News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन्।
- नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानियाँले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन्।
- मास्की दाङ ३ बाट, चौधरी बर्दिया २ बाट र बनियाले रुपन्देही ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।
५ माघ, बुटवल । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा बुझाएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दाङका धनबहादुर मास्की, उज्यालो नेपाल पार्टीबाट बर्दियाका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले प्रदेश सभा सदस्यबाट राजिनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले तीनै जना प्रदेश सभा सदस्यले आइतबार नै पदबाट राजीनामा दिएको पत्र सचिवालयमा प्राप्त भएको जानकारी दिए ।
मनोनयन दर्ताको समयभन्दा अगाडि नै सूचना टाँस गरेर जानकारी दिने तयारी गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
चौधरी यसअघि लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीको बर्दिया २ (२)बाट निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टी छोडेर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र उज्यालो पार्टीका चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका हुन् ।
मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए । मास्की लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
त्यस्तै बर्दिया–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका चौधरीले पनि प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । उनी २०७९ को निर्वाचनमा बर्दिया २ (२)बाट विजयी भएका थिए ।
उनले माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई हराउँदै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए । प्रदेश सभामा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका चौधरीले नागरिक उन्मुक्तिमा निरन्तर विवाद बढेपछि पार्टी नै छोडेर उज्यालो पार्टी रोजेका हुन् ।
यस्तै रुपन्देही ४ बाट प्रदेश सभा सदस्य निर्वाचित कन्हैया बनिया रास्वपा बाट रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्न राजीनामा दिएका हुन् ।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले आज राजीनामा दिएका हुन ।
प्रतिक्रिया 4