१७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताएका छन् । प्रेस चैतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताएका हुन् ।
एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेल जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने दाबी गरे ।
उनले वर्तमान सरकार आफैं संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने टिप्पणी गरे ।
‘मैले यतिमात्र भन्छु तर नेकपा एमाले पार्टी चुनावबाट भाग्ने पार्टी त होइन । जनताको रोजाइको पहिलो पार्टी जनमतबाट अलग हुने भन्ने चाहीँ कल्पना नै गर्न सकिँदैन,’ पोखरेलले भने, ‘तर नहुने चुनावमा हामी भाग लिन्छौ भन्दै हिड्ने कुरा केटाकेटी पन हुन्छ जस्तो लाग्छ । किनकि चुनाव गराउने सरकारनै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ पहिले कुरा त त्यही कुरा के हुन्छ भन्ने कुराकै ठेगान त छैन ।’
महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताए ।
‘केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो त्यसले बाटो तय गर्नेवाला छ । दोस्रो चाहीँ शान्ति सुरक्षाको अवस्था नै सुनिश्चित छैन,’ पोखरेलले भने, ‘आम जनता चुनावमा सहभागि हुनसक्ने वातावरण छ कि छैन, राजनैतिक दल चुनावमा सामेल हुन सक्ने वातावरण छ कि छैन भन्ने कोणबाट हेर्दा खेरी चाहीँ अहिले यो सरकार चाहीँ चुनावको बाटोतिर हिँड्या छ भन्ने देखिँदैन ।’
जेन–जी पुस्ताको आन्दोलन आकस्मिक, अस्वभाविक भूकम्प जस्तै भएको महासचिव पोखरेलको टिप्पणी छ ।
प्रतिक्रिया 4