Comments Add Comment

कोरोनाबारे तीन अफवाह, तपाई पनि झुक्किनुभयो कि ?

अमेरिकामा लुकेर नेपालबारे कुप्रचार, रामेछापका एक युवक समातिए

८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई जोडेर सामाजिक सञ्जालमा झूठा प्रचारहरु हुन थालेका छन् । यसक्रममा झूठो प्रचार गर्ने एक जनालाई शनिबार प्रहरीले समातेको छ ।

नेपालमा संक्रमण भित्रिन नदिन सरकारले शुक्रबार अन्तराष्ट्रिय हवाई उडानसँगै लामो दुरीको यात्रा र अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण मानिसहरुको आवत-जावतबाट फैलिने भएकाले सरकारले नेपालमा नभित्रियोस् भनेर यो घोषणा गरेको हो ।

तर, समाजिक सञ्जालहरुमा भने कोरोना संक्रमणबारे थुप्रै अफवाहहरु फैलिएका छन् । र, यस्ता अफवाहहरू म्यासेन्जर, भाइबर र हृवाट्सएपका ग्रुपबाट भाइरल बनेका छन् ।

अफवाह एक : नर्भिक हस्पिटलमा ६ जनालाई कोरोना देखियो । महामारी फैलिसकेको छ नेपालमा ।

अफवाह दुई : राति १२ बजे विशेष सैन्य हेलिकोप्टरले कोरोना भाइरसविरुद्ध औषधि छर्किँदैछ, बाहिर नबस्नुस् ।

अफवाह तीन : टेकु अस्पतालमा प्लास्टिकले बेरेका ५ वटा शव देखेँ । १७ वटा पशुपतिमा जलाइयो ।

माथि भनिएका कुनै पनि दाबी सत्य होइनन् ।

संक्रमण देखिएको भनेर अफवाह फैलाइएपछि शनिबार दिउँसो नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अहिलेसम्म कुनै पनि बिरामीमा संक्रमण नदेखिएको प्रष्ट पारेको छ ।

साथै, कोरोना संक्रमण भए नभएको जाँच गर्ने एउटा मात्र निकाय हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु । यो बाहेक अरु कुनै पनि ल्याब वा अस्पताललाई कोरोना संक्रमण भए/नभएको जाँच गर्ने अनुमति नै पाएका छैनन् ।

झुटो प्रचार गरेको अभियोगमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको छ ।

मध्यरातमा नेपाली सेनाको हेलिकप्टरले औषधि छर्किँदैछ भन्ने प्रचार पनि अफवाह नै हो । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानराज पाण्डेले यसको खण्डन गरेका छन् । सेनाले विज्ञप्ति जारी गर्दै झुटो प्रचारमा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ ।

साथै कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लागेको पनि छैन ।

यस्तै टेकु अस्पतालमा कोरोनाका कारण मृत्यु भएको दाबी पनि अफवाह भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसरी अफवाह फैलाउने व्यक्ति हाल अमेरिकाको टेक्कसमा भएको पाइएको छ । र, उनको त्यो पोष्ट हटाउन सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पत्राचारसमेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment