Comments Add Comment

दलालको दलदलमा नेकपा : विजय मिश्रको ‘केस स्टडी’

विजय मिश्रविरुद्ध ठगीको उजुरी, पृथ्वी सुब्बाको सोर्स !

३ चैत, काठमाडौं । सुरक्षण मुद्रण (छापाखाना) खरीदका लागि तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटासँग ७० करोड कमिसनको प्रस्ताव गरेर अडियो रेकर्ड गराउने विजय मिश्र को हुन् ? कमिसन प्रकरणपछि गुपचुप रहेका मिश्रबारे पर्याप्त सूचना बाहिर आइसकेका छैनन् ।

हामीले मिश्रको ‘ट्रयाक रेकर्ड’ पहिल्याउँदा उनको पहुँच नेकपाका उपल्ला नेताहरुसम्मै रहेको भेटियो । पूर्वएमालेका कार्यकर्ता रहेका लमजुङ निवासी मिश्र म्यानवापर दलालसमेत रहेको खुलासा भएको छ ।

कम्युनिस्ट नेताहरुलाई कसरी बिचौलियाले र्‍याइँर्‍याइँ घुमाइरहेका रहेछन् भन्ने थाहा पाउन विजय मिश्र प्रकरण एउटा बलियो सन्दर्भ सामाग्री हुन सक्छ । नेताको आड लिएर बिचौलियाले कसरी प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुलाई समेत आफू अनुकूल प्रयोग गर्दा रहेछन् भन्ने दृष्टान्त पनि यो प्रकरणले खुलासा गरिको छ ।

श्रम विभागमा भेटिएको रेकर्ड अनुसार विजय मिश्र पुराना म्यानपावर दलाल हुन् । उनीविरुद्ध पुराना उजुरीका फाइलहरु अहिले पनि श्रम कार्यालय र सरकारी वकिलको कार्यालयतिर घुमिरहेका छन् । गोकुल बास्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ गर्ने मिश्र लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ निवासी हुन् । हाल उनको घर टोखा नगरपालिका वडा नम्बर ८, बानियाँटार हाइटमा छ ।

गोकुल बास्कोटा र विजय मिश्रको अडियो प्रकरणलाई नेकपा नेताहरुले ढिसमिस पार्ने प्रयास गरिरहेका छन्

अञ्दाजी ५५ वर्षका मिश्रको विगत विवादास्पद मात्र छैन, उनीविरुद्ध सरकारी निकायमा ठगीको मुद्दासमेत विचाराधीन छ । तर, उनले राजनीतिक शक्तिका आडमा आफूविरुद्धको मुद्दालाई ढिसमिस बनाउँदै आएका छन् ।

उनीविरुद्ध लमजुङकै एक व्यक्तिले २९ लाख बिगोसहित श्रम कार्यालयमा ठगीको मुद्दा हालेका छन् । यो मुद्दा सरकारी वकिलको कार्यालयमा पुगेर थन्किएको छ । उनले यसवीचमा पुतली सडकमा कृष्ण पाउरोटी नजिकै पद्मश्री नामको कम्पनी खोलेर मानिसहरुलाई जापान पठाउने गर्थे । बिजनेश भिसा, टुरिस्ट भिसा र स्टुडेन्ट भिसामा मानिस विदेश पठाएर अलपत्र पारेपछि उनीविरुद्ध श्रम कार्यालयमा उजुरी परेको हो ।

मिश्रले केही समय भगवती बहालमा रेस्टुरेन्ट पनि चलाए । नक्सालमा ‘सेटेलाइट कार्यालय’ पनि खोले । सन् २००८ तिर ब्रोकर अफिस खोलेका थिए, तर झमेलामा परेपछि बन्द गरे ।

जापानमा मान्छे पठाउने व्यवसाय नफापे पनि मिश्रसँग अहिले लगानी बोर्डले दिएको एउटा चिठी छ, जुन चिठीकै आधारमा उनले नेकपाको दुईतिहाई सरकारका मन्त्रीलाई थर्काउने र पदच्युत गराइदिने हैसियत बनाएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्ड २०७३ साउन ३० मा प्रधानमन्त्री बने । प्रचण्डको मन्त्रिपरिषदमा कृष्णबहादुृर महरा उपप्रधान तथा अर्थमन्त्री भए । कानूनतः लगानी बोर्डको अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा अर्थमन्त्री रहने प्रावधान छ । यही प्रावधानअनुसार प्रचण्ड अध्यक्ष र महरा सहअध्यक्ष भएको लगानी बोर्डले म्यानवापर व्यवसायी मिश्रलाई सुरक्षण मुद्रण खरीद प्रकरणका लागि सम्भाव्यता अध्ययन गर्ने लिखित अनुमति दिएको हो । तर, प्रचण्ड सरकारका पालामा लिएको अनुमति अनुसार मिश्रले कुनै काम गरेनन् ।

श्रम कार्यालयमा ठगीको उजुरी, पृथ्वी सुब्बाको सोर्स !

जापानमा कामदार पठाइदिन्छु भनेर ठगी गरेको अभियोयो लागेका मिश्रले श्रम कार्यालयमा आफूविरुद्ध उजुरी गर्ने पीडितलाई नेकपाका ठूला नेताको बलमा थर्काएर तह लगाएको अर्को तथ्य भेटिएको छ ।

आफूलाई स्वीसस्थित केबीए–नोटासी कम्पनीको नेपाल प्रतिनिधि बताउनूपूर्व मिश्र जापानको टोकियोमा बस्थे । उनले त्यहाँ जापानी महिलासँग विवाह गरेका थिए । त्यसैक्रममा उनले नेपालबाट मानिसहरुलाई जापान लैजाने म्यानपावर सप्लायर्सको काम गरे ।

त्यही क्रममा आफ्नै जिल्लाबासी अर्थात्, लमजुङतिरका मानिसबाट रकम लिएर ठगी गरेको आरोपमा उनीविरुद्ध श्रम विभागमा उजुरी पर्‍याे । जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको उनीविरुद्धको मुद्दाको फायल अहिले हराएको छ । मिश्रबाट पीडित बनेका व्यक्ति अनलाइनखबरको सम्पर्कमा आएका छन् ।

यो पनि पढ्नुहोस १६ महिनाअघिको अडियो, जसले मन्त्री बास्कोटालाई राजीनामा गरायो

त्यसबेला जापानमा काम लगाइदिन्छु भनेर बिजनेस भिसामा मिश्रले मानिसहरु पठाउने धन्दा चलाइरहेका थिए । तर, त्यसरी जापान पठाइएका मानिसले काम पाएनन् । मिश्रले भिसा थपिदिन्छु भनेर थप पैसा उठाए । तर, काम गरिदिएनन् । त्यसपछि पीडित परिवारसँग मिश्रको विवाद भयो । उनले पीडितलाई सीडियोकहाँ लगेर थुन्छु भनेर धम्कीसमेत दिए । सिडियो कार्यालयले पीडितलाई झिकायो पनि । तर, पीडितलाई पीडकले थुन्न सक्ने आधार भएन ।

पीडितले श्रम कार्यालयमा मुद्दा दायर गरेपछि मिश्र केही समय फरार भए । उनलाई समात्नका लागि एयरपोर्टमा समेत प्रशासनले पत्राचार गरेको थियो । उनको घरमा पनि प्रहरीहरु पुगे । तर, त्यहीबेला अहिलेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तत्कालीन श्रम सचिव सुरेशमान श्रेष्ठलाई फोन गरेर मिश्र आफ्नो पार्टीको कामरेड भएको बताए ।

गुरुङको फोनपछि रोजगार विभागका कर्मचारीलाई तत्कालै सचिवकहाँ बोलाइयो र मिश्रलाई किन दुःख दिएको भनेर उल्टै कर्मचारीहरुलाई थर्काइयो । त्यसबेला मिश्रले आफूसित राम्रो चिनजान भएका एक जना जिल्ला न्यायाशीशलाई पनि प्रयोग गरेर मुद्दाबाट जोगिएको पीडितको गुनासो छ ।

यसरी नेकपाका नेताहरुको आडमा पीडितलाई न्यायबाट बञ्चित गराई बिचौलियाको भूमिका देखिरहेका म्यानवापर व्यवसायीले कसरी प्रचण्ड अध्यक्ष रहेको लगानी बोर्डबाट पत्र लेखाउने सफलता प्राप्त गरे ? लगानी बोर्डमा मिश्रको पहुँच के हो ? अनि तिनै व्यक्तिले कसरी सञ्चारमन्त्री बास्कोटाको च्याम्बरमा छिरेर ७० करोडको डिल गर्ने हैसियत बनाए ? यसबारेमा अहिलेसम्म न अख्तियार बोलेको छ, न त नेकपा नै ।

गोकुल बास्कोटा र विजय मिश्रको अडियो प्रकरणलाई नेकपा नेताहरुले त्यत्तिकै ढिसमिस पार्ने प्रयास गरिरहेका छन् ।

यो पनि पढ्नुहोस विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

त्यसो त प्रतिनिधिसभा अन्तरगतको लेखा समितिले पनि यिनै पूर्वम्यानपावर व्यवसायीलाई विज्ञका रुपमा छलफलमा बोलाएको चर्चा चलेको थियो । आखिर एकजना बिचौलिया कसरी लेखा समितिको विज्ञ भए ? यसबारेमा प्रश्न गर्दा समितिका सभापति भरत शाहले अनलाइनखबरसँग भने, ‘हामीले मिश्रलाई विज्ञका रुपमा बैठकमा बोलाएको हैन, उनले सरक्षण मुद्रण खरीदमा घोटाला हुन लागेको छ भनेर उजरी दिएको हुनाले त्यसबारेमा बुझ्न मात्रै बोलाएका छौं, उनलाई सुरक्षण मुद्रणका विज्ञ हामीले भनेकै छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment