+
+
Shares

जन्तरमन्तरको प्रदर्शनमा ‘शेरनी’ भनेर चिनिएकी नेहा बोरा को हुन् ?

भारतकी ‘शेरनी’ को लागि अब अगाडि के छ? पक्का भन्न सकिँदैन। तर अहिलेका लागि नेहा बोरा भारतका जेनजी प्रदर्शनहरूको एक सच्चा प्रतीक बनेकी छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँदिल्लीमा विशेष गहन पुनरीक्षणमा अनियमितताको आरोपसहित प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै व्यापक प्रदर्शन र हिरासतमा लिइएका छन्।
  • अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी २९ वर्षीया राष्ट्रिय अध्यक्ष नेहा बोरा प्रदर्शनको अग्रमोर्चामा रहेर प्रहरीले तान्दा पनि भाग्दै देखिएकी छन्।
  • नेहा बोरा सन् २०१८ देखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै जन्तरमन्तरको २३ दिने भोक हडतालपछि राष्ट्रिय चर्चामा आएकी थिइन्।

२९ असोज, काठमाडौं । भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागलाई लिएर नयाँदिल्लीमा व्यापक प्रदर्शनहरू भए। विशेष गहन पुनरीक्षण (एसआईआर) अभ्यासमा भएको भनिएको अनियमिततालाई लिएर प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरिएको थियो।

यी प्रदर्शनहरूका बीच एक महिलाले सबैको ध्यान खिचिन्। उनलाई प्रहरी अधिकारीहरूबाट उम्किँदै दौडेको  देखियो। उनी अन्य प्रदर्शनकारीहरूसँगै मार्च गरिरहेकी थिइन्। उनलाई समातेर प्रहरीको बसमा हालिएको थियो। यी महिला अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की २९ वर्षीया राष्ट्रिय अध्यक्ष नेहा बोरा हुन्।

आज सामाजिक सञ्जालमा उनका हजारौँ रिल्सहरू भाइरल भइरहेका छन्। धेरैले उनलाई ‘शेरनी’ भनेर वर्णन गरेका छन्।

नेहा बोरा: सडक नाटक कलाकार

नेहाको जन्म उत्तराखण्डको खतिमामा भएको थियो। बुबा भारतीय सेनामा कार्यरत भएकाले उनी बुबाको सरुवासँगै धेरै ठाउँमा सरिरहिन्। उनले कक्षा १०, ११ र १२ को पढाइ बङ्गालमा पूरा गरिन्। उक्त समयले आफ्नो राजनीतिक दृष्टिकोण बनाएको उनको दाबी छ। त्यसै समयमा उनले चारु मजुमदार, पाब्लो नेरुदा र अरुन्धती रोयका लेखहरू पढिन्।

पछि दे/दम सर्वनाम प्रयोग गर्ने नेहाले दिल्ली विश्वविद्यालयबाट स्नातक गरिन्। त्यसपछि राजधानीको अम्बेडकर विश्वविद्यालयबाट स्नातकोत्तर गरिन्। उनको स्नातकोत्तरको अध्ययन पर्फर्मेन्स स्टडिजमा केन्द्रित थियो। पछि उनी थियेटरमा पीएचडी गर्न जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को स्कुल अफ आर्ट्स एन्ड एस्थेटिक्समा भर्ना भइन्।

जेएनयूमा उनले विद्यार्थी राजनीतिमा आफूलाई अझ धेरै संलग्न गराइन्। उनी कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) लिबरेसनसँग सम्बद्ध वामपन्थी विद्यार्थी सङ्गठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आईसा) मा आवद्ध भइन्। आज उनी आईसाको अध्यक्षको रूपमा कार्यरत छिन्।

आफ्नो सक्रियता र अध्ययनका अलावा नेहा दिल्लीको सडक नाटक समूह ‘सङवारी’ को पनि हिस्सा हुन्। यस समूहले आफूलाई आफ्नो जीवनभन्दा फरक जीवन जिउन सिकाएको उनी दाबी गर्छिन्।

‘वास्तविक जीवनमा भेट्दा तपाईं असहमत हुने वा मन नपराउने कुनै पात्र हुनसक्छ। तर थियटर गर्नु भनेको त्यो मानिस कहाँबाट आएको हो भनेर बुझ्नु हो,’ उनले रोयटर्सलाई भनेकी छिन्।

नेहा कसरी घरघरमा चिनिइन्

नेहा सन् २०१८ देखि नै क्याम्पसका आन्दोलनहरूमा संलग्न थिइन्। तर उनी निट पेपर लिकलाई लिएर शिक्षा मन्त्रालयविरुद्ध जन्तरमन्तरमा भएको जुलाइको प्रदर्शनका क्रममा पहिलो पटक राष्ट्रिय चर्चामा आइन्।

आ२साका सहकर्मी नेताहरू मनिष कुमार र आमिन अमितोजसँगै उनलेले जन्तरमन्तरमा भोक हडताल गरिन्। अभियन्ता सोनाम वाङचुक पनि सहभागी भएपछि यो भोक हडताल लोकप्रिय बनेको थियो। नेहा र उनका दुई आईसा सहकर्मीले २३ दिनसम्म आफ्नो भोक हडताल जारी राखे। सांसदहरू, अभियन्ताहरू र सार्वजनिक व्यक्तित्वहरू सम्मिलित टोलीको अपिलपछि उनीहरूले जुलाई २० मा हडताल समाप्त गरे।

भोक हडतालका क्रममा उनको ८ किलो तौल घट्यो। तर कमजोर शरीरका बाबजुद मनोबल दृढ नै  रह्यो।

प्रदर्शनको परिणामस्वरूप शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आयो। त्यसपछि उनले आफूलाई जेनजी नेताको रूपमा स्थापित गरिन्। उनी कंग्रेस नेता राहुल गान्धीसँगै पनि देखिइन्।

दिल्लीको जन्तरमन्तर प्रदर्शनपछि नेहा झारखण्डमा प्रतिस्पर्धी परीक्षाहरूमा भएको भनिएको अनियमितताको विरोधमा भएको विद्यार्थी प्रदर्शनमा पनि सक्रिय रूपमा सहभागी भइन्।

७ अगस्टमा झारखण्ड विधानसभा नजिकै भएको प्रदर्शनका क्रममा उनीमाथि मसी फ्याँकियो। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गर्‍यो। तर नेहालाई यो आक्रमणले रोकेन।

‘देशभर उठिरहेको विद्यार्थी र युवाहरूको आक्रोशलाई मसीले शान्त पार्न सकिन्छ भन्ने ठानेकाहरूलाई खुला चुनौती छ,’ उनले भनेकी छिन्।

नेहा आफ्ना प्रखर भाषण र टिप्पणीहरूका लागि पनि प्रसिद्ध छिन्। सेप्टेम्बरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे गरेको टिप्पणीका लागि उनले प्रहरी उजुरीको सामना पनि गरिन्। आईसा अध्यक्षले मुख्यमन्त्रीका लागि ‘गुन्डा’ र ‘दङ्गाइ’ जस्ता शब्द प्रयोग गरेको उजुरीमा आरोप लगाइएको थियो। उनले आदित्यनाथले उत्तर प्रदेशलाई ‘कानुनविहीन’ राज्यमा परिणत गरेको पनि बताएकी थिइन्।

तर, नेहा विचलित भइनन्। उनी सरकारविरुद्ध आवाज उठाइरहन्छिन्। आफूभन्दा पूरै विपरीत राजनीतिक विचारधारा भएकाहरूसँग सामना गर्ने क्षमताको श्रेय उनी आफ्नो घरलाई दिन्छिन्।

‘म वामपन्थी राजनीतिमा जोडिएकाले बुबाले मसित वर्षौँदेखि कुरा गर्नुभएको छैन,’ उनले द स्ट्रेट्स टाइम्सलाई भनेकी छन्, ‘हालैका महिनाहरूमा मेरी आमा सरकारप्रतिको आफ्नो हठी समर्थनबाट पछि हट्नुभएको छ। उहाँ सरकारको प्रचारमा रहेका कमजोरीहरू देख्न सक्षम हुनुहुन्छ।’

‘हामीले (वामपन्थीका रूपमा) किन सरकारको नकारात्मक पक्ष मात्र देख्छौँ भनेर उहाँ अझै पनि कहिलेकाहीँ प्रश्न गर्नुहुन्छ। म उहाँसँग संवाद गर्ने प्रयास गर्छु। विस्तारै उहाँको सोच बदलिरहेको छ भन्ने आशा गर्छु।’

ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा नेहाको सहभागिता

एसआईआर अभ्यासमा अनियमितता भएको खबर आएदेखि आईसा अध्यक्षले सीईसी ज्ञानेश कुमारविरुद्ध पनि आवाज उठाइरहेकी छन्।

उनी प्रमुख निर्वाचन आयुक्तविरुद्धको निरन्तरको प्रदर्शनमा सहभागी छिन्। उनलाई ब्यारिकेडहरू नाघेको र प्रहरीले तानेको देखिन्छ।

बुधबारअघि ‘ज्ञानेश, इट्ज डन, ब्रो!’ पोस्टर बोकेर नेहाले अन्य धेरै विद्यार्थी र नागरिक समाज सङ्गठनहरूसँगै अक्टोबर १० मा जन्तरमन्तरमा प्रदर्शनको आह्वान गरेकी थिइन्।

प्रेस क्लब अफ इन्डियामा बोल्दै २९ वर्षीया नेहा प्रायः ओभरसाइज्ड टी-सर्ट वा साधारण सुती टप्समा देखिन्छिन्।

उनले भनेकी छन्, ‘हामी देख्छौँ कि, जब देशका आम नागरिकको अधिकार हनन भइरहेको हुन्छ, त्यो प्रक्रियामा साँच्चै जनताका प्रतिनिधि रहेका जनप्रतिनिधिहरू सडकमा उत्रिन्छन्। हामी देख्छौँ, प्रतिपक्षको नेता र विभिन्न इन्डिया गठबन्धनका दलहरू लोकतन्त्रको रक्षा गर्न सडकमा उत्रिन्छन्। उनीहरूले साबित गर्छन्- लोकतन्त्र बचाउने यो लडाइँमा सबै विपक्षी दल र यो देशका आम जनता हामी सबै एक ठाउँमा छौँ। अर्कोतर्फ केवल ईसीआई र बिजेपी मात्र छन्।’

शनिबार मुख्य दिन आउँदा नेहा प्रदर्शनको अगाडि थिइन्। प्रसिद्ध एनिमे ‘वान पिस’ को चित्र भएको रातो टी-सर्ट लगाएकी उनी जन्तरमन्तरमा जम्मा भएका धेरै प्रदर्शनकारीहरूसँगै हिरासतमा पुगेकी थिइन्।

उनलाई आइतबार पनि हिरासतमा लिइयो। तर उनले प्रहरीलाई राम्रै कुदाएकी थिइन्। नेहाले आइतबार आरके आश्रम मेट्रो स्टेसनमा प्रदर्शनको आह्वान गरेकी थिइन्। चाँडै प्रहरी त्यहाँ जम्मा भयो र प्रदर्शनकारीहरूलाई हिरासतमा लियो।

तर, समातिएकाहरूमा नेहा थिइनन्। प्रहरीले पिछा गर्दा उनी कनाट प्लेसमा आईसा समर्थकहरूसँगै दौडिरहेकी देखिइन्। अन्ततः उनलाई विजय चोकमा हिरासतमा लिइयो।

द टेलिग्राफलाई बोराले भनेकी छन्, ‘म प्रोफेसनल धावक होइन। तर ज्ञानेश कुमारको राजीनामा पछाडि कुद्दा म धावक बनेकी छु।’

हिरासतमा लिइएपछि उनले अर्को भिडियो पोस्ट गरिन्। ‘यो बसमा चार वटा ‘सेल’ छन्। यहाँ सास फेर्ने ठाउँ पनि छैन… के हिरासत बसहरूलाई जेल बनाइँदै छ?,’ उनले भनेकी छिन्। उनले अधिकारीहरूमाथि ‘आम जनताविरुद्ध युद्ध छेडेको’ आरोप लगाएकी छन्।

‘तपाईं ज्ञानेश कुमारलाई जोगाउन चाहनुभएकै कारण किन यति धेरै हिंसा?,’ प्रमुख निर्वाचन आयुक्तको राजीनामाको माग दोहोर्‍याउँदै उनले सोधेकी छिन्। भारतकी ‘शेरनी’ को लागि अब अगाडि के छ? पक्का भन्न सकिँदैन। तर अहिलेका लागि नेहा बोरा भारतका जेनजी प्रदर्शनहरूको एक सच्चा प्रतीक बनेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?