Comments Add Comment

विद्यालय समय हेरफेर गरिँदै, कार्ययोजना तयार

विद्यालयहरु ९ बजेदेखि ४ बजेसम्म चलाउने तयारी

३ चैत, काठमाडौं । कार्यालय समयमा हुने ट्राफिक जाम न्यूनीकरणका लागि भन्दै सरकारले विद्यालय समय हेरफेरको तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विद्यार्थीहरुलाई नौ बजेभित्रै विद्यालयमा पुर्याइसक्ने गरी कार्ययोजना समेत तयार पारेको छ । सो कार्ययोजना कार्यान्वयन गर्न निर्देशनसहित प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयमा पठाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एकजना सचिव महेशप्रसाद दाहालले प्रधानमन्त्री कार्यालयबाट विद्यालय समय हेरफेरको कार्ययोजना आएको पुष्टि गरे । मन्त्रालयका शिक्षा हेर्ने सचिव दाहालले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री कार्यालयको कार्ययोजनामा हामी रिभ्यू गर्दैछौं । नयाँ शैक्षिक सत्र पनि सुरु हुन लागेको छ, उपयुक्त बेला पनि यही हो भनेर छलफल अघि बढाएका छौं ।’

कार्ययोजनालाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयले विद्यालय शिक्षा महाशाखा प्रमुख एवम् सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरठिमी नगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावकका प्रतिनिधि छन् ।

कार्ययोजनामा के छ ?

विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय हाल समान छ । अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने गर्दछन् । त्यसैले कार्यालय सुरु हुने र बन्द हुने (अफिस आवर)मा सवारी साधनको जाम हुने गरेको छ ।

यही जाम हटाउने उद्देश्यले बिहान नौ बजेभित्रै विद्यार्थीहरुलाई विद्यालय पुर्याइसक्ने कार्ययोजना तयार पारिएको हो ।

कार्ययोजनामा विद्यार्थीहरुलाई चढाउने, ओराल्ने र विद्यालयका गाडीहरु पार्किङ गर्ने अलग्गै स्थान तोक्ने,  हरेक विद्यालय अगाडि जेब्रा क्रसिङ बनाउने, विद्यालयका सबै गाडीहरु पहेँलो रंगका हुनुपर्ने, क्यालेन्डरमा एकरुपता ल्याउने, विदाहरु समान हुने लगायतका कुराहरु कार्ययोजनामा रहेका सचिव दाहालले जानकारी दिए ।

यो पनि पढ्नुहोस बरु सरकारी कार्यालय ८ बजे खोलौं, स्कुले बालबालिकालाई दुःख नदिऔं

विद्यालय ९ बजे सुरु भए कति बजे छुट्टी हुन्छ ?

विद्यालय समय ९ बजे नै सुरु गर्ने कार्ययोजनामा रहेको भनेर मन्त्रालयका अधिकारीहरुले बताए पनि कति बजे बन्द हुन्छ भनेर स्पष्ट रुपमा भनेका छैनन् । तर प्रधानमन्त्री कार्यालयले तयार पारेको कार्ययोजनामा भने ९ बजेदेखि विद्यालय सुरु गरेर ३ बजे नै छुट्टी गर्ने उल्लेख रहेको स्रोतले बतायो ।

शिक्षा मन्त्रालयका विद्यालय महाशाखा प्रमुख काप्रीले पनि त्यसको संकेत गर्दै भने, ‘अन्य कार्यालयहरुभन्दा विद्यालय एक घण्टा अगाडि नै सुरु भए, विदा पनि त घण्टा अगाडि नै हुन्छ नि ।’

तर, मन्त्रालयका सचिव दाहाल भने ९ बजेदेखि ४ बजेसम्मको कार्ययोजनामा छलफल जारी रहेको बताउँछन् । उनले भने, ‘९–४ को कार्ययोजनामा सरोकारवालासँग छलफल गरेका छौं ।’

विद्यालयको नयाँ समय कहाँ–कहाँ लागु हुन्छ ?

खासगरी काठमाडौं उपत्यकाको जामलाई कम गर्ने उद्देश्यअनुसार विद्यालय समय हेरफेरको तयारी गरिए पनि नयाँ समय देशभर नै लागू हुने सचिव दाहालले बताए ।

‘निजी विद्यालयहरुले गाडीबाट विद्यार्थीहरु ओसार्ने भएकाले खासगरी यो निजीलाई टार्गेट गरेर ल्याइएको हो,’ सचिव दाहालले भने, ‘सरकारीलाई चाहिँ लागु नहुन सक्छ ।’

‘हुन त गाडी भनिसकेपछि सरकारी स्कुलका पनि पर्लान्, तर सरकारी विद्यालयका गाडीहरु थोरै छन्,’ उनले भने, ‘बेसिकली काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिरका शहरी क्षेत्रलाई लक्षित गरिएको छ ।’

आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयनबारे सरोकारवालासँग छलफलसमेत गरेको थियो । छलफलमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment