१३ मंसिर, काठमाडौं । गत २–३ मंसिरको राष्ट्रिय कार्यकर्ता भेलालाई उपयोग गर्नेगरी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक र जनप्रतिनिधिहरुको भेला पनि राखेको थियो ।
सार्वजनिक सूचनाअनुसार ४ मंसिरमा जनप्रतिनिधिहरुको भेला गर्ने र ५ मंसिरमा केन्द्रीय बैठक बस्ने तालिका तय भएको थियो । तर तीन पटक समय सारेर ३ मंसिरको दिउँसो केही बेर केन्द्रीय कमिटी बैठक बस्यो ।
‘शुरुमा मंसिर ५ गते बस्ने भनेर सूचना आयो । फेरि ४ गते बस्ने भनेर सूचना सच्याइयो । भेला चल्दाचल्दै अर्को सूचना आयो आजै (३ गते दिउँसो) बैठक बस्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘पटकपटक समय सारेर बसेको बैठक पनि अध्यक्षले केहीबेर भाषण गरेर सकियो ।’
गत असोज पहिलो साता मात्रै तेस्रो केन्द्रीय कमिटी बैठक बसेकाले दुई महिनाभित्रै अर्को बैठक बोलाइएकोप्रति नेताहरू नै जिज्ञासू थिए । तर उनीहरूले एजेण्डा र कारण थाहै नपाइ चौथो केन्द्रीय कमिटी बैठक पनि सकियो ।
हठात केन्द्रीय कमिटी बैठक बोलाउनुको कारण पार्टीपंक्तिले थाहा नपाए पनि शीर्ष तह भने जानकार रहेको स्रोत बताउँछ । ती स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो गठन गर्ने प्रयोजनका निम्ति बैठक बोलाएका थिए ।
एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुको मतदानबाट पोलिटब्यूरो गठन र त्यसआधारमा स्थायी कमिटी बनाउने योजना थियो । ‘निश्चित मापदण्ड बमोजिम पोलिटब्यूरो, स्थायी कमिटी नबन्ने हो भने निर्वाचन गरियोस् भन्ने सुझाव केही नेताहरुले दिनुभएको थियो,’ उनी भन्छन्, ‘केन्द्रीय कमिटीमा बहुमत भएकाले आफू अनुकुल पोलिटब्यूरो बन्ने अध्यक्षको बुझाइ पनि होला ।’

तर केन्द्रीय कमिटी सदस्यहरुको चुनाव गराएर आफू अनुकुल पोलिटब्यूरो बनाउँदा सिनियर नेताहरु छुट्न नहुने अडान बरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राखेको ती पदाधिकारी बताउँछन् । ‘उहाँले (विद्या भण्डारी) बहुमतको तागतमा अर्को अन्यायपूर्ण निर्णय गरिनु राम्रो हुन्न भन्नुभयो,’ उनी भन्छन्, ‘यसपछि केन्द्रीय कमिटी बैठक लगभग कार्यसूचीविहीन बन्यो । अध्यक्षको सम्बोधन सुनेर नेताहरु फर्कनुभयो ।’
गत ८ असोजमा बरिष्ठ नेता मनोनीत भएसँगै पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा खुलेर सक्रिय हुँदा एमालेको निर्णयहरु फेरिन थालेको पछिल्लो उदाहरण हो– उक्त केन्द्रीय कमिटी बैठक ।
नेताहरुका अनुसार बरिष्ठ नेता भण्डारीले लिएको अडानले पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनीत, नेताहरुको कार्यविभाजन, विभागहरुको गठन जस्ता संगठनात्मक काम रोकिएको छ ।
अध्यक्ष ओली भने गत ५–८ असोजमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकपछि आफू अनुकुल पार्टी गतिविधि फटाफट बढाउने चाहनामा थिए । एमाले पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनलाई रोक्न सकेका ओलीले तेस्रो केन्द्रीय कमिटी बैठकलाई कटअफ लाइन नै भनेका थिए ।
‘आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने । केन्द्रीय कमिटीको चालु बैठकलाई कटअफ बैठक मान्ने,’ अपानि–३ जारी गरेरै भनिएको थियो, ‘अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्धमा सार्वजनिक रुपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने ।’
अर्थात् पार्टी पुनर्गठनको पक्षमा बोल्ने जो–कोही कारबाहीमा गर्न सक्ने चेतावनीयुक्त निर्णय सर्कुलर गरिएको थियो । उक्त बैठक बस्दासम्मको घटनाक्रम विश्लेषण गर्दा पनि ओलीले आफूअनुकुल एमाले चलाउन चेतावनीपूर्ण भाषामा कटअफ लाइन कोरेको बुझ्न गाह्रो पर्थेन ।
तर गत २१ फागुनको निर्वाचनपछि पार्टी पुनगर्ठनको बहस चलाउने नेताहरुलाई (उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण बिष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायत) पेलेर बढेका ओलीले बरिष्ठ नेता भण्डारीको अडान नाघ्न सकेको देखिदैन । राष्ट्रिय कार्यकर्ता भेलाका क्रममा भएका निर्णय र गतिविधिहरू हेर्दा पनि भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको सन्देश अडान सहित दिएकी छन् ।
भेलाको सम्बोधनमै पनि भण्डारीले ‘यथास्थिति एमाले रहन नसक्ने’ तर्क राखिन् । स्रोतका अनुसार पार्टीका गतिविधि र निर्णयहरुमा भण्डारीले समानान्तर चासो राखिरहेका छन् । बेलाबेला च्यासल जाने, नेताहरुसँग रिपोर्टिङ लिने, कार्यकर्ताहरुसँग भेटघाट गर्ने र उनीहरुको सुझाव सुन्ने जस्ता गतिविधि भण्डारीले गर्दै आएकी छन् ।
एमाले शीर्ष स्रोतका अनुसार ओलीले पनि भण्डारीसँग सम्वाद र सहमतिकै नीति लिएका छन् । आइतबार च्यासलमा बरिष्ठ नेता भण्डारीसँग भएको भेटवार्ता पनि पार्टी राजनीतिसँगै सम्बन्धित रहेको उनी बताउँछन् ।
‘पार्टीको अधिवेशनहरु, चुनावको तयारी लगायतबारे छलफल गर्न गुन्डुमै अध्यक्षले बोलाउनुभएको थियो । तर त्यसो नगरौं भनेर च्यासलमा भेटवार्ता भयो,’ ती स्रोत भन्छ ।
के गर्छन् शंकर ?
बरिष्ठ नेता भण्डारीको अडान सुन्ने र छलफल गर्न तयार देखिएका ओलीले महासचिव शंकर पोखरेलसँग भने दुरी बढाएका छन् । नेतृत्व पुनर्गठनको अभियान नछोडेपछि पोखरेललाई ओलीले भूमिकाविहीन बनाउनेदेखि सार्वजनिक चेतावनी दिनेसम्म गर्न बाँकी राखेका छैनन् ।
राष्ट्रिय कार्यकर्ता भेलाका क्रममा ओली र पोखरेलबीच बढेको दुरी प्रष्ट देखिएको थियो । पार्टी सचिव भानुभक्त ढकाललाई अगाडि सारेर गरिएको भेलामा पोखरेलले ओलीको चाहना बिपरीत पार्टी पुनर्गठनको एजेण्डा प्रस्तुत गरेका थिए भने आन्तरिक लोकतन्त्रप्रति चिन्ता गरेका थिए ।

‘कमिटीभित्र खुला छलफल, स्वस्थ्य बहस, आलोचना र आत्मलोचनाको संस्कृति कमजोर भएको छ । सुझाव वा आलोचनालाई व्यक्तिगत आक्षेपका रुपमा लिने प्रवृत्ति बढेको छ,’ पोखरेलले भनेका थिए, ‘यसले कार्यकर्तालाई कमिटीभित्र बोल्न असहज बनाएको छ र असन्तुष्टि सामाजिक सञ्जाल वा अनौपचारिक वृत्तमा अभिव्यक्त हुने गरेको छ ।’
जबकि ओलीले तेस्रो केन्द्रीय कमिटीलाई कटअफ लाइन मान्नुपर्ने प्रशंग राष्ट्रिय कार्यकर्ता भेलामा पनि सम्झाएका थिए । कारबाहीको चेतावनीका बाबजुद महासचिव पोखेल सहित पुनगर्ठन पक्षधर नेताहरुको अभिव्यक्ति नरोकिनुलाई एमाले पंक्तिमा पूर्वराष्ट्रपति भण्डारीको भूमिकासँग जोडेर हेर्ने गरिएको छ ।
‘फरक मत राख्ने नेताहरुमाथि केपी ओली कति निर्मम छन् भन्ने उदाहरण प्रशस्त भेट्न सकिन्छ,’ अर्का एक शीर्ष नेता भन्छन्, ‘तर अहिले विद्या भण्डारीले नचाहेसम्म पार्टी निर्णय गर्न सजिलो नरहेको कुरा पनि नेताहरुले बुझेको हुनुपर्छ ।’ एमाले पुनर्गठनको आवाज उठाउने नेतालाई कारबाही हुनुपर्छ भन्ने पक्षमा पूर्वराष्ट्रपति भण्डारी छैनन् ।
यस्तो शक्ति–संघर्षमा एमालेभित्र पूर्वराष्ट्रपति भण्डारी र महासचिव शंकर पोखरेल लगायत नेताहरुको सम्बन्धबारे जिज्ञासा हुनु स्वभाविक छ । भण्डारी निकट एक नेता पनि यो जिज्ञासा स्वभाविक मान्छन् ।
‘विद्या कमरेडलाई अगाडि बढाएर हामीले जेनजी आन्दोलनअघि नै केपी ओलीको विकल्प खोजेको हो,’ भण्डारी निकट एक नेता भन्छन्, ‘गत निर्वाचनपछि महासचिव कमरेड पनि त्यही लाइनमा आउनु भयो, यसर्थमा हाम्रो एजेण्डा मिलेको छ ।’

पार्टी सदस्यता नवीकरण नगरेर सक्रिय राजनीतिमा रोक लगाउँदा पनि ईश्वर पोखरेललाई अगाडि बढाएर एमाले यथास्थितिमा रहन नसक्ने सन्देश त्यसैबेला दिन खोजेको उनी बताउँछन् ।
‘पञ्चायतकालमै पाएको सदस्यता नवीकरण नहुने निर्णय लिएर केपी ओलीले राजनीतिक अपराध गर्नुभएको थियो,’ भण्डारी निकट ती नेता भन्छन्, ‘तर आफ्नो ठाउँमा ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएर पनि अडानमा प्रष्ट रहेको सन्देश दिनुभएको थियो । उहाँ (विद्या भण्डारी) अहिले पनि त्यो अडानमा हुनुहुन्छ ।’
विद्या भण्डारीलाई रोक्न ओलीले गत वर्ष महासचिव पोखरेल सहितकै नेताहरुको साथ लिएका थिए । अहिले ठीक उल्टो पोखरेलको आवाज दबाउन ओलीले भण्डारीसँग सम्वाद र सहकार्य गरिरहेका छन् ।
महासचिव पोखरेल निकट एक नेता भने पार्टीको अस्तित्व जोगाउन पनि पुनर्गठन पक्षधर एकताबद्ध रहनुपर्ने आवश्यकता देख्छन् । ‘पूर्वराष्ट्रपतिसँग पनि महासचिवले सम्वाद गरिरहनु भएको छ । पार्टीको बिरासत फर्काउन उहाँले साथ दिनु हुन्छ भन्ने विश्वास छ,’ उनी भन्छन् ।
प्रतिक्रिया 4