Comments Add Comment

निर्भया काण्ड : फाँसीको चार दिनअघि दोषीले गुहारे हेग

४ चैत, काठमाडौं । निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणमा दोषी ठहर भएकाहरूले आफूहरूलाई ‘गैरकानुनी फाँसी’ को सजाय दिन लागेको भन्दै हेगस्थित अन्तर्राष्ट्रिय अदालत गुहारेका छन् । ‘त्रुटिपूर्ण’ कानुनी प्रक्रियाबाट आफूहरूलाई दोषी ठहर गरेको भन्दै तीन दोषीले फाँसीबाट उन्मुक्ति पाउनु पर्ने माग गरेर अदालतमा निवेदन दिएको दि वायरले उल्लेख गरेको छ ।

दिल्ली अदालतले हत्या तथा बलात्कार घट्नामा दोषी ठहर भएका मुकेशकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षयकुमार सिंहलाई आगामी शुक्रबार बिहान साढे पाँच बजे फाँसीको आदेश दिएको थियो । उनीहरूले आफ्ना वकिलमार्फत दर्ता गरेको रिटमा सुनुवाईका क्रममा पोलीग्राफ टेस्ट, लाइ–डिटेक्टर, ब्रेन म्यापिङ जस्ता प्रक्रिया नअपनाएको आरोप लगाएका छन् ।

निवेदनमा प्रत्यक्षदर्शी, पीडितकी साथी र साक्षीले झुठ बोलेको हुनसक्ने कुराको अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

के हो निर्भया प्रकरण ?

निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो । निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको अदालतले ठहर गरेको छ ।

राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । अदालतले दोषी ठहर गरेका मध्ये एक जनालाई अपराध भएका बेला बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ ।

६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो । मेडिकल साइन्स पढीरहेकी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो ।

यो घट्नापछि महिला हिंसाविरुद्धको कानूनको समिक्षा गर्न व्यापक दबाव बढ्यो । त्यसपछि भारतले जस्टिस वर्मा समिति गठन गरेर त्यसैको सिफारिसको आधारमा २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गरेको थियो ।

२०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरेको हो । अन्तराष्ट्रिय अदालत गुहारेपछि फैसला निर्धारित कार्यान्वयनमा अन्योल छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment