Comments Add Comment

पनौती घटना : कसरी लाग्यो प्रहरीलाई गोलीको छर्रा ?

काभ्रेका एसपी पौडेल भन्छन् – अनुसन्धान गर्दैछौं

४ चैत, काठमाडौं । सोमबार राति ९ बजेपछि पनौती बसपार्कमा एक्कासी गोली चलेको आवाज आयो । टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीय र प्रहरीबीच तनाव चलिरहेका बेला गोली चलेको थियो ।

तर अहिलेसम्म न प्रहरीले गोली चलाएको स्वीकारेको छ न आन्दोलनकारीबाटै गोली चलेको हुनसक्ने आधार भेटिएका छन् ।

घटनामा पाँच जना प्रहरी र तीन जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जना प्रहरी सहायक निरीक्षक, महिला प्रहरी हवल्दार र तीन जना जवान उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रहरी हवल्दार दिपेन बुढाथोकीलाई भने धुलिखेलबाट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज रेफर गरिएको छ ।

बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाका अनुसार बुढाथोकीलाई कोखामुनि गोलीको छर्रा लागेको छ ।

घटना भएलगत्तै काभ्रे प्रहरी प्रमुख रविकुमार पौडेल पनौती पुगेका थिए । तर प्रहरीले आफूभन्दा पछाडि अन्य प्रहरी अधिकृत नभएको बताएका छन् । सर्वसाधारणबाट हतियार वा अन्य कुनै प्रकृतिका सामग्री बरामद भएको छैन ।

प्रहरीले पनि अश्रुग्यास मात्र प्रहार गरेको बताउँछ ।

त्यसो भए गोली नै नचली छर्रा कसरी लाग्यो ? काभ्रे प्रहरी प्रमुख पौडेल भन्छन्, ‘कसरी छर्रा लाग्यो भन्ने विषय अनुसन्धानकै क्रममा छ । अहिलेसम्म खुलेअनुसार पछाडि प्रहरी चाहिँ थिएनन् । त्यसैले प्रहरीबाट गोली चलेको देखिँदैन ।’

यसमा प्रदर्शनकारीतर्फबाट गोली चलेको हुनसक्ने आशंका गरिएको छ । तर, रात परेकाले प्रहरीले भेउ पाउन सकेन । त्यसो त अहिलेसम्म घटनास्थलमा गोलीका खोका वा अन्य शंकास्पद सामग्री पनि बरामद भएको छैन ।

यसबारे चिकित्सकसँग पनि परामर्श गरेको छ र सर्ट गनबाट रबर बुलेट पड्किएको हुनसक्ने बताएका छन् । तर गोली कसले चलायो भन्ने पुष्टि भएको छैन ।

कर्फ्यू लागेपछि सुनसान पनौती

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रु खानीखोला गाउँपालिका ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिका गम्भीर घाइते भएका थिए ।

लगत्तै उनीहरुलाई उपचारका लागि शीर मेमोरियल अस्पताल पठाइएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तिम्सिनाले बताउँछन् । त्यसपछि टिपर आतंक बन्द गर भन्दै स्थानीयले प्रदर्शन गरे, प्रहरी बिटमा तोडफोड गरे ।

पाँच प्रहरी घाइते र तीन सर्वसाधारण घाइते भएपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले मंगलबार बिहानबाट पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । त्यसयता पनौती क्षेत्र सुनसान छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार तिमिल्सिनाले प्रदर्शन चर्किएपछि अहिले बिहान ९ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । ‘पीडित र सवारी धनीलाई हामीले वार्तामा बोलाएका छौं,’ उनले भने, ‘दुवै पक्ष राखेर निकास निकाल्छौं ।’

टिपर चालकविरुद्ध जाहेरी

पीडित पक्षले मंगलबार बिहान टिपर चालक ३६ वर्षको नवराज थापाविरुद्ध किटानी जोहरी दिएका छन् । सवारी ज्यान सम्बन्धी कसूरमा थापाविरुद्ध जाहेरी दर्ता भएको पौडेलले बताए ।

गोली चलेको सन्दर्भमा पनि स्थिति पूर्णरुपमा शान्त भएपछि विस्तृत अनुसन्धान हुने उनले जनाए ।

काभ्रेमा टिपरका कारण सर्वसाधारणको मृत्यु हुने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेले टिपर चालकलाई ईश्वरका नाममा १० बुँदे सपथ गराएको थियो ।

बागमती टिपर व्यवसायी संघसँग आबद्ध ४० जना टिपर चालकलाई पुस अन्ति साता सपथ गराइएको हो । जसमा मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा उफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेशर हर्न नबजाउने, जथाभावी ओभरटेक तथा पार्किङ्ग नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने, अभोरलोड सामान नबोक्ने जस्ता विषयहरु समेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment