Comments Add Comment

जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ : उपप्रधानमन्त्री पोखरेल

‘सरकारलाई विश्वास गरौं तर संकटका बेला नागरिक दायित्व पनि बुझौं’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

४ चैत, काठमाडौं । सरकारका ‘सेकेण्डम्यान’ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अचेल व्यस्तता फेरिएको छ । रक्षामन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेल अहिले विश्वव्यापी फैलिएको महामारी कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् ।

फागुन १८ गतेको मन्त्रिपरिषद बैठकबाट नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी त्यसको संयोजक पोखरेललाई बनाएर प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए ।

यसबीचमा पोखरेलले कोरोनाकेन्द्रित भएरै उच्चस्तरीय समन्वय समितिका बैठकहरु नियमित गर्दै पूर्वप्रधानमन्त्रीहरुसहितको सर्वदलीय बैठक राखेर महामारीविरुद्ध लड्न राष्ट्रिय संकल्प जुटाए ।

पछिल्ला दिनमा उनले उच्चस्तरीय समितिबाट कोरोना संक्रमणको जोखिमविरुद्ध मन्त्रालयगत कामहरुको निर्णय गराउँदै सरोकारवालाहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।

अर्थतन्त्रमा भइरहेको जोखिममाथि पनि केन्द्रित भएका पोखरेलले प्रधानमन्त्री ओलीलाई नियमित रिपोर्टिङ पनि गरिरहेका छन् ।

नेतृत्वको परीक्षण र क्षमता संकटका बेलामा देखिने हो । पोखरेल यो बेला आफ्नो नेतृत्व क्षमता देखाउन खोजिरहेका छन् । यसबीचमा कुनै कमजोरी हुन नदिन भन्दै उनी साना–साना बैठक तथा परामर्शहरु समेत गरिरहेका छन् ।

उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलसँग देशको पछिल्लो अवस्थाबारे कुराकानी गर्न अनलाइनखबर टिम मंगलबार रक्षामन्त्रालयमा पुग्दा उनी चिकित्सकहरुसँग सम्भाव्य उपाय र सरकारले नगरी नहुने कामबारे जानकारी लिइरहेका थिए ।

सरकार उच्च महत्वका साथ यो महामारी भित्रिन नदिन लागेको छ भन्न चाहान्छु । संक्रमण आउनै नदिने हाम्रो मुख्य प्राथमिकता हो र यसमा जनताको साथ चाहिन्छ ।

चिकित्सकहरुले काठमाडौंका केही अस्पतालहरुमै नमूना संकलन केन्द्रको व्यवस्था गर्न र प्रदेशस्तरीय ल्याब तुरुन्त राख्न सुझाव दिएलगत्तै पोखरेलले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई बोलाएर सोहीबमोजिम काम गर्न निर्देशन दिए ।

यति सबै सक्रियता र चनाखो हुँदा हुँदै पनि नेपालमा कोरोना भाइरस भित्रिन नदिन सरकारले सबै सीमाना र विमानस्थल बन्द किन गरिरहेको छैन ? केही दिनलाई लकडाउन गर्दा के बिग्रिन्छ ? यीसहित सरकारको तयारी के कस्तो छ भन्ने अनलाइनखबरको प्रश्नमा उपप्रधानमन्त्री पोखरेल यसरी प्रस्तुत भए ।

जनतालाई आश्वस्त पार्ने हिसाबले सरकार अहिले के गरिरहेको छ र हामी अहिले कुन चरणमा छौं ?

सबैभन्दा पहिले त यो कोभिड १९ को संक्रमणको विश्वव्यापी जुन आतंक सिर्जना भएको छ, त्यो हामी कसैले पनि बिगतमा कल्पना गरेको अन्दाज गरेको विषय थिएन, यो अपर्झट आइलाग्यो । यसको विश्वव्यापी प्रभाव छ । १५० भन्दा बढी देशमा यसको संक्रमण भइसकेको छ ।

यो गम्भीर महामारीको समस्या आइलागेपछि सरकारले शुरुदेखि नै गम्भीरताका साथ लिनुपर्छ भनेर यसप्रति आवश्यक सजगताका लागि संयन्त्रगत व्यवस्था पनि गरेको हो । संयन्त्रगत व्यवस्थापछि हामी मुख्यतः तीनवटा कुरामा केन्द्रित भयौं र त्यसक्रममा संक्रमण भित्रिनै नदिन बढी सचेत भयौं ।

तीनवटा कुराचाहिँ के के हुन् ?

विश्वव्यापीरुपमा भइरहेको डरलाग्दो विस्तारले हामीलाई पार्न सक्ने प्रभावको बारेमा सुक्ष्म अध्ययन गर्ने कुरामा हामी केन्द्रित भयौं । दोस्रो कुरा जनतालाई सचेत बनाउन के के गर्न सकिन्छ भन्ने बारेमा काम गर्न थाल्यौं । तेस्रो कुरा चाहिँ,संक्रमण आइहाल्यो भने रोकथामको बारेमा के के गर्न सकिन्छ भन्ने बारेमा हामी मुलतः केन्द्रित भएका हौं ।

यी तीन कुरामा केन्द्रित भइरहँदा अहिलेसम्म के–के काम गर्नुभयो ?

हामीले गर्नुपर्ने कामहरु सुत्रवद्ध रुपमा थालेका छौं र कतिपय काम भइसकेका पनि छन् । आवागमनलाई नियन्त्रण गर्ने,बन्देज लगाउने कुरा हामीले गरेका हौं । सबैभन्दा पहिले कोरोनाबाट अत्यन्त धेरै प्रभावित भएका मुलुकबाट आउने यात्रीलाई नियन्त्रण गर्‍यौं ।

चेकजाँचमा धेरै नै कडाइ गर्ने र भारतबाट हुने आउजाउलाई व्यवस्थित तथा नियन्त्रित गर्न हामी केन्द्रि भयौं । अर्को कुरा जनतालाई सचेत बनाउन सन्चारमाध्यमलाई परिचालित गर्ने,गलत सूचना फैलिन नदिन सही सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्न खोजेका हौं । गलत सूचना सिर्जना गर्नेहरुलाई गम्भीररुपमा लिएका पनि छौं ।

रोकथामको सन्दर्भमा हामीले ल्याबहरुको स्थापना गर्नेदेखि आवश्यक औषधी र उपकरणहरुको व्यवस्था गरेका छौं । प्रदेशस्तरमा ल्याबहरु स्थापना गर्ने, परीक्षण गर्ने संकलन केन्द्रहरु स्थापना गर्ने, स्वास्थ्यकर्मीहरुलाई व्यविस्थत ढंगले परिचालन गर्ने काम भएको छ । यो काममा जोखिम मोलेर खट्ने हाम्रा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको इन्सिेन्टिभको कुरा पनि गरेका छौं ।

सरकारले अहिलेसम्म गरेका कामको कुरा त भइरहेकै छ, केही समयलाई विमानस्थल र सिमानाहरु लक डाउननै गरेर संक्रमण भित्रिन नदिन कदम चाल्ने हो कि भन्ने प्रश्न पनि उठेका छन्, यसबारे के सोचाइ छ ?

यो कुरा ठिकै हो, संक्रमण आयो भने त सक्कि गो । आउनुभन्दा अघि नै सबै उपाय अवलम्वन गर्ने नै हो । हामीले शुरुदेखि नै यो समस्यालाई गम्भीरतापूर्वक लिएर आवागमनमा धेरै नियन्त्रण गरिएको हो । पहिलो कुरा नै विमानस्थलको आवागमनलाई नियन्त्रण गर्नुपर्छ भनेर थालिएको हो ।

पर्यटक भिसा नदिने, अन्य भिसामा आएकालाई स्वास्थ्य परीक्षण रिपोर्टसहित आउन दिने तर आउँदा चेक गर्ने भनियो । शंकास्पद भए सेल्फ क्वारेन्टाइन तथा आइसोलेनमा राख्ने तयारी पनि गर्‍यौं । अहिले हामीले अस्पतालहरुको प्रबन्ध पनि गरेका छौं । कतिपय अझै पनि समन्वयका समस्या हुन सक्छन् । तर, हामी कुनै कमी हुन नदिन सचेत छौं ।

हामीले जहाँ–जहाँ समस्या देखापर्छ, त्यही ठाउँमा समाधान गर्न निर्देशन दिएका छौं र स्टेपहरु लिएका छौं ।

होइन, हामीले सोध्न खोजेको चाहिँ, लकडाउन गर्नुपर्ने अवस्था आएको होइन र ?

यो एउटा समस्या हो । खुला सिमाना भारतसँग रहेकाले अर्को ठूलो समस्या छ । त्यो खुला सिमानाबाट आउजाउ भनेको जबर्जस्त स्थिति छ । भारतीय पक्षसँगको समन्वयमा त्यो पनि हामी नियन्त्रण गर्दैछौं ।

अहिले तपाईले उडान तालिकाहरु पनि बन्द गर्ने भन्ने जुन प्रश्न गर्नुभएको छ, यसमा चाहिँ हामीले केही दिनअघि गरेको निर्णयमा भिसा बन्द गरेपछि एक चरण त रोकिएको छ । तर, हामी उडानहरुलाई नै रद्द गर्ने, लकडाउन गर्ने कुरामा पनि जानुपर्ने हुनसक्छ । त्यस्तो पर्दाखेरि हामी ‘एट एनि टाइम’ (जुनसुकै समयमा) पनि निर्णय गर्छौं ।

त्यो बेलामा सरकार एक्लैले त सक्दैन, नागरिकले सहयोग नगरी सम्भवै छैन । अहिले तपाई जुन उच्चस्तरको जिम्मेवारीमा हुनुहुन्छ, यसमा जनतालाई के भन्न चाहानुहुन्छ ?

तपाईले यो महत्वपूर्ण प्रश्न उठाउनुभयो । हामीले यो कामको थालनी गरिसकेपछि नेपालका सबै राजनीतिक पार्टीहरुलाई सर्वदलीय बैठक राख्यौं । सरकारले गरेका कामको जानकारी गरायौं । सरकारका तयारीबारे बतायौं । यससित जुध्नका लागि उहाँहरुका केही सुझावहरु पनि सुन्यौं । सबैसित हामी संयुक्त ढंगले लड्नुपर्ने विषय हो भन्ने कुरा प्रष्ट छ ।

सरकारले नेतृत्व गर्छ, अगुवाई गर्छ, अलग कुरा हो । तर, यो भनेको साझा लडाइ पनि हो । हाम्रा कतिपय सामाजिक व्यवहारलाई पनि नियन्त्रण गर्नुपर्‍यो ।

म जनतालाई के भन्न चाहान्छु भने जब यस्तोखालको महामारीको कुरा छ, हाम्रा सामाजिक–सांस्कृतिक गतिविधिहरुलाई नियन्त्रण गरौं केही दिनका लागि ।

सरकारले यस्ता गतिविधि रोकिदेओस भन्ने कुरा होइन । विहेभोज, ठूलाठूला पार्टी, अन्य कतिपय सामाजिक जमघटहरु सरकारले जबर्जस्ती रोक्न मिल्दैन, सरकारले त आग्रह गर्ने हो । जनता आफैंले रोक्नुपर्‍यो ।

हाम्रा सामाजिक क्रियाकलाप र भीडभाड हुने कार्यक्रमहरुलाई यो संकटको क्षणमा नियन्त्रण गर्नका लागि म जनतालाई आग्रह गर्दछु । सरकारले गम्भीरताका साथमा अनुरोध गरेको छ । यसलाई नागरिकस्तरबाट पनि कार्यन्वयन गर्ने कुरामा लाग्नुपर्छ । सरकारको निर्णयका अर्थमा मात्र नबुझौं,यो भनेको जनताको जीवनसँग गाँसिएको सरोकार हो ।

अस्पतालहरुमा पनि भिडभाड नगरौं भन्छ सरकारले ?

तपाईले ठीक भन्नुभयो, अस्पतालहरुलाई पनि भीडभाड नगरौंं । अत्यावश्यक र इमर्जेन्सी बेलामा मात्र जाउँ । कतिपय नियमित चेकजाँच गर्ने कुरा, जस्तो कि ब्लड प्रेसर जँचाउने, सामान्य स्टुल टेस्ट अनेकखालका कुराहरु हुन्छन्, यतिबेला नगरी नहुने जाँचमा मात्रै अस्पताललाई प्रयोग गरौं । अस्पतालहरुलाई क्राउड बनाइदिनु भएन ।

यतिबेला नगरी नहुने जाँचमा मात्र केन्द्रित हुन दिनुपर्‍यो । जहाँसुकै पनि भीड गराइदिने कुरा नियन्त्रण गर्नुपर्छ, यसमा त जनताले नै सचेत हुनुपर्छ । सरकारले बल प्रयोग गर्ने कुरा त होइन यो ।

सरकारले बल प्रयोग गर्नुपर्ने अवस्था पनि आउला नि होइन ?

हामी त्यस्तो कल्पना गर्दैनौं र जनतालाई सचेत गराउने हो । जनतालाई सरकारले हार्दिकतापूर्ण आह्वान गरेको छ । यो त आफ्नै सुरक्षाको लागि हो । हामीले हाम्रो सुरक्षाका लागि हो, हामी सबै जिम्मेवार हुनुपर्छ भनेर नागरिकहरुले बुझ्नुपर्छ । अब जहाँसुकै पनि कार्यक्रमहरु गरिदिने भएन ।

हाम्रै कतिपय नेताहरुको देखिरहेको छु, धमाधम कार्यक्रममा हुनुहुन्छ । बोलाएका छन् मेरो निर्वाचन क्षेत्रका जनताले भनेर दौडेको छ । विहेभोज छाडेको छैन, ब्रतबन्धमा छाडेको छैन । अनि ठूला ठूला सांस्कृति कार्यक्रमहरु चलिरहेका छन, होटलमा कार्यक्रम भइरहेका छन् । यस्तो गरिदिनु भएन ।

यस्ता कुरामा त सबैले जिम्मेवार भइदिनुपर्‍यो । कोरोना विरुद्धका लडाइ राज्यको मात्रै हो, सरकारमा बस्नेहरुको मात्रै काम होइन । सरकारले त अहिलेको समस्यासँग जुध्नलाई अगुवाई गर्छ । तर सरकारले गरेको यो अगुवाईमा त सबै सहभागी हुनुपर्छ । किनभने यो हामी सबैले लड्नुपर्ने विषय हो ।

कोरोनाविरुद्धको लडाइँ भन्दा पनि कालो बजारी विरुद्धको लडाइँ पो सबैभन्दा ठूलोे चुनौति होला जस्तो देखियो नि ?

यसमा जनताको चासो जायज छ । अस्वभाविक घटनाहरु आउँदाखेरि त्यसको बाइप्रोडक्टकका रुपमा कतिपय नकारात्मक प्रवृत्तिहरु पनि आउँछन् । जस्तो– बाढी पहिरो, भुकम्पमा मान्छेहरु चिहिल–बिहिल हुन्छन् । त्यस्तोबेला कालोबजारियाहरु मूल्यवृद्धि गरेर बेच्नेहरु, मालसामान लुकाउनेहरु देखिन्छन् ।

सामाजिक अपराधको कोटीमा पर्ने कुरा छन् भने यो गम्भीर दण्डनीय कुरा हो । राज्यका तर्फबाट यस्ता गतिविधिलाई त्यही रुपमा लिने नीति र योजना छ । म त भन्छु, यसमा पनि सामाजिक जागरणको आवश्यकता छ । कतिपय अवस्थामा हामी नागरिकले पनि सामान धेरै संकलन गर्ने र यही मौकामा मूल्य बढाएर बेच्ने भइरहेको छ । कालोबजारी गर्ने, सामान लुकाउने र मूल्य बढाएर बेच्ने कुरा सामाजिक अपराध हो । सरकारले यसलाई दण्डनीय विषय मानेको छ ।

यो संक्रमणविरुद्ध लड्न हामीलाई विदेशी सहयोगको आवश्यकता परेको छ कि छैन ?

हामीलाई केही दिनअघि विश्व स्वास्थ्य संगठनले सोधेको थियो । मलाई नै संयुक्त राष्ट्रसंघको नेपालका प्रतिनिधिले भेटेर कुरा गर्नुभयो । उहाँहरुले हामी सहयोग गर्छौं, तपाईहरु एउटा व्यवस्थित ढंगको प्रस्ताव ल्याउनुस् भन्नुभएको छ ।

मैले अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई यसको लागि आश्यक पहल गर्न निर्देशन पनि दिएको छु । यसका लागि हाम्रो छिमेकी मुलुक चीनमा महामारी नियन्त्रण उन्मुख छ । चीन सरकारको तर्फबाट पनि हामी जुनसुकै प्रकारको सहयोग गर्न तत्पर छौं भन्ने आश्वासन पाएका छौं ।

भारतले पनि यसप्रति सहयोगी हातहरु अघि सारेको छ । भारतका प्रधामन्त्रीजीको पहलमा सार्कस्तरीय सरकार प्रमुखहरुको भिडियो कन्फरेन्स बैठक पनि भएको छ । त्यसले राम्रो सन्देश पनि दिएको छ । हामी यसविरुद्ध जुध्न एकजुट भएका छौं । हामीले हाम्रा योजनामा पनि बल पुगेको महशुस गरेका छौं ।

फेरि पनि तपाई उच्चस्तरीय संयन्त्रको संयोजक र सरकारको सेकण्डम्यानको हिसाबमा जनतालाई कसरी आश्वस्त गर्नुहुन्छ ?

सरकार सबै परिस्थितिको सामना गर्न तयार छ र जनताले साथ दिनुपर्छ । त्यागको अवस्थामा रहेर सरकारले सम्पूर्ण शक्ति यसमा लगाएको छ । म विश्वास दिलाउन चाहान्छु जनतालाई, यसमा कुनै बजेटको अभाव, यो कुराको अभाव आदि इत्यादि हुँदैन । सरकार उच्च महत्वका साथ यो महामारी भित्रिन नदिन लागेको छ भन्न चाहान्छु ।

तर, यो सँगसँगै जनस्तरबाट पनि यसमा सहयोग र हातेमालो जाने कुरा सरकारले चाहेको छ । जनस्तरबाट हामीले साथ खोजेका छौं । हामी दिनहँु बैठक बसेर सबै योजनाका साथ अघि बढेका छौं । संक्रमण आउनै नदिने हाम्रो मुख्य प्राथमिकता हो र यसमा जनताको साथ चाहिन्छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment