोरोना भाइरसका कारण घोषणा गरिएको विश्वव्यापी स्वास्थ्य संकट तथा यसको असरबारे निरन्तर जानकारी दिने गरेको बताए ।

अस्ट्रेलियामा हरेक साता जस्तो कुनै न कुनै नेपाली कार्यक्रमहरु हुने गरेका छन् । तर सरकारले ५ सय भन्दा बढी जमघट हुने कुनै पनि सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेपछि अस्ट्रेलियाका विभिन्न राज्यमा आयोजना गर्ने तयारी गरिएका दर्जनौं कार्यक्रमहरु स्थगित भइसकेका छन् ।

अस्ट्रेलियाले आइतबारदेखि लागू हुने गरी यहाँ आइपुगेका हरेकलाई दुई साता सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य व्यवस्था लागू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment