Comments Add Comment

साना दोकान बन्द गर्ने कि चलाउने ? सरकारले सूची सार्वजनिक गर्ने

८ चैत, काठमाडौं । नयाँबानेश्वरका कपडा÷किराना पसलेहरु शनिबार बिहान अलमलमा देखिए । सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने भनेको छ, अब हामीले के गर्ने ? पसलहरु बन्द गरेर १० गतेअघि नै गाउँतिर लाग्ने कि सटर खोलेर पसलमा बस्न पाइने ? व्यापारीहरु आपसमा यस्तै प्रश्नहरु गर्दै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारको सम्वोधनमा अत्यावश्यक सेवा बाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने भनिएपछि व्यवसायीहरु के बन्द गर्ने र के नगर्ने भन्ने अलमलमा परेका हुन् ।

कोरानाको त्रास बढेसँगै राजधानीका अधिकांश व्यापार व्यवसाय बन्द हुन थालिसकेका छन् । थोक विक्रेताहरुले बिक्री बन्द गर्न थालेको स्थिति छ । तथापि भाटभटेनी लगायतका सुपरमार्केटहरुमा भने  उपभोक्ताहरुको भिडभाड बढेको बढ्यै छ ।

कतिपय कपडा पसल र अन्य किराना पसलहरु  सुनसान बनेका छन् भने केहीमा दैनिक उपभोग्य सामानहरु किन्ने ग्राहक बढेका छन् । तर, सरकारले भनेअनुसार यी पसलहरु बन्द गर्नुपर्ने हो कि हैन भन्ने अन्योल साना व्यवसायीमा देखिएको छ ।

सरकारले अहिलेसम्म आफूहरुलाई स्पष्टरुपमा केही नभनेको साना व्यापारीहरु बताउँछन् ।

प्रधानमन्त्रीको सम्वोधनपछि धेरै कुराहरुको व्याख्या हुन बाँकी छ । जस्तो – लामो दुरीका सवारी साधन चल्न नदिने भनिएको छ, कतिसम्मको दुरीलाई लामो दुरी मान्ने र कतिलाई छोटो दुरी मान्ने ? त्यसैगरी मोटरसाइकलमा लामो दुरीको यात्रा गर्न पाउने कि नपाउने ?

सरकारले अत्यावश्यक सेवाहरु बन्द नहुने भनेको छ । यस अन्तरगत चामल, दाल, नुन, दूध आदि बेच्ने किराना पसलहरु खुल्न पाउने कि नपाउने ? तरकारी पसलहरु चल्ने कि नचल्ने ? अदालतका काम कारवाहीहरु बन्द भएजस्तै सरकारी कार्यालयहरु के हुने ?

सरकारले बजारमा आपूर्ति व्यवस्था सुचारु राख्ने पनि भनेको छ । त्यसो हो भने व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय बन्द गर्न मिल्छ कि मिल्दैन ? यी प्रश्नहरु व्यापारी र आम उपभोक्ताका साझा प्रश्न बनेका छन् ।


काठमाडौं उपत्यकाका मलहरु बन्द

काठमाडौंमा सञ्चालित सपिङ सेन्टर मलहरु बन्द हुने भएका छ । सरकारले अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गर्न निर्देशन दिएको भन्दै व्यवसायीहरुले मल बन्द गर्ने तयारी थालेका हुन् ।

सिभिल मल बन्द गराउने औपचारिक निर्णय नै भएको छ । सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले मल बन्द गराउने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।

सिभिल मल चैत ९ गतेदेखि २१ सम्म बन्द हुने उनले बताए । त्यसपछि भने सरकारले के-कस्तो निर्णय गर्छ, सोहीअनुसार हुने अध्यक्ष घिमिरेले बताए ।

‘सरकारले अत्यावश्यक बाहेक सबै बन्द गराउनु भनेको हो, सोही अनुसार हामीले निर्णय गर्‍यो’ उनले भने, ‘अब हाम्रो २१ गतेसम्म बन्द नै रहेन छ ।’

विशाल बजार भोलि आइतबारदेखि बन्द हुने भएको छ भने अन्य मल बन्द गराउनका लागि व्यवसायीहरु छलफलमा जुटेका छन् । विशाल बजारमा सञ्चालित ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ताले विशाल बजार बन्द गरिने जानकारी दिए ।

सरकारले दिएको निर्णयलाई पालना गर्दै बजार बन्द गरिने उनले बताए । उनका अनुसार विशालबजार आइतबारबाट बन्द हुने छ । ‘सरकारले दिएको निर्देशन हामीले पालना गर्नै पर्छ, आज शनिबार हाम्रो सधै नै बन्द हुने हा’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्षसमेत रहेका गुप्ताले भने, ‘हामी भोलि आइतबारदेखि पूर्णरुपमा बन्द गर्नेछौं ।’

यीसँगै आइतबारदेखि अन्य मलहरु पनि बन्द हुने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाले महासंघमा आवद्ध सबै मलहरु बन्द हुने जानकारी दिए । महासंघमा सिभिल मल, पिपुल्स मल, रञ्जना मल, काठमाडौं मल, विशाल बजार लगायत आवद्ध छन् ।

सरकारले दिएको निर्देशन सबैले पालना गर्नु पर्ने भन्दै उनले महासंघमा आवद्ध सबै संघहरुले निर्णय गराएर बन्द गर्ने जानकारी दिए । उनका अनुसार न्यूरोड तथा महावौद्धमा सञ्चालनमा रहेका अन्य होलसेल पसलहरु समेत बन्द गर्ने तयारी भइरहेको छ ।

अत्यावश्यकमा नपर्ने सबै पसलहरु बन्द गर्ने तयारी भइरहेको उनले बताए । आइतबार बिहानसम्म निर्णय भएर सबै बन्द गराउन सकिने अध्यक्ष कटुवालले जानकारी दिए ।

सरकारले आजै सूची सार्वजनिक गर्ने

यसैवीच सरकारले आज साँझसम्म यसबारेमा ठोस निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा अपरान्ह बस्ने उच्चस्तरीय समितिको बैठकले कुनकुन पेशा व्यवसाय खुल्ने र कुनकुन बन्द गर्नुपर्ने भन्नेबारे सूची सार्वजनिक गर्ने भएको छ । सरोकारवाला मन्त्रालयका सचिवहरुसमेतको छलफलबाट ठोस निर्णय गरिने सरकारले स्पष्ट पारेको छ ।

शनिबार अनलाइनखबरसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘आज बस्ने बैठकले यसबारेमा सूची नै तयार पारेर सार्वजनिक गर्नेछ, जसबाट अन्योल हट्छ ।

अत्यावश्यक सेवामा के–के पर्छन् भन्नेबारे राजपत्रमै स्पष्ट व्यवस्था रहेको मन्त्री ज्ञवालीले बताए । उनले थपे, ‘आजको बैठकले यसलाई अझ स्पष्ट पार्नेछ ।

यो पनि पढ्नुहोस यी हुन् अत्याश्यक सेवा, जुन बन्द हुने छैन !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment