+
+
Shares
अभिभावकको चिन्ता :

एक महिना विद्यालय बन्द हुँदा बच्चालाई कसरी राख्ने ?

यस्ता छन् मनोविश्लेषक बासु आचार्यका १० टिप्स

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १४:१८
तस्वीर : हेमन्त चेम्जोङ/अनलाइनखबर

४ चैत, काठमाडौं । मोरङ घर भएका काँडाघारी डेरा गरी बस्ने समिता अर्याल पेशाले नर्स हुन् । उनका श्रीमान विदेशमा छन् । दुवै छोराछोरी विद्यालय जाने भएकाले उनलाई दैनिक अस्पताल भ्याउन सम्भव भइरहेको छ ।

तर, कोरोना भाइरसको त्रासले गर्दा यसपालि विद्यालयहरुले अन्तिम परीक्षा नियमित समयभन्दा अगाडि नै सारे । बुधबारबाट सबै विद्यालयहरुले परीक्षा सकेर विद्यार्थीलाई छुट्टि दिँदैछन् । अब समितालाई समस्या परेको छ, एक महिनासम्म बच्चाहरुलाई कहाँ छोड्ने र जागिर खान जाने ?

उनकी छोरी एलकेजी र छोरा २ कक्षामा पढ्छन् । कोठामा उनीहरुलाई मात्रै छोडेर कार्यालय जान सक्ने अवस्था छैन । न त यस्तो बेलामा अस्पतालले लामो बिदा दिने अवस्था नै छ ।

‘खोइ के गर्ने के ?’ उनी भन्दै थिइन्, ‘घर (गाउँ) पठाउँ भने पनि बृद्ध सासू–ससुराले स्याहार्न सक्नुहुन्न । काठमाडौंमै राख्नलाई हेरचाह गर्ने मान्छे कोही छैन ।’

समितालाई जस्तै समस्या अहिले थुप्रै अभिभावकलाई परेको छ । काठमाडौंको महंगीमा बाँच्न प्रायः परिवारमा बाबु–आमा दुवै पेशा–व्यवसाय गरिरहेका हुन्छन् । बच्चाहरु दिनभर स्कुलमा हुने भएकाले ढुक्क भएर आफ्नो काममा जाने उनीहरुलाई यो लामो छुट्टिले समस्या सिर्जना गरिदिएको छ ।

मण्डिखाटार बस्ने बैंकर राकेश जोशी भन्छन्, ‘स्कुल छुट्टी नदिई पर्याप्त स्वास्थ्य सचेतनासहित सुरक्षाका उपायहरु अवलम्वन गरेको भए राम्रो हुन्थ्यो । लामो विदा दिइँदा हामीजस्ता अभिभावकलाई अप्ठेरो परेको छ ।’

‘धेरै अभिभावकहरु काठमाडौंबाहिरको हुनुहुन्छ । उहाँहरुले यो छुट्टिमा सकभर छोराछोरीलाई घर पठाउँदा राम्रो हुन्छ,’ अभिभावक संघका अध्यक्ष केशव पुरी भन्छन्, ‘काठमाडौंमै राख्नुपर्ने अवस्था भए उनीहरुको स्वास्थ्य सुरक्षामा ध्यान पुर्‍याउनुपर्छ ।’

८ वर्षीय छोराले स्कुल छुट्टी हुनासाथ घुम्न जाने भनेर हैरान पारिरहेको उनले सुनाए । तर, सरकारले नै भिडभाडमा नजानु भनिरहेका बेला कहाँ घुमाउन लैजाने भन्ने उनलाई चिन्ता छ । फनपार्क वा चिडियाखातिर लैजाने कुरै भएन ।

अरुबेला बच्चाहरुलाई लामो बिदा दिइँदा त्यसको कसरी सदुपयोग गर्ने भन्ने प्रश्नमात्रै आउँथ्यो । तर, अहिले उनीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने चुनौति पनि छ । सरकारले नै सकभर भिडभाडमा नजान भनेको छ । यस्तो अवस्थामा उनीहरुलाई चिल्ड्रेन पार्क वा सिनेमा हलमा लैजान पनि उचित हुँदैन ।

अर्कोतर्फ दिनभरि कोठामा थुनिएर बस्नुपर्दा बालबालिकाहरु दिक्क लाग्ने मात्र होइन, मोबाइलको लतमा फस्ने खतरा पनि विज्ञहरु औंल्याउँछन् ।

किन सारियो परीक्षा ?

नेपालमा अहिले कोरोना संक्रमण कसैलाई छैन । चीनबाट आएका एक व्यक्तिमा संक्रमण देखिएको भए पनि उनी निको भइसके । तर, छिमेकी देश चीनबाट फैलिएको रोग भएकाले नेपालमा जोखिम अहिले पनि उच्च छ ।

यही जोखिमले गर्दा धेरै अभिभावक आफ्ना बच्चाहरुलाई विद्यालय पठाउन डराइरहेका थिए । बच्चाहरु विद्यालयमा असुरक्षित रहेको भनेर आवाज उठेपछि विद्यालय सञ्चालकहरुले परीक्षा चाँडै सिध्याएर विदा दिने निर्णय गरे । त्यसैबमोजिम ५ गतेबाट सबै विद्यालयहरुले बिदा दिन लागेका हुन् ।

अभिभावक संघका अध्यक्ष केशव पुरी विद्यालयहरुले परीक्षा सार्नु औचित्यपूर्ण भएको बताउँछन् ।

‘विद्यालय चाँडोभन्दा चाँडो बन्द गर्नु आवश्यक थियो, किनभने कुनै पनि बहानामा बालबालिकाको स्वास्थ्यमा खेलवाड गर्नु हुँदैन,’ उनले भने । अभिभावकहरुलाई केही समस्या परे पनि उनीहरुले ‘म्यानेज’ गर्ने पुरीको भनाइ छ ।

‘धेरै अभिभावकहरु काठमाडौंबाहिरको हुनुहुन्छ । उहाँहरुले यो छुट्टिमा सकभर छोराछोरीलाई घर पठाउँदा राम्रो हुन्छ,’ उनले भने, ‘काठमाडौंमै राख्नुपर्ने अवस्था भए उनीहरुको स्वास्थ्य सुरक्षामा ध्यान पुर्‍याउनुपर्छ ।’

गाउँमा गएर पनि बच्चाहरुले धेरै कुरा सिक्न सक्ने पुरी बताउँछन् । त्यसले उनीहरुको ज्ञानको दायरा फराकिलो हुन सक्ने पुरीको धारणा छ ।

‘सबै चिज सरकारले नै गरिदियोस् भनेर हुँदैन । आफ्ना बच्चाहरुको प्रमुख दायित्व अभिभावकमै हुन्छ । बाबुआमामध्ये एकजनाले समय निकालेर बच्चाहरु हेर्नुपर्छ । त्यो पनि सम्भव नभए छरछिमेक वा आफन्तको सहयोग लिने हो,’ उनले भने ।

पुरीका अनुसार अभिभावक संघले एसईई परिक्षा पनि स्थगित गर्न माग गरेको थियो, तर सरकारले सुनेन ।

‘भोलिबाट ४ लाख ६० हजार विद्यार्थीहरु एसईई परीक्षा सुरु हुँदैछ । यस्तोबेला परीक्षा स्थगित गरेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘सरकारले धेरै जना एकै ठाउँ भेला नहुनुु पनि भन्ने तर परीक्षा पनि नरोक्ने दोहोरो व्यवहार भयो । विद्यार्थीको ज्यानभन्दा जाँच ठूलो हो र ?’

छुट्टीमा के गर्ने त ?

विद्यालय छुट्टि हुँदा प्रायः बालबालिकाहरु रमाउँछन् । तर, लामो समय विदा हुँदा भने अभिभावकले धेरै पक्षहरुबाट उनीहरुको ध्यान गर्नुपर्ने हुन्छ । अरुबेला विदाको समय कसरी सदुपयोग गर्ने भन्ने मात्रै सोच्दा हुन्थ्यो । तर, अहिले उनीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता पनि छ ।

मनोविश्लेषक बासु आचार्यको भनाइमा यसबेला बच्चाहरुलाई गाउँ पठाउनु सबैभन्दा राम्रो विकल्प हो । तर, काठमाडौंमा घर भएका वा गाउँ पठाउन सम्भव नभएका अवस्थामा अभिभावकले उनीहरुलाई बढीभन्दा बढी सिर्जनात्मक काममा संलग्न गराउनुपर्ने उनले बताए ।

आचार्यले अभिभावकलाई दिएका टिप्स यस्ता छन् :

१. एक महिनाको बीचमा सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय सरसफाइ हो । सरसफाइमा कसरी बस्ने र भाइरसको संक्रमणबाट कसरी बच्ने भनेर अभिभावकले आफ्ना बच्चालाई बुझाउनुपर्छ ।

२. लामो छुट्टीका बेला बच्चाहरु मोबाइलको लतमा फस्ने सम्भावना अति बढ्छ । अभिभावक पनि बच्चाहरुलाई मोबाइलमा लट्पट्याएर आफ्नो काममा लाग्ने गर्छन् । यो एकदमै बेठीक हो । बच्चाहरुलाई मोबाइलबाट सकेसम्म टाढा राख्नुपर्छ ।

३. बच्चाहरुलाई बढीभन्दा बढी अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्छ । नयाँ–नयाँ रमाइला खेल सिकाउनुपर्छ । दिनभरिको रुटिन नै बनाएर उनीहरुलाई विभिन्न क्रियाकलाप गराउनुपर्छ ।

४. बच्चाहरुलाई उनीहरुको उमेरअनुसार पढ्ने सामग्रीहरु उपलब्ध गराएर पढ्न प्रेरित गर्नुपर्छ । कथाका किताबहरु, बालपत्रिका वा उनीहरुले मन पराउने अन्य पाठ्य सामग्री दिन सकिन्छ । यसबाट उनीहरुको पठन व्यवहार सुधार हुन्छ ।

५. बच्चाहरुलाई घरभित्रका सानातिना कामहरु गर्न सिकाउन सकिन्छ । १० वर्षमाथिका बच्चाहरु छन् भने पानी उमाल्न, चिया पकाउन सिकाउँदा राम्रो हुन्छ । साथै, घरका सामानहरु मिलाउने, सफासुग्घर गर्ने कुराहरुमा पनि उनीहरुलाई प्रेरित गर्नुपर्छ ।

६. यस्तो समयमा धेरै आमाबुवाहरु आत्तिन्छन् । भुईंचालोका बेलामा आमाबुवाहरु धेरै आत्तिँदा त्यसको मानसिक असर बच्चाहरुमा परेको थियो । यदि नेपालमा कोराना प्रवेश भयो भने त्यही अवस्था दोहोरिने खतरा छ । त्यसैले बाबुआमा कदापि आत्तिनुहुँदैन । आत्तिएमा पनि बच्चाका अगाडि देखाउनु हुँदैन । बच्चाहरुलाई डर देखाउनु त झनै हुँदैन । उनीहरुलाई हामी रोगबाट सुरक्षित छौं भनेर आश्वस्त बनाउनुपर्छ । असुरक्षाको भावना पैदा गर्नुहुँदैन ।

७. बच्चाहरुलाई दिनभरि कोठाभित्रै कोचेर राख्नु पनि गलत हुन्छ । टाढा नगए पनि घरबाट नजिक, कम भिडभाड भएका स्थानहरुमा घुमाउन लैजानुपर्छ । तर, यसरी बाहिर लैजाँदा मास्क लगाउने तथा अन्य सावधानीहरु अपनाउनुपर्छ ।

८. बच्चाका रुचीहरु फरक हुन्छन् । कसैलाई ड्रोइङमा रुची हुन्छ भने कसैलाई वाध्यवादनमा । उनीहरुको रुचीअनुसार क्षमता विकास गर्न अभिभावकले आवश्यक सामग्रीहरु उपलब्ध गराइदिनुपर्छ ।

९. यदि तपाईंको घर गाउँमा छ र हजुरबा–हजुरआमा बस्नुहुन्छ भन्ने बच्चालाई गाउँ पठाइदिनु सबैभन्दा राम्रो हो । गाउँको वातावरण र माहोलमा बच्चाहरुले धेरै कुरा सिक्न पनि पाउँछन् । हजुरबा–हजुआमा फुर्सदिला हुने भएकाले बच्चाहरुको राम्रो केयर पनि गर्नु हुन्छ । घर नभए बच्चाको मामाघर पठाउँदा पनि हुन्छ ।

१०. यस्तोबेला अभिभावकको भूमिका एकदमै अहम हुन्छ । उनीहरुले छाडा छोडेमा बच्चाहरु बिग्रन सक्छन् । त्यसैले पर्याप्त सचेतना अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?