Comments Add Comment

फर्किनुअघि लीलामणिले भने : नेपालीले हिनतावोध गर्नुपर्ने काम गरेको छैन

मेरो कार्यकाल महत्वपूर्ण र ऐतिहासिक

४ चैत, काठमाडौं । चीनका लागि निवर्तमान नेपाली राजदूत लिलामणि पौडेलले आफ्नो कार्यकाल महत्वपूर्ण र ऐतिहासिक बनेको बताएका छन् ।

कार्यकाल केही महिना बाँकी छँदै सरकारले फिर्ता बोलाएपछि राजदूत पौडेल भोलि काठमाडौं आउने तयारीमा छन् । वेइजिङस्थित नेपाली दूतावास छाड्नुअघि विज्ञप्ति जारी गर्दै पौडेलले कुनै नेपालीलाई आफ्नो काम, आचरण वा व्यवहारले हिनतावोध गर्नुनपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा आफ्नो कार्यकालमा भएका उपलब्धीहरुको चर्चा गर्दै पौडेलले आफ्नो वुद्धि, क्षमता, विवेक, ज्ञान र स्रोतले भ्याएसम्म इमान्दारीपूर्वक भगीरथ प्रयत्न गरेको र त्यसमा आफूले कुनै सम्झौता नगरेको बताएका छन् ।

नेपालका राष्ट्रपतिको चीन भ्रमण, चीनका राष्ट्रपतिको नेपाल भ्रमण, चीनले नेपाललाई उपलब्ध गराएको पारवहन यातायात सुविधा, बेल्ट एन्ड रोड सहयोग सम्वन्धी समझदारीलगायतलाई उनले आफ्नो उपलब्धीको रुपमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यही अवधिमा सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी भूकम्पपछिको पुनर्निर्माणमा सबैभन्दा ठूलो धनराशीको निशर्त अनुदान सहायता (३ अर्ब चिनियाँ युआन अर्थात् झण्डै ५१ अर्ब नेपाली रुपैयाँ) नेपालले चीनबाट प्राप्त गरेको छ । आगामी तीन वर्षका लागि चीनले नेपाललाई सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी बिना कुनै पूर्वशर्त ३.५ अर्ब युआन (करिब ६० अर्ब नेपाली रुपैयाँ) विकास अनुदान दिने समझदारी यस अवधिको उल्लेख गर्न लायक र नेपालको आर्थिक सामाजिक विकासका लागि कोशेढुङ्गा हुने सहयोग हो ।’

उनले अहिले चीनभित्र नेपाल अभूतपूर्वरुपले परिचित बनेको अनुभूति गरेको बताएका छन् । नेपाल र चीनबीचको सम्बन्ध थप प्रबर्द्धन गर्ने दिशामा एक सचेत नेपाली नागरिकका हैसियतमा आफ्नोे प्रयास निरन्तर जारी रहिरहने उनको वाचा छ ।

विज्ञप्तिमा पूर्वराजदूत पौडेलले लेखेका छन् ‘मैले पदमा रहँदा कुनै त्यस्तो काम जानीजानी गरेको छैन जसले गर्दा मलाई जिम्मेवारी दिने र विश्वास गर्ने नेतृत्वलाई पछुतो गर्न परोस् । मैले जानीजानी, नियत वा स्वार्थवस, दवाव वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले हिनतावोध गर्नु परोस् ।’

विज्ञप्तिको पूर्णपाठ यस्तो छ :

आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु एवम् चिनियाँ मित्रहरु,

जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतका रुपमा तीन वर्ष चार महिना पाँच दिन काम गरी यही चैत्र ५ गते नेपाल पुग्दैछु । परापूर्वकालदेखि साँस्कृतिक, सामाजिक, राजनैतिक र आर्थिक रुपले नेपालको घनिष्ट तथा अत्यन्तै महत्वपूर्ण सम्बन्ध रहेको उदार र असल छिमेकी राष्ट्र चीनमा एक महत्वपूर्ण ऐतिहासिक कालखण्डमा राजदूतको रुपमा काम गर्ने अवसर पाएकोमा गर्व महसुस गरेको छु । मलाई विश्वास र भरोसा गरी यो जिम्मेवारी दिनुहुने तत्कालीन प्रधानमन्त्रीज्यू र सरकार प्रति हार्दिक कृतज्ञता र यस ऐतिहासिक कालखण्डमा मलाई राजदूतको रुपमा निरन्तर काम गर्ने अवसर दिएकोमा वर्तमान सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

गणतन्त्र नेपालको राष्ट्रपतिज्यूको चीनमा पहिलो राजकीय भ्रमण र चीनका राष्ट्रपतिज्यूको २३ वर्षको अन्तरालमा नेपालमा ऐतिहासक राजकीय भ्रमणका साथै नेपाल र चीनवीच विकास र सम्वृद्धिका लागि अटूट मित्रता सहितको रणनैतिक साझेदारी गर्ने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने समझदारी यही कालखण्डमा भएको छ । इतिहासमै पहिलो पटक नेपालले चीन भएर पारवहन यातायातको सुविधा प्राप्त गरेको छ । वहुआयामिक विकासको अवधारणामा आधारित  वेल्ट एण्ड रोड सहयोग सम्बन्धी समझदारी, हिमाल सीमा वारपार रेल सेवा तथा वहुआयामिक सम्पर्क सञ्जालको विस्तार, सीमा क्षेत्रको शान्ति, स्थायित्व र विकासका लागि सहकार्य र उच्च राजनैतिक तथा प्रशासकीय संयन्त्रहरुको निर्माण गरी सम्बन्धलाई द्विपक्षीय हितका सवै विषयमा विस्तार गर्ने जस्ता थुप्रै सम्झौता, समझदारी र सहमती भएका कारण यो कालखण्डलाई मैले महत्वपूर्ण र ऐतिहासिक मानेको  छु ।

यही अवधिमा सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी भुकम्प पछिको पुन:निर्माणमा सवैभन्दा ठूलो धनराशीको निशर्त अनुदान सहायता (३ अर्व चिनियाँ युआन अर्थात् झण्डै ५१ अर्ब नेपाली रुपैयाँ) नेपालले चीनवाट प्राप्त गरेको छ । आगामी तीन वर्षका लागि चीनले नेपाललाई सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी बिना कुनै पूर्वशर्त ३.५ अर्ब युआन (करिब ६० अर्ब नेपाली रुपैयाँ) विकास अनुदान दिने समझदारी यस अवधिको उल्लेख गर्न लायक र नेपालको आर्थिक सामाजिक विकासका लागि कोशेढुङ्गा हुने सहयोग हो ।

यसका  अतिरिक्त उच्च राजनैतिक तहमा भएका थुप्रै भ्रमणको आदानप्रदानबाट द्विपक्षीय हितका साझा विषयलाई अगाडि बढाउने गरी भएका उच्चस्तरका समझदारीहरु तथा लगानी, पर्यटन, वैदेशिक सहायता, साँस्कृतिक तथा सुरक्षा निकायवीचको आदानप्रदान एवम् संस्थागत र जनस्तरको सम्बन्ध विस्तारका हिसाबले उपर्युक्त कालखण्ड ऐतिहासिक र उपलब्धिमूलक रह्यो । अहिले चीनभित्र नेपाल अभूतपूर्व रुपले परिचित भएको अनुभूती हामीले गरेको म सगर्व निवेदन गर्दछु। यी सवै उपलब्धिका लागि न त म प्रमुख दाबेदार हुन सक्छु न निरपेक्ष नै रहन सक्छु। मान्छे कोही पनि सर्वगुण सम्पन्न, सर्वज्ञानी र पूर्ण हुँदैन र मेरा पनि ज्ञान, सीप र क्षमतागत सीमा थिए र छन् । साथै, हाम्रा आफ्नै शासकीय प्रणाली, संरचना र यसको विरासत एवम् श्रोत साधनजन्य सीमा पनि आफ्नो ठाउँमा छँदैछन् । ती सबै सीमालाई यथार्थका रुपमा स्वीकार गरी मानवीय प्रयत्नबाट प्राप्त गर्न सकिने अधिकतम उपलब्धीका लागि सबै सामर्थ्य लगाउनु पर्छ भन्ने मेरो जीवनमूल्य र मान्यता हो ।

मैले बेइजिङमा कार्यरत रहँदा त्यही जीवनमूल्यलाई आत्मसात गरी आफ्नो वुद्धि, क्षमता, विवेक, ज्ञान र श्रोतले भ्याएसम्म इमान्दारीपूर्वक भगीरथ प्रयत्न गरेको र त्यसमा आफूले कुनै सम्झौता नगरेको विनम्रतापूर्वक निवेदन गर्दछु । इमान्दारीपूर्वक र निष्ठाका साथ प्रयत्न गर्ने कुरा मेरो नियन्त्रणमा छ, नतिजा होइन भन्ने मलाई राम्रै थाहा छ । पदीय जिम्मेवारीबाट प्राप्त अवसर सार्वजनिक हितमा उपयोग गर्नका लागि हो भन्ने चेत सवै सार्वजनिक सेवामा रहँदा ममा निरन्तर रहिरह्यो । नेपाल एवम् चीनबीचको राजनीतिक र जनस्तरको सम्बन्धमा आएको उल्लेखनीय प्रगतिलाई आर्थिक पाटोमा समेत् विस्तार गरी आर्थिक विकास, लगानी अभिबृद्धि, कृषि आधुनिकीकरण एवम् प्रविधि हस्तान्तरण जस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरुमा दुईपक्षीय सहयोग अझ सुदृढीकरण गर्दै लैजानु पर्ने खाँचो छ । नेपाल र चीनबीचको सम्बन्ध थप प्रबर्द्धन गर्ने दिशामा एक सचेत नेपाली नागरिकका हैसियतमा मेरो प्रयास निरन्तर जारी रहिरहनेछ ।

मैले पदमा रहँदा कुनै त्यस्तो काम जानीजानी गरेको छैन जसले गर्दा मलाई जिम्मेवारी दिने र विश्वास गर्ने नेतृत्वलाई पछुतो गर्न परोस्। मैले जानीजानी, नियत वा स्वार्थवस, दवाव वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले  हिनतावोध गर्नु परोस्। कार्यसम्पादनका सिलसिलामा शैलीगत स्वभाव, क्षमता, कार्यसीमा र मेरो जीवनमूल्यका कारण मेरो कामबाट कोही कसैलाई मर्का पर्न गएको, नोक्सानी भएको वा चित्त दुखेको छ भने, त्यो नियतवश थिएन । पदीय जिम्मेवारीका कारण उत्पन्न भएको अवस्था पदीय जिम्मेवारी समाप्त भएपछि स्वत: समाप्त भयो भन्ने ठानी क्षमा दिनुहुन हार्दिक अनुरोध छ। समग्रमा पदीय जम्मेवारीलाई मैले राष्ट्र र नेपाली जनताको वहुमूल्य नासोको रुपमा लिएको थिएँ जसको श्रीबृद्धिमा अथक प्रयत्न गर्नु मेरो दायित्व थियो । त्यही दायित्त्ववोधले आजपर्यन्त काममा कृयाशील रहेको विनम्र निवेदन गर्दछु। चीनमा रहनुहुने र चीनमा आउजाउ गर्नुहुने नेपालीहरु, नेपालमै वा अन्य मुलुकमा बसेर चासो राख्नुहुने तथा सल्लाह, सुझाव दिनुहुने र स्वस्थ्य आलोचना गर्नुहुने सबै दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार व्यक्त गर्दछु । राजदूतको रुपमा चीनमा रहँदा मैले विश्वभरिका नेपाली समुदायबाट यति धेरै सहयोग, सद्भाव, माया र प्रोत्साहन पाएँ त्यसका लागि वहाँहरु प्रति आजीवन ऋणी रहिरहनेछु। त्यो ऋण मैले मेरो क्षमता, ज्ञान, विवेक र सामर्थ्यलाई राष्ट्रको सेवामा निस्वार्थ र निरन्तर समर्पण गरेर मात्रै चुक्ता हुन्छ भन्ने म ठान्दछु ।

कोरोना भाइरस संक्रमणको परिस्थितिजन्य अवस्थाका कारण चीनमा रहनु हुने नेपाली दिदीबहिनी दाजुभाइहरुसँग भेटघाट, आउजाउ र सरसम्पर्क गर्न असहज  भएकाले  विदाइ  भेट बिना नै फर्किन परेकोमा मलाई  दु:ख लागेको छ। समय मेरो वशमा थिएन भन्ने बुझिदिनु हुनेछ र तपाईँहरुको सद्भाव, माया र सम्झना सधैं पाइरहनेछु भन्ने मैले अपेक्षा राखेको छु ।

कार्यसम्पादनका सिलसिलामा रातसाँझ, सप्ताहान्त र परिवार समेत नभनी खटिने दूतावासका कर्मचारी साथीहरु, निरन्तर सल्लाह, सुझाव, निर्देशन र साथ दिनुहुने राजनैतिक नेतृत्व, काममा सहायता गर्ने   परराष्ट्र मन्त्रालय तथा अन्य निकायमा कार्यरत राष्ट्रसेवक सहकर्मी मित्रहरु, विश्वास, सद्भाव र सहयोग गर्ने सम्पूर्ण गैरसरकारी तथा व्यवसायिक समुदाय र मलाई माया, आतिथ्य, सहयोग र सद्भाव दिनुहुने चिनियाँ सरकार तथा चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । म यस अवसरमा नेपाली दिदीबहिनी दाजुभाइहरुको चीनको बसाई उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामना गर्दछु । चिनियाँ मित्रहरुलाई नेपालमा भेट्ने अपेक्षा गरेको छु ।

नेपाल चीन मित्रता अमर रहोस् !

लीलामणि पौड्याल

बेइजिङ्ग, चीन

२०७६।१२।०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment