+
+
Shares

पदावधिबारे परामर्शमा सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १९:०३
फाइल तस्वीर

९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको पदावधिको विषयमा परामर्श सुरु गरेका छन् ।

विगतको अभ्यास के छ भनेर उनले बुधबार प्रतिनिधिसभाका सचिव हर्कराज राई, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी लगायतसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेको प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखले विगतको अभ्यास के कसो छ भनेर अनौपचारिक छलफल गरेको जानकारी दिए ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको पदावधिको विषय छ ।

संविधानको धारा ९१ को उपधारा ६(क) मा भनिएको छ, ‘…प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’

गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । संविधानको यही व्यवस्थाअनुसार सभामुख र उपसभामुख दुवै पदमा बहाल छन् । प्रतिनिधिसभाको अर्को निर्वाचन आगामी २१ फागुनका लागि तोकिएको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलले यही १३ र १४ पुसमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समय छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भने भने आगामी ६ माघमा गर्ने कार्यतालिका छ ।

यहीँनेर सभामुख घिमिरे परामर्शमा छन् ।

समानुपातिकतर्फको बन्दसूची दर्ताको समयलाई उम्मेदवारी दाखिलको समय मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई मान्ने भन्ने विषयमा सभामुख घिमिरे अनौपचारिक संवादमा जुटेका हुन् ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा समेत यो विषय उठेको थियो । त्यसबेला सभामुखमा अग्निप्रसाद सापकोटा थिए ।

त्यसबेला सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन पद छाडेका थिए ।

‘प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन पदमा बहाल नरहेको भनिएको थियो,’ सापकोटाले अनलाइनखबरसँग भने ।

४ मंसिर २०७९ को चुनावका लागि २ र ३ असोज २०७९ मा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यतालिका थियो । प्रत्यक्षतर्फको मनोनयन भने २३ असोजमा भएको थियो ।

तथापि, यो विषयमा त्यसबेला प्रश्न उठेको थियो । नेकपा एमालेले त्यसबेला समानुपातिक तर्फको बन्दसूची बुझाएपछि सभामुख स्वत: पदमुक्त हुने तर्क गरेको थियो ।

समानुपातिक तर्फको बन्दसूची बुझाउने समय सकिएपछि पनि तत्कालीन सभामुखले पद नछाडेको भनेर राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समेत तत्कालीन सभामुखको वैधतामाथि प्रश्न उठाएका थिए ।

त्यसबेला तिमिल्सिनाले पत्र नै निकालेर भनेका थिए, ‘…२०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्म मात्र व्यवस्थापिका संसद कायम रहेको विगतको अभ्यास रहेको …।’

तत्कालीन सभामुख सापकोटाले ५ असोज संघीय संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक राखेका थिए । उक्त बैठकले आधिकारिता पाउन नसक्ने भनेर तिमिल्सिनाले पत्र नै निकालेका थिए ।

यसपटक पनि कतिपयले सभामुख र उपसभामुखको पदावधिको सम्बन्धमा चासो राखेकोले विगतको अभ्यास के कसो हो भनेर अनौपचारिक संवाद भइराखेको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?