+
+
Shares

राष्ट्रिय सभाबाट राजीनामा दिएका बामदेवले पाएनन् प्रतिनिधिसभाको टिकट

नेपाली कम्युनिस्ट पार्टीले बर्दिया १ बाट विष्णु प्रसाद थारु र बर्दिया २ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १६:४९

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका बामदेव गौतम चुनावी रेसबाट बाहिरिएका छन् ।

उनले आफू चुनाव नलड्ने निधो गरेको अनलाइनखबरलाई बताए ।

‘मैले चुनाव लड्न चाहँदा बर्दियाका दुईवटै क्षेत्र थिए । म उठ्दा दुइवटै क्षेत्रबाट बाहुन–बाहुन उम्मेदवार हुने जस्तो भयो । त्यसपछि मैले एउटा क्षेत्रमा थारुलाई उठाउनुपर्छ भनेँ र मैले चुनाव नलड्ने निधो गरेँ । सोही अनुसार हाम्रो पार्टीले उम्मेदवार तय गरेको छ,’ गौतमले अनलाइनखबरसँग भने ।

नेपाली कम्युनिस्ट पार्टीले बर्दिया १ बाट विष्णु प्रसाद थारु र बर्दिया २ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ ।

आफू हरेक चुनावमा जनताको मनसाय ख्याल गनुपर्छ भन्ने व्यक्ति रहेको र सोही अनुसार अगाडि बढ्दै आएको नेता भएको उल्लेख गर्दै उनले यसपटक पनि जनताको सेन्टिमेन्ट ख्याल गरेर आफू पछाडि हटेको बताए ।

अर्को क्षेत्रबाट चुनाव लड्ने चाहना छ कि छैन भन्ने प्रश्नमा उनले ‘अन्तबाट चुनाव नलड्ने’ जवाफ दिए ।

प्रतिनिधिसभा सदस्यको चुनावमा उठ्ने तयारीसहित गौतमले राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएका थिए ।

२०७४ सालमा बर्दिया १ बाट उठेका गौतम पराजित भएपछि उनी राष्ट्रिय सभामा गएका थिए । राष्ट्रिय सभा सदस्यमा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । डेढ महिना अगाडि नै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको चुनाव लड्न खोजेको भएता पनि अन्तिममा पछाडि हटे ।

७७ वर्षीय गौतम बहुदल यताका सदाबहार उम्मेदवार हुन् । उनले २०४८ मै चुनाव जितेका थिए । २०५१ को माध्यवधि निर्वाचन जितेर २०५३ सालमा गृहमन्त्री बने । २०५६ र २०६४ मा हारे । गौतमले २०७० सालमा भने बर्दिया १ र प्युठान १ बाट चुनाव जितेका थिए ।

भविष्यको बारेमा अहिले केही नभन्ने भन्दै नेता गौतमले यसपटक भने अन्य क्षेत्रबाट समेत प्रतिनिधि सभा सदस्यको चुनाव नलड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?