Comments Add Comment

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द

७ चैत, काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बताए ।

सरकार चालेका कदमहरू यस्ता छन् –

· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ ।

· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

· मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

(प्रधानमन्त्रीकाे सम्वाेधनबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment