News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि मिटरब्याज, सट्टेबाजी, सहकारी बचत अपचलन, घरेलु हिंसा र साइबर बुलिङमा संलग्न नभएको स्वघोषणा अनिवार्य गरेको छ।
- रूपरेखा २०८३ अनुसार उम्मेदवारले स्थानीय ठेक्कापट्टा वा अन्य व्यवसायमा प्रत्यक्ष संलग्न नभएको र स्वार्थ बाझिने अवस्था नरहेको लिखित स्वघोषणा पनि पेस गर्नुपर्नेछ।
- झुटो विवरण पेस गरेको पाइएमा उम्मेदवारी रद्द हुने र पार्टी सदस्यता खारेज हुने व्यवस्था रूपरेखामा समेटिएको छ।
२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिहरूको नैतिक आचरण र विगतलाई लिएर कडा सर्तहरू अघि सारेको छ।
पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार आकांक्षीहरूले कानुनी योग्यताका अतिरिक्त आफ्नो वित्तीय तथा नैतिक आचरणबारे अनिवार्य रूपमा कडा स्वघोषणा पेस गर्नुपर्नेछ।
रूपरेखामा व्यवस्था गरिएअनुसार कुनै पनि व्यक्ति उम्मेदवार बन्नका लागि आफू मिटरब्याज, सट्टेबाजी, सहकारी बचत अपचलन, घरेलु हिंसा र साइबर बुलिङ जस्ता कुनै पनि गैरकानुनी तथा अनैतिक गतिविधिमा संलग्न नभएको प्रमाणित गर्नुपर्नेछ।
यसका साथै, स्थानीय तहका ठेक्कापट्टा वा अन्य व्यवसायमा प्रत्यक्ष संलग्न भई स्वार्थ बाझिने अवस्था नरहेको स्पष्ट लिखित स्वघोषणासमेत बुझाउनुपर्नेछ।
सुशासन र पारदर्शिताको नारा दिँदै आएको रास्वपाले उम्मेदवारको पृष्ठभूमि सफा राख्न यो नीति ल्याएको हो। यदि कुनै आकांक्षी वा उम्मेदवारले झुटो विवरण पेस गरी स्वघोषणा गरेको पाइएमा जुनसुकै बेला उसको उम्मेदवारी रद्द गरिनेछ।
यति मात्र नभई, पार्टीलाई गुमराहमा राखेर झुटो विवरण दिने त्यस्ता व्यक्तिको पार्टी सदस्यतासमेत खारेज हुने कडा दण्डको व्यवस्था रूपरेखामा समेटिएको छ।
प्रतिक्रिया 4