१७ कात्तिक, काठमाडौ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतमले आफू सबैभन्दा बढी खुसी भएको बताएका छन् ।
पार्टी एकताको निर्णय गर्न हिजो भएको ८ घटकका नेताहरुको बैठकमा गौतमले आफ्नो खुसी साटेका हुन् । ‘यो चिह्न मैले चुनेको हुँ । घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो,’ गौतमले भने, ‘म धेरै खुसी छु ।’
एमालेबाट अलग भएर गौतमको नेतृत्वमा २०५४ मा बनेको मालेको चुनाव चिह्न तारा थियो । २०५६ सालमा मालेका उम्मेद्वारहरुले तारा चिह्न नै प्रयोग गरेका थिए ।
तर गौतमले माले पार्टीलाई एमालेमै मिसाए । सीपी मैनाली सहितका केही नेताहरु एमाले फर्किएनन् । उनीहरुले जोगाएर राखेको चिह्न तारालाई नयाँ पार्टीले प्रयोग गर्ने भएको छ ।
संयोग, गौतम पनि केही समय अगाडि मात्र एकीकृत समाजवादी प्रवेश गरेका हुन् । ‘मैले चुने पनि छोडेको थिएँ । फेरि यो चिह्नसँग मेरो भेट भयो,’ गौतमले नेताहरुसँग भनेका छन् ।
नयाँ पार्टीको नाम भने टुंगो लाग्न बाँकी छ । नेकपा (समाजवादी), नेपाली कम्युनिष्ट पार्टी वा नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने भन्नेमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया 4