News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको प्रवर्तन निर्देशनालयले अनिल अम्बानीको रिलायन्स ग्रुपसँग सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ।
- ईडीले रिलायन्स ग्रुपका ४० कम्पनीको सम्पत्ति शुद्धीकरण मुद्दामा जफत गरेको र मुम्बई, दिल्ली लगायतका स्थानमा रहेका सम्पत्तिहरू समेटिएको जनाएको छ।
- ईडीले सन् २०१७ देखि २०१९ बीच बैंकबाट प्राप्त ऋण रकम अवैध रूपमा शेल कम्पनीहरूमा स्थानान्तरण गरी रकम हिनामिना गरेको आरोप लगाएको छ।
१७ कात्तिक, काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ ।
ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो ।
ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, नोएडा, गाजियाबाद, मुम्बई, पुणे, ठाणे, हैदरावाद, चेन्नई, काञ्चीपुरम र आन्ध्र प्रदेशको ईस्ट गोडावरी लगायत अन्य सम्पत्तिहरू जफत गरेको छ ।
ईडीले सन् २०२२ सेप्टेम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले दर्ता गरेका दुईवटा पहिलो एफआईआरका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
दर्ता भएका एफआईआरहरू रिलायन्स होम फाइनान्स लिमिटेड र रिलायन्स कमर्शियल फाइनान्स लिमिटेडलाई ‘एस बैंक’ले दिएको छुट्टाछुट्टै ऋणसम्बन्धी हुन् ।
अभियोग अनुसार, सन् २०१७ देखि २०१९ बीचमा बैंकबाट प्राप्त करिब तीन हजार करोड रुपैयाँ बराबरका ऋण रकम ती कम्पनीहरूले अवैध रूपमा शेल कम्पनी र समूहका पूर्ण स्वामित्वका सहायक कम्पनीहरूमा स्थानान्तरण गरी रकम हिनामिना गरेका स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
गत शुक्रबार जारी गरिएको जफत आदेशमा ईडीले नियतवस गरिएको कमजोरीहरू फेला परेको दाबी गरेको छ ।
तीमध्ये केहीमा खाली दस्तावेजहरूमा मिति नहाली वा मेटेर लेखिएको जस्ता अनियमितता देखिएको उल्लेख छ ।
एजेन्सीका प्रवक्ताले भने, ‘धेरैजसो ऋण लिने कम्पनीहरूको वित्तीय स्थिति कमजोर थियो वा उनीहरू सक्रिय नै थिएनन् । ऋण सुरक्षासम्बन्धी कागजात अपूर्ण वा दर्ता नै नभएका थिए, सुरक्षा विवरण खाली राखिएका थिए र ऋणको प्रयोग स्वीकृत उद्देश्यसँग मेल खाँदैनथ्यो ।’
यसअघि, भारतीय सेक्युरिटिज एन्ड एक्सचेन्स बोर्ड (एसईबीआई), नेशनल हाउजिङ बैंक, नेशनल फाइनान्सियल रिपोर्टिङ प्राधिकरण, र बैंक अफ बडोराले पनि ती कम्पनीहरूको बारेमा ईडीलाई जानकारी दिएका थिए ।
यस वर्ष जुलाईमा, ईडीले रिलायन्स ग्रुप अन्तर्गत देशभर रहेका ३५ भन्दा बढी कार्यालयहरूमा छापा मारेको थियो भने ५० कम्पनी र २५ व्यक्तिको तलासी लिएको थियो ।
स्टेट बैंक अफ इन्डियाले रिलायन्स कम्युनिकेसन र अम्बानीलाई ‘धोखाधडी’को सूचीमा राखेको बताएपछि सरकारले संसदमा जानकारी गराएको थियो । त्यस लगत्तै ईडीले रिलान्यस ग्रुपका कम्पनी र कार्यालयहरूमा छापामारी सुरु गरेको थियो ।
त्यसपछि अनिल अम्बानीलाई ५अगस्ट ईडीको दिल्लीस्थित मुख्यालयमा सोधपुछका लागि बोलाइएको थियो ।
प्रतिक्रिया 4