Comments Add Comment

किन हार्‍यो नेपाली क्रिकेट टिम ? हिरो आएन

२८ फागुन, काठमाडौं । गत हप्ता थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । किन नेपालले राम्रो खेल्न सकेन ?

त्यसोभए यसअघि चाहिँ नेपालले राम्रो खेलेको थियो ? होइन । त्यसो भए हो के ? किनभने यसअघि हरेक प्रतियोगितामा नेपाललाई उद्धार गर्ने एउटा न एउटा हिरो निस्कन्थ्यो । त्यही हिरोको चामत्कारिक प्रदर्शनले नतिजा नेपालको पक्षमा ल्याउँथ्यो ।

यो पटक विगतमा जस्तो कुनै हिरो आएन । त्यसैले नेपाली क्रिकेटको कमजोरी छताछुल्ल भयो ।

अहिले मात्र होइन, यसअघि पनि जतिबेला नेपाली राष्ट्रिय टोलीका कुनै एक सदस्य हिरोको अवतारमा आउँदैन, त्यसबेला नेपाली क्रिकेट यसरी नै एक्स्पोज हुने गरेको छ ।

विगत हेर्दा यस्तै देखिन्छ ।

थाइल्याण्ड जानुअघि घरेलु मैदानमै खेलेको नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजलाई नै हेरौं न ।

क्रिकेट विश्वकप लिग–२ को आफ्नो पहिलो सिरिज घरेलु मैदानमा खेल्न पाएको थियो, नेपालले । तर ओमानसँग दुबै खेल गुमायो भने अमेरिकालाई दुबै खेलमा हरायो ।

पहिलो खेलमा ओमानलाई १९७ रनमा रोकेर पनि नेपालले त्यो लक्ष्य भेट्टाउन सकेन । नेपालले सबै विकेट गुमाएर १७९ रन बनाउँदा सर्वाधिक ५५ रन शरद भेषावकरको नाममा रह्यो ।

दोस्रो खेलमा विनोद भण्डारीले ५९ र कुशल मल्लले ५० रन बनाउँदा अमेरिकालाई ४५ रनले हरायो, तर तेस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्लको ५६ रनको मद्दतमा ओमानलाई २५० रनको लक्ष्य दिए पनि त्यसलाई जोगाउन सकेन ।

अन्तिम खेलमा अमेरिकालाई ३५ रनमै अलआउट गरेको नेपालले त्यो लक्ष्य २ विकेट गुमाएर भेट्टायो ।

यो सिरिजमा नेपालको प्रदर्शन ठीकठीकै मात्र हो । किनकी ओमानलाई पहिलो खेलमा २०० भन्दा कम रनमा समेटेर पनि जित्न सकेन । ब्याटिङ चलेन । अर्को खेलमा ओमानविरुद्ध २४९ रन त बनायो तर बलिङ राम्रो नहुँदा जोगाउन सकेन । अर्थात बलिङमा चमात्कार देखाउन कोही हिरो आएन ।

युवा क्रिकेटर कुशल मल्लको विश्व कीर्तिमान र बलर सन्दीप लामिछानेको रेकर्डले सिरिजमा नेपालको समग्र कमजोरी छोपियो । १६ वर्षका कुशलले ओडीआई डेब्यूमै अमेरिकाविरुद्ध अर्धशतक हानेर विश्व कीर्तिमान बनाएका थिए भने अमेरिकालाई ३४ रनमा अलआउट गर्दा सन्दीप एक्लैले ६ विकेट लिएका थिए ।

सेप्टेम्बर २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा पनि नेपालको प्रदर्शन औसतमात्र हो भन्दा फरक पर्दैन ।

हङकङ र नेदरल्याण्डस्लाई हराएको नेपालले आयरल्याण्ड र ओमानसँग हार व्यहोरेको थियो । पहिलो खेलमा हङकङले दिएको १२६ रनको लक्ष्य भेट्टाउँदा विनोद भण्डारी एक्लैले ५६ रन बनाएका थिए । दोस्रो खेलमा नेदरल्याण्डस्लाई ४ विकेटले हरायो । एक त डच टिममा पहिलो रोजाईका केही खेलाडी थिएनन् भने अर्कोतिर करण केसीले अन्तिम ओभरमा १७ रन जोडेका थिए ।

त्यसपछि आयरल्याण्डलाई १३२ र ओमानसँग मात्र ६४ रनमा अलआउट भएको थियो । तर सिरिजमा नेपालको कमजोरी विनोद र करण केसीको प्रदर्शनले छोप्यो ।

ओमान जानुअघि नेपालले सिंगापुर र जिम्बाब्वेसँग त्रिकोणात्मक सिरिज खेलेको थियो । यो सिरिजमा नेपाल, जिम्बाब्वेसँग दुबै खेलमा पराजित भएको थियो । सिंगापुरसँगको एउटा खेल वर्षाका कारण रद्द भयो । अर्को खेलमा ९ विकेटको जित हात पार्दा पारस खड्का एक्लैले १०६ रनको इनिङ खेलेका थिए ।

पारसको यो शतकले त्रिकोणात्मक सिरिजमा नेपालको कमजोरीलाई ढाकछोप गर्‍यो ।

तर फिल्ममा जस्तो हरेक पटक संकट परेको बेला हिरो आउँछ र बचाउँछ भन्ने क्रिकेटमा सम्भव हुँदैन ।

थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी–२० मा भएको यही हो । नेपाललाई बचाउने हिरोको अवतारमा कुनै क्रिकेटर देखिएनन् र नेपालको कमजोरी छताछुल्ल भयो ।

एसीसी इस्टर्न रिजन क्रिकेट एसियाको सबैभन्दा तल्लो तहको प्रतिस्पर्धा भन्दा पनि हुन्छ । किनकी एसिया कपको प्रारम्भिक छनोट थियो यो । एसिया कप पुग्न अर्को प्रतियोगिता बाँकी नै थियो ।

नेपालको लक्ष्य इस्टर्न रिजनको उपाधि जितेर क्वालिफायर पुग्ने र, त्यसको शीर्ष टिम बनेर एसिया कप खेल्ने थियो । तर नेपाललाई शुरुमै झड्का लाग्यो । नेपालले केही गर्नै सकेन । उपाधि जित्न थाइल्याण्ड गएको नेपाल शीर्ष दुईमा समेत पर्न सकेन ।

ब्याटिङ खराब हुँदा नेपालले १५५ रनको लक्ष्य दुई पटक (मलेसिया र हङकङविरुद्ध) भेट्टाउन सकेन । निकै कमजोर थाइल्याण्डलाई हरायो तर अन्य नतिजाले साथ दिएन । अनि पानी परेर मैदान भिजेका कारण सिंगापुरविरुद्ध अन्तिम खेल भएन । र, पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भयो ।

मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल १३२ रनमा अलआउट भएको थियो । हङकङविरुद्ध पनि त्यति नै लक्ष्य पछ्याउँदा नेपाल १११ रनमै अलआउट भयो ।

यही दुई खेलले नै नेपालको कमजोरी उदाङ्गो पारिदियो । नेपालका दुई ब्याट्स–म्यानले मात्र व्यक्तिगत कूल ५० भन्दाबढी रन बनाए । कप्तान ज्ञानेन्द्रले दुई खेलमा गरेर ८४ रन बनाए भने तीन खेलमा ब्याटिङ गरेका युवा अलराउण्डर कुशल मल्लले ५५ रन जोडे । त्यसपछि पवन सर्राफले ४७ र दीपेन्द्र सिंह ऐरीले ४३ रन बनाए । बाँकी खेलाडीको रन सम्झनलायक रहेन ।

बलियो मानिएको बलिङ पनि चलेन । सिंगो प्रतियोगितामा सन्दीप लामिछानेले सर्वाधिक ६ विकेट लिए भने अभिनाश बोहरा र करण केसीले ४–४ विकेट लिए ।

थाइल्याण्ड टुरमा नेपाल प्रदर्शनबारे नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘एउटा टिमको रुपमा हामीले राम्रो गर्न सकेनौं । गएको एक वर्षदेखि एकाध खेलमा मात्र यस्तो भइरहेको थियो । यो पटक चाहिँ त्यो सबै एक्पोज भयो ।’

यस्तै भएको थियो जुलाई २०१९ मा भएको टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पनि ।

मलेसियामा भएको प्रतियोगितामा आयोजकसँगै नेपाल, सिंगापुर, कतार र कुवेत थिए । र, विजेताले अष्ट्रेलियामा २०२० मा हुने टी–२० विश्वकपको ग्लोबल क्लालिफायरमा स्थान बनाउने थियो । सबैले सोचेका थिए नेपाल विजेता बन्नेछ ।

तर नतिजा उल्टो आयो । सिंगापुर विजेता बन्दै ग्लोबल क्वालिफायरमा पुग्दा दुईमा जित र दुई खेलमा हार व्यहोरेको नेपालले तेस्रो स्थानमा चित्त बुझायो ।

पहिलो खेलमा कतारसँग ४ विकेटको हारेको नेपालले मलेसिया र कुवेतलाई हरायो । मलेसियालाई ८३ रनमा रोकेको नेपालले लक्ष्य भेट्टाउने क्रममा ज्ञानेन्द्र मल्लले ५१ रन हानेका थिए । यस्तै कुवेतले दिएको १४१ रनको लक्ष्य भेट्टाउँदा पारस खड्काले ६८ रन बनाएका थिए । तर निर्णायक खेलमा सिंगापुरले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल १०९ रनमै अलआउट भयो । ज्ञानेन्द्रको ३९ रन नै नेपाली इनिङ्सको सर्वाधिक रन थियो ।

तर कमजोरी केलाउनुको साटो एउटा एउटा खेलाडीलाई हिरोका रुपमा प्रस्तुत गरियो, त्यसमै रमाइरह्यो । कहिले करण केसी, कहिले पारस खड्का त कहिले विनोद भण्डारीलाई हिरोका रुपमा सेलिब्रेट गरिरह्यो, एउटा राम्रो क्रिकेट टिम बन्न कहाँ कमजोरी छ, कहाँ सुधार गर्नुपर्नेछ भन्नेतिर कसैले सोधीखोजी गरेन ।

त्यसकै परिणाम भन्न सकिन्छ, थाइल्याण्ड टुरमा यो पटक नेपालको कमजोरी उदाङ्गो भएको छ ।

टिममा पनि हिरोइजमको प्रभाव

क्रिकेट टिम गेम हो । त्यसमा पनि सन् २०१० मा डिभिजन–५ जितेसँगै एकपछि अर्को खुड्किलो चढेको नेपालका लागि टिमको प्रदर्शन मुख्य हुन्थ्यो । समर्थकलाई अरु केही मतलव थिएन, नेपालले जिते पुग्थ्यो ।

टिममा को अटायो, को बाहिरियो भन्ने खासै चासो हुन्थ्यो । सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दा पनि नेपालको टिम गेमको निकै तारिफ भएको थियो । त्यही टिम गेमको बलमा अफगानिस्तान र हङकङलाई हराएको थियो ।

तर अहिले समय फेरिएको छ । क्रिकेट क्रेज बढेको छ । नेपालको हार जित मात्र होइन, कुन खेलाडीले राम्रो खेल्यो, कुन खेलाडीले खराब खेल्यो भन्ने चर्चा हुन्छ । र, राम्रो गर्ने खेलाडीलाई हिरोका रुपमा प्रस्तुत गरिन्छ । त्यो पनि अन्यथा होइन । तर राष्ट्रिय टिममा रहेका खेलाडीहरुमा ‘हिरोइजम’को प्रभाव देखिनु सुखद नभएको राष्ट्रिय टिमका एक सदस्य बताउँछन् ।

उनी भन्छन्, ‘यसले राम्रो गर्दा के भने होला भन्ने चासो हुन्छ भने राम्रो गर्न नसक्दा अनावश्यक दवाव हुन्छ । खेलाडीहरुको प्राथमिकता टिम होइन, व्यक्तिगत प्रदर्शनमा हुन्छ ।’

क्रिकेट कल्चरको अभाव

जतिबेला पुवुदु दसानायके नेपाली टोलीको प्रशिक्षक थिए, त्यही बेला नेपाली क्रिकेटले फड्को मार्‍यो । यद्यपि नेपालमा क्रिकेटको जग बसाएको श्रेय रोय लुक डायसलाई जान्छ ।

सन् २०११ अगष्टमा नेपालको मुख्य प्रशिक्षक बनेका दसानायकेले नेपाली खेलाडीहरूको क्षमतालाई नजिकबाट नियाले । उनीहरूमा भएको प्रतिभालाई तिखार्न कोशिस गरे । त्यसका लागि उनले राष्ट्रिय टिम र बाहिर अवसर दिए । ‘क्रिकेट कल्चर’ भएका खेलाडीलाई रन नबनाउँदा वा विकेट नलिँदा पनि विश्वास गरिरहे । राष्ट्रिय टिम वा क्लोज क्याम्पमा अवसर दिइरहे ।

दसानायकेले नेपालको प्रशिक्षकबाट राजीनामा दिएको एक वर्षपछि २०१६ मा क्रिकेट संघ निलम्बनमा पर्‍यो । यसले लयमा हिँड्ने प्रयासमा रहेको नेपाली क्रिकेटलाई ठूलो झट्का लाग्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू त खेल्न दियो तर घरेलु प्रतियोगिता ठप्पजस्तै भयो ।

यदि नियमित क्रिकेट भएको भए ‘वेष्ट अफ दि वेष्ट’ खेलाडी टिममा पर्न सक्थे । टिम पनि राम्रो हुन्थ्यो । घरेलु संरचना नभएपछि उमेर समूहमा गरेको प्रदर्शन वा फ्रेन्चाइज लिगहरूमा गरेको प्रदर्शनलाई हेरेर राष्ट्रिय टिममा खेलाडी ल्याउने र फाल्ने क्रम बढ्यो ।

प्रशिक्षक जगत टमाटाले ब्याटिङ अडर चलाइरहे । पछिल्लो ८ महिना प्रशिक्षक रहेका उमेश पटवालले पनि त्यसलाई नै निरन्तरता दिए । यसो गर्दा कहिले रिजल्ट आयो त कहिले आएन ।

कतिपयको तर्क छ, त्यसो भए एकदिवसीय अन्तर्राष्ट्रिय टिमको मान्यता कसरी पायो त नेपालले ? मार्च २०१८ मा भएको विश्वकप छनोट प्रतियोगिताबाट नेपालले ओडीआई स्टाटस पाएको हो । तर विर्सन नहुने तथ्य के हो भने त्यतिबेला नेपालमा खेलेको ६ मध्ये जम्मा दुई खेले जितेको थियो ।

समूह चरणमा जिम्बाब्बे, स्कटल्याण्ड र अफगानिस्तानसँग हारेको नेपालले हङकङलाई पराजित गर्‍यो । ‘प्ले अफ’मा पुगेका टोलीमध्ये तीन टिम मात्र ओडीआई स्टाटसको दावेदार थिए । नेपालले पपुवा–न्यूगिनीलाई हराउँदा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालका लागि त्यो ऐतिहासिक उपलब्धी हासिल सम्भव भएको थियो ।

ओडीआई स्टाटस पाए नेपालले पछिल्ला वर्षहरुमा उत्कृष्ट क्रिकेट खेल्न सकिरहेको छैन । न, खेलाडीहरूको प्रदर्शनमा ‘कन्सिस्टेन्सी’ छ । बरु कहिले कुन खेलाडी त कहिले कुन खेलाडीको व्यक्तिगत प्रदर्शन राम्रो हुँदा टिमको कमजोरी छोपिएको थियो ।

यसको मुख्य जड घरेलु संरचना नै हो ।

पछिल्ला वर्षहरूमा ५० ओभरको पीएम कप राष्ट्रिय प्रतियोगिता भयो । तर राष्ट्रिय टिमका खेलाडीहरू प्राय विभागीय टिममा भएकाले प्रदेश टिमहरू कमजोर भए । अनि त्यही कमजोर टिमविरुद्ध शतक हान्ने वा विकेट लिने खेलाडीहरूलाई राष्ट्रिय टिममा समावेश गर्नुपर्ने बाध्यता वा दबाव छनोटकर्तामा आयो ।

राष्ट्रिय टीमका एक सिनियर खेलाडी भन्छन्, ‘राष्ट्रिय टिमले हरेक पटक जित्नैपर्ने प्रतियोगिता मात्र खेल्नु परेको छ । तर खेलाडी चाहिँ एकाध प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छानिनुपर्छ । त्यसैले यो खेलाडीले पो खेल्छ कि, त्यो खेलाडीले पो खेल्छ कि भनेर अवसर दिने गरिन्छ । यसले गर्दा राम्रो खेल्न नसक्ने मात्र होइन, नेपाली टिमको आफ्नो क्रिकेट कल्चर समेत हस्तान्तरण हुन पाएन ।’

यसले पनि पछिल्लो समय नयाँ खेलाडीहरुले टिमभन्दा व्यक्तिगत प्रदर्शनलाई महत्व दिएको हुनसक्ने उनको विश्लेषण छ । त्यसका लागि निरन्तर क्रिकेट खेल्ने र खेलाडीहरूमा क्रिकेट कल्चर स्थापित गर्नुपर्ने उनको जोड छ ।

यसका लागि काम गर्नुपर्ने नेपाल क्रिकेट एशोसिएसन (क्यान) हो । आईसीसीले केही समय पहिले झण्डै तीन वर्षको निलम्बन शर्तसहित फुकुवा पनि गरेको छ । तर निलम्बन फुकुवापछिका केही महिना हेर्दा क्यान कताकता रुमल्लिएको देखिन्छ । उसले अहिलेसम्म न त घरेलु क्रिकेट संरचनाको योजना बनाएको छ, न राष्ट्रिय टोलीको कार्ययोजना ।

जबकी राष्ट्रिय टिम पुस्तान्तरणको प्रक्रियामा छ । दशकभन्दा लामो समय क्रिकेट खेलेका शरद भेषावकर, बसन्त रेग्मी, पारस खड्का र ज्ञानेन्द्र मल्लहरू करियरको अन्तिमतिर छन् । पृथु बास्कोटाले कप्तानी गरेको यू–१९ टोलीका धेरै खेलाडी अहिले टिममा छैनन् । धेरै त क्रिकेटबाट टाढा भइसकेका छन् । र विनोद भण्डारी, सोमपाल कामीहरूको एउटा पुस्ता छ भने भर्खर यु–१९ कटेका वा खेल्दै गरेका अर्को पुस्ता पनि राष्ट्रिय टिममा आउने जाने क्रममा छ ।

त्यसैले २०२२ र २०२७ मा नेपाली क्रिकेटको लक्ष्य भेट्टाउने हो भने घरेलु संरचना बनाएर एक दिवसीय, दुई दिवसीय क्रिकेट निरन्तर खेल्ने अवसर सिर्जना गर्न ढिला गर्न हुन्न । ताकी खेलाडिले लामो समयसम्म आफूलाई परीक्षण गर्न, सुधार्न पाउन्, समग्र क्रिकेट कल्चरको विकास हुँदै जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment