Comments Add Comment

पोखराकी उपमेयरले गरिन् भाडा मिनाहा

९ चैत, पोखरा । कोरोना भाइरसको सन्त्रासले ब्यापार ठप्प भएपछि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरूङले चैत महिनाको भाडा मिनाहा गर्ने भएकी छन् । पोखरा वडा नम्वर ६ जरेबरमा उपमेयर गुरूङको जग्गामा रहेको रेस्टुरेन्टलाई चैत महिनाको भाडा मिनाहा गर्ने उपमेयरले घोषणा गरेकी हुन् ।

उपमेयर गुरूङले मासिक ६५ हजार रुपैयाँमा जग्गा भाडामा दिएकी छन् । ’संकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवता रहन्न ।

त्यसैले कम्तिमा १ महिनाको भाडा मिनाहा गरेर आफैंबाट सुरूवात गरेकी हुँ’ उपमेयर गुरूङले भनिन्, ’यो बेला सबै एक भएर कोरोनासँग लड्नेबेला हो । त्यसैले आआफ्नो ठाऊँबाट सहयोग र सहुलियत दिन आह्वान गर्दछु ।’

उता सरकारले अत्यावश्यकबाहेक अरूबेला घरबाट ननिस्कन निर्देशन जारी गरेपछि भाटभटेनी सुपरमार्केटबाहेक अरू बजार सुनसान बनेका छन् ।

खाद्यन्नको जोहो गर्न भाटभटेनीजस्ता सुपरमार्केटमा भीड लागेको छ । २५ जनाभन्दा बढी भीडभाड नगर्न सरकारले आग्रह गरेपनि भाटभटेनीमा सामान किन्नेको लर्काे लागेको छ । भाटभटेनी प्रवेशमा सेनिटाइजर प्रयोग तथा अन्य साबधानीसमेत अपनाइएको छैन । पोखराका होटल तथा रेस्टुरेन्ट ठप्पजस्तै छन् भने अरू ब्यापारमा पनि भारी गिरावट आएको छ ।

दोहोरी, क्बल, गजल, डिस्को, ठूला रेस्टुरेन्टहरू बन्द छन् भने होटल तथा रेस्टुरेन्ट पनि ठप्प हुन थालेपछि तरकारी तथा फलफूलको ब्यापार धेरै खस्किएको छ ।

’अहिले तरकारी तथा फलफूलको पनि ब्यापार शून्यजस्तै छ । होटल तथा रेस्टुरेन्टहरू बन्द हुन थालेपछि गोलभेडा लगायतका तरकारी कुहिने भयो । केही दिनअघिसम्म ठिकै थियो अहिले घाटामात्रै छ,’ फेवा एग्रिकल्चर चिप्लेढुंगामा तरकारी बिक्री गर्दै आएकी अस्मिता शर्माले भनिन्, ’सबैतिर डामाडोल छ, कसरी धान्ने कसरी ऋण तिर्ने, कसरी भाडा बुझाउनुजस्तो छ ।’

यसैगरी व्यवसायमा मन्दी आएपछि घरभाडामा विशेष छुट दिन बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराले पनि आग्रह गरेको छ ।

एसोसिएसनका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कम्तीमा एक महिनाको घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो ।

हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको बताउँदै न्युनतम एक महिनाको भाँडा छुट गरी व्यवसायीलाई राहात दिन पोखरा महानगरपालिका भित्रका घर बहाल लगाउने घर धनी तथा कम्पनीलाई अनुरोध गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठुलो समस्या परेको भन्दै हाल त्रैमासिक बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघको ठहर छ । बैंक ब्याज कम्तीमा ४५ दिन पछाडि तिर्न मिल्ने वातावरण बनाइदिन नेपाल सरकार तथा सम्वन्धित निकायलाई एसोसिएसनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment