News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय क्रिकेट बोर्डले गत महिना सम्पन्न एसिया कप फाइनलमा जितेको ट्रफी भारतलाई तत्काल हस्तान्तरण गर्न एसीसीसँग पुनः माग गरेको छ।
- बीसीसीआईका सचिव देवजीत सैकिनले एसीसीले माग नमानेमा नोभेम्बर ४ देखि ७ सम्म दुबईमा हुने आईसीसी बैठकमा विषय उठाउने बताए।
- पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोसिन नकभीले ट्रफी दुबईमै राख्न र भारतीय टिमलाई लिन पठाउन भनेका छन् तर भारतले ट्रफी नलिने अडान दोहोर्याएको छ।
५ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले गत महिना सम्पन्न एसिया कप फाइनलमा पाकिस्तानलाई हराउँदै जितेको ट्रफी भारतलाई तत्काल हस्तान्तरण गर्न एसियन क्रिकेट काउन्सिल (एसीसी) सँग पुनः माग गरेको छ।
बीसीसीआईले एसीसी अध्यक्षसमेत रहेका पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोसिन नकभीलाई पत्र लेख्दै भनेको छ, ‘भारतले सेप्टेम्बर २८ मा भएको फाइनलमा जितेको हुनाले ट्रफी भारतको हकमा छ।’
बीसीसीआईका सचिव देवजीत सैकिनका अनुसार एसीसीले उक्त माग नमानेमा भारतले उक्त विषयलाई आईसीसीको नोभेम्बर ४ देखि ७ सम्म दुबईमा हुने बैठकमा उठाउनेछ।
नकभीले ट्रफी हस्तान्तरण गर्नुपर्ने अडानबाट सुरु भएको यो विवादका कारण भारतले ट्रफी लिन मानेको थिएन । भारतीय टिमको यो निर्णय पहलगाम आतंकवादी आक्रमण र त्यसपछिको ‘अपरेशन सिन्दूर’ सँग सम्बन्धित तनावका कारण भएको बताइन्छ।
भारतीय कप्तान सुर्यकुमार यादवको टोलीले नकभीबाट ट्रफी लिन अस्वीकार गरेपछि उनले ट्रफीलाई दुबईस्थित एसीसी कार्यालयमै लक गरेर राख्न निर्देशन दिएका थिए। हालै, नकभीले पुनः भनाइ दोहोर्याउँदै भनेका छन्, ‘तपाईंहरूको कुनै खेलाडीलाई पठाउनुहोस् र दुबईमै आएर ट्रफी लिनुहोस्।’
तर भारतीय टिम अहिले अष्ट्रेलियामा श्रृंखलामा व्यस्त भएकाले नोभेम्बर ८ अघि फिर्ता हुने छैन। बीसीसीआई र भारतीय पक्ष दुवैले भने नकभीबाट ट्रफी नलिने अडान दोहोर्याएका छन्।
अब सबैको ध्यान नोभेम्बर ४ देखि ७ सम्म दुबईमा हुने आईसीसी बैठकतर्फ केन्द्रित छ, जहाँ यस विवादको समाधान खोजिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4