१७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीसहितका दलहरुसँग एकता सहमति गर्दा नेकपा माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्त माओवाद छोडेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित ८ दलका अध्यक्ष एवं संयोजकले हस्ताक्षर गरेको एकता सहमतिपत्रको पहिलो बुँदामै मार्गनिर्देशक सिद्धान्तबारे उल्लेख छ, जहाँ नयाँ पार्टीको सिद्धान्त ‘मार्क्सवाद-लेनिनवाद’ हुने भनिएको छ ।
नेताहरूका अनुसार एकतामा सहमति जनाएका दलहरुले यसअघि मान्दै आएको सिद्धान्त भने छोडिनेछ । ‘सिद्धान्त सहितका तमाम विषयमा पछिल्लो एक वर्षदेखि सघन छलफल गर्दै आएका थियौं’, एकता प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका नेता वेदुराम भुसाल भन्छन्, ‘लामै छलफल पछि मार्क्सवाद-लेनिनवाद मानेर जान तयार भएका हौं ।’
माओवादीले माओवाद छोड्दा अरूले त्यागेको सिद्धान्त बुझ्न उनीहरुको पृष्ठभूमिसम्म जानुपर्ने हुन्छ । एकता सहमति गरेका सबै दल र नेता कम्युनिष्ट पृष्ठभूमिकै हुन् । तसर्थ कम्युनिष्ट पार्टी र मार्क्सवादी सिद्धान्त उनीहरुको साझा र आधारभूत मान्यता हो ।
तर, पार्टी विभाजन हुने समस्याले अनेक विचारधारालाई आदर्श मान्ने अभ्यास नेपालमा पनि भयो । एमाले र माओवादी धार बलियोगरी विकसित भयो ।
२०४६ सालको परिवर्तनसँगै एमाले धारले ‘माओ विचारधारा’ त्याग्दै समयान्तरमा जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्न पुग्यो । शान्तिपूर्ण संघर्षबाटै जनवादी सत्ता स्थापना गर्न सकिन्छ भन्दै आमचुनावमा भाग लिने र संसद-सत्ताको राजनीति गर्न थाल्यो ।
कम्युनिष्टहरुको अर्को धारले भने २०४८ सालको चितवन महाधिवेशनबाट ‘माओवाद’लाई सिद्धान्त मान्ने निष्कर्ष निकाल्यो । यो धार माओेवादी नामै राखेर १ फागुन २०५२ सालदेखि सशस्त्र विद्रोहमा होमियो । दश वर्ष सशस्त्र संघर्ष गर्दै मुलुकको शक्तिशाली पार्टी बन्न आइपुग्यो ।
यिनै दुई धारबाट विकसित र विभाजित हुँदै आएका दलहरुबीच एकता सहमति भएको छ । र, बहुमत संख्या एमाले पृष्ठभूमिका छन् ।

एकतामा हस्ताक्षर गर्ने राजु कार्की, सुवासराज काफ्ले, महिन्द्र राय यादव, माधव नेपाल र प्रेमबहादुर सिंह एमाले पृष्ठभूमिका नेता हुन् ।
नेकपा समाजवादीका अध्यक्ष रहेका राजु कार्कीलाई चिन्न एमाले निर्माणको इतिहासतर्फ फर्कनुपर्ने हुन्छ । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी बीच एकता भएर एमाले बन्यो । मार्क्सवादीका मनमोहन अधिकारीलाई अध्यक्ष र मालेका नेता मदन भण्डारीलाई महासचिव मानेर एमाले बनाउने प्रक्रियामा केही नेताहरुको असन्तुष्टि थियो ।
जसमा मार्क्सवादीका नेता प्रभुनारायण चौधरी लगायत थिए । राजु कार्की त्यही असहमत समूहका विद्यार्थी नेता थिए । कार्कीले केही समय अघि मात्रै निर्वाचन आयोगमा नेकपा समाजवादी दर्ता गरेका थिए । यो पार्टी नामको खोजी गर्दा उनी एकता प्रक्रियामा सामेल भएका हुन् ।
एकतामा सामेल अर्को घटक जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्ले पनि एमाले पृष्ठभूमिकै नेता हुन् । २०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतमको नेतृत्वमा आधा हिस्साले माले गठन गरेका थिए ।
पछि वामदेवले लगभग सिंगो पार्टी एमालेमै फर्काए । तर सीपी मैनालीले एउटा सानो समूहको नेतृत्व गरेर बसे । त्यही समूहभित्र पनि जगत बोगटी पक्षधरले बहुमत जुटाएर पार्टीको संस्थापन बन्दा चुनाव चिह्न तारा पनि लियो । अहिले त्यो चुनाव चिह्न तारा रहेको पार्टीको नेतृत्व काफ्लेले गरिरहेका थिए । २०५६ सालमा मालेले प्रयोग गरेको चुनाव चिह्न ताराकै कारण काफ्ले एकता प्रक्रियामा सहभागी छन् ।
अर्का नेता महिन्द्रराय यादव पनि एमाले पृष्ठभूमिकै नेता हुन् । २०६४ सालको मधेश आन्दोलनसँगै उनी एमालेबाट अलग भएर मधेशवादी नेता बन्न पुगेका थिए । यो अवधिमा मधेश केन्द्रित राजनीति गर्दा अनेक समूहमा आवद्ध भए ।
पछिल्लो समय उनी डा.बाबुराम भट्टराईसँग थिए । र, भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटाएर प्रचण्ड नजिक रहँदै आएका थिए ।
प्रेमबहादुर सिंह त भर्खरसम्म एमालेमै थिए । नेमकिपासँग जोडिएका सिंहले एमालेमा रहेर लामै राजनीति गरे । आफ्नै नेतृत्वमा पनि दल बनाए । तर पछि एमालेमै मिसिएका थिए । अहिले एमालेबाट अलग हुँदै यो एकता प्रक्रियामा भाग लिएका छन् ।
एमालेका संस्थापक नेता रहेका माधव नेपाल भने २०७८ भदौपछि एकीकृत समाजवादीका अध्यक्ष बने । अर्का पूर्वप्रधानमन्त्री एवं एमालेका संस्थापक झलनाथ खनाल सहितका नेताहरुले बनाएको एकीकृत समाजवादी यो एकता प्रक्रियाको महत्वपूर्ण शक्ति हो ।
अर्थात् यो धारका सबै दल र नेताहरुको पृष्ठभूमि जबज हो । अझ माधव नेपाल र उनी निकट कतिपय नेताहरु त जबजका कट्टर पक्षधर हुन् । गत वर्ष असारमा एकीकृत समाजवादीका दशौं राष्ट्रिय महाधिवेशन हुँदा राजेन्द्र राई लगायत नेताहरुले जबज छोड्न नहुने प्रस्ताव ल्याएका थिए ।
तर झलनाथ खनालको बलियो अडानका कारण एकीकृत समाजवादीले ‘वैज्ञानिक समाजवाद’लाई कार्यक्रम बनाएर जाने र मार्गदशक सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ मान्ने निर्णय लियो । यद्यपि जबज छोडेको घोषणा सहितको दस्तावेज प्रकाशित नगरेर माधव नेपालले पार्टीलाई अलमलमा राखेको खनालले सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।
यही महाधिवेशनको निर्णयलाई आधार मान्दा माओवादी सहित घटकहरुको एकतामा एकीकृत समाजवादीले अपनाएको सिद्धान्तमा सहमति भयो भन्न पनि सकिन्छ ।
माओवादी र यसबाट अलगका दलहरुले भने आफ्नो मार्गनिर्देशक सिद्धान्त यो एकता प्रक्रियामा छोडेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि विभाजित हुँदै अलग–अलग समूहको नेतृत्व गर्न पुगेका नेकपाका महासचिव चिरन पुन र नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीहरुको पृष्ठभूमि ‘माओवाद’ हो ।
अझ प्रचण्ड नेतृत्वको माओवादी संसदीय खेलमा अल्मलिएको आरोप लगाउँदै कट्टर ‘माओवाद’ को वकालत सहित फुटेका धारतिरै पुन र बुढाथोकीहरु लागेका थिए ।
देव गुरुङ भन्छन्- माओवाद स्वत: छलफलमा आउँछ
माओवादी केन्द्रका नेता देव गुरूङ भने ‘माओवाद’ छोडेको भन्ने निष्कर्षमा पुग्न नहुने तर्क गर्छन् । ‘२०७५ सालमा एमालेसँग मिल्दा जस्तो सहमति भएको हो, अहिले त्यस्तै भएको छ,’ उनी भन्छन्, ‘हाम्रो मार्गनिर्देशक सिद्धान्त माओवाद छोड्ने कुरा हुँदैन । स्वत: छलफलमा आउँछ ।’
सहमतिपत्रको १८ नम्बर बुँदामा यसबारे उल्लेख भएको गुरूङ बताउँछन् । ‘वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरुबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्याइनेछ,’ यो बुँदामा भनिएको छ ।
यसको अर्थ नेताहरुले चाहेमा ‘माओवाद’ बारे महाधिवेशनमा कुरा उठाउन सक्छन्, छलफल गर्न सक्छन् । तर मतदान नहुने भएकाले सहमतिमा फेरि पनि ‘माओवाद’ फर्काउने सजिलो छैन । ‘एकता महाधिवेशनमा सिद्धान्तमा मात्र होइन, नमिलेका अरू विषयमा पनि सहमतिबाटै निष्कर्षमा पुग्ने सहमति छ,’ एकीकृत समाजवादीका नेता भुसाल भन्छन् ।
विगतका पृष्ठभूमि हेर्दा पनि स्थगित भएको सिद्धान्त फेरि फर्काएको नजीर छैन । २०६५ पुसमा नारायणकाजी श्रेष्ठ नेतृत्वको पार्टीसँग एकता गर्दा माओवादीले मानिरहेको ‘प्रचण्डपथ’ स्थगित गर्ने निर्णय भएको थियो ।
त्यसपछि २०७५ मा एमालेसँग एकता गर्न ‘माओवाद’ नै छोड्न पुगेको माओवादीले अहिलेसम्म ‘प्रचण्डपथ’ बारे छलफल गरेको छैन । ‘कसैले चाहेमा प्रचण्डपथमा छलफल हुन सक्छ, तर त्यस्तो भएको छैन,’ माओवादी नेता गुरूङ भन्छन् ।
एमाले र माओवादीको एकतामा सिद्धान्तको एजेण्डा त एकप्रकारले भद्रगोल नै थियो । पहिले एकता घोषणा अनि पदीय संघर्षमा अल्मलिदै विभाजित हुन पुगेको थियो ।
प्रतिक्रिया 4