१७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल/समूहले पार्टी एकता गरेका छन् । औपचारिक घोषणा २० गते हुँदैछ । आइतबार साँझ माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि पार्टी एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
एकता सम्बन्धी सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
उनीहरुले पार्टीको नाम अहिले सार्वजनिक गरिसकेका छैनन् । तर चुनाव चिह्न भने ‘पाँचकुने तारा’ रोजेका छन् ।
यो तारा चुनाव चिह्न भने नेकपा माले, जनमोर्चा हुँदै पछिल्लो समय सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालले प्रयोग गर्दैै आएको थियो । त्यसैलाई एकतापछि बन्ने नयाँ दलले चुनाव चिह्न बनाउने सहमति भएको छ ।
एकतासँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले मार्गनिर्देशक सिद्धान्त ‘माओवाद’ त्यागेको छ भने अब नाम पनि फेरिने छ । चुनाव चिह्न पनि गोलाकारभित्रको हँसिया हथौडा हुनेछैन । अर्थात् प्रचण्ड पक्षमा रहका माओवादीहरुले अब गोलाकारभित्रको हँसिया हथौडामा भोट हाल्न पाउने छैनन् ।
कसैलाई नफापेको तारा
विगतको इतिहास हेर्दा तारा चुनाव चिह्न लिएका दलहरुलाई फापेको देखिँदैन ।
२०५३ असोजमा संसदबाट महाकाली सन्धि अनुमोदन गर्ने विषयलाई लिएर एमालेमा विवाद बढेपछि बामदेव गौतमले २०५४ सालमा सम्पन्न एमालेको छैटौं महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए । निर्वाचन आयोगबाट उनले चुनाव चिह्न तारा पाएका थिए । यही तारा चुनाव चिह्न लिएर माले ०५६ सालमा प्रतिनिधि सभा निर्वाचन लडेको थियो ।
२०५६ सालको निर्वाचनमा बामदेव गौतमसहितका मालेका उम्मेदवारहरुले देशभरबाट कूल ५ लाख ६७ हजार ९८७ मत पाएका थिए । त्यतिबेला यो संख्या कूल सदर मतको ६.५९ प्रतिशत थियो । तर मालेका कुनै पनि उम्मेदवारहरु निर्वाचित हुन भने सकेका थिएनन् ।
०५८ सालमा वामदेव गौतम पुन: एमालेमै मिसिए । मालेलाई भने सीपी मैनाली, जगत बोगटी लगायतले सम्हाले ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई सर्वोच्च अदालतले भंग गरिदिएपछि बामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरे । उनले धानको बाला चुनाव चिह्न रोजे ।
सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने बताउँदै आएका बामदेव गौतमले गत असार २ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गरे र एकीकृत समाजवादीसँगै माओवादी केन्द्रसहितका आठ दलसँग एकतामा आएका छन् ।
सुरुमा बामदेव गौतमले प्रयोग गरेको तारा चुनाव चिह्न पहिलो संविधान सभा निर्वाचन, २०६४ भन्दा अगाडिसम्म जनमोर्चाले प्रयोग गर्यो । हाल जनमोर्चाको चुनाव चिह्न गिलास छ । सीपी मैनाली नेतृत्वको मालेले भने हँसिया र तारा चुनाव चिह्न प्रयोग गर्दै आएको छ ।
२०६७ सालमा सीपी मैनाली नेतृत्वको मालेबाट जगत बोगटी नेतृत्वको समूह अलग भयो । बोगटी नेतृत्वको दलको नाम ‘नेकपा माले समाजवादी’ र चुनाव चिह्न ‘तारा’ रह्यो ।
नेकपा माले समाजवादीबाट सुवास काफ्ले, डम्बरविक्रम कार्की लगायतको समूह अलग भयो । उनीहरुले ‘नेकपा माले जनसमाजवादी’ गठन गरे । तारा चुनाव चिह्न ‘नेकपा माले जनसमाजवादी’ले पायो । पछि नेकपा माले जनसमाजवादीले पार्टीको नाम परिवर्तन गरी ‘जनसमाजवादी पार्टी नेपाल’ राख्यो र चुनाव चिह्न भने तारा कायमै रह्यो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तारा चुनाव चिह्न भएको जनसमाजवादी पार्टी नेपालले कूल ५ हजार ९२५ भोट पाएको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । उसले प्रदेशगत रुपमा सबैभन्दा धेरै मधेश प्रदेशमा २ हजार १ सय २८ मत पाएको छ । गण्डकी प्रदेशमा ६२७, कर्णालीमा ४४५, बागमतीमा १ हजार ८१०, लुम्बिनीमा १ हजार २१४, सुदूरपश्चिममा ६३७ मत पाएको विवरण छ ।
नेपालको राजनीतिक इतिहासमा ‘तारा’ चुनाव चिह्नको छोटो तर रोचक अध्याय छ । तारा चिह्नसँग वामपन्थी नेताहरुले नयाँ दिशाको प्रतीकको रूपमा देखाएको आशा, तर संगठनात्मक बलले नसम्हालेको कथा छ । अब यही चिह्नलाई फेरि वाम एकताको प्रतीक बनाउने तयारीमा प्रचण्ड, माधव नेपाल सहितका माधव दलहरु छन् । इतिहास दोहोरिन्छ कि नयाँ अर्थमा लेखिन्छ त्यसको उत्तर भने आउँदो चुनावले दिनेछ ।
प्रतिक्रिया 4