+
+
Shares

रास्वपामा उम्मेदवार बन्न लिडरसिप एकेडेमीको परीक्षा अनिवार्य, २५ प्रतिशत अंकभार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न लिडरसिप एकेडेमीको तालिम र परीक्षा उत्तीर्ण गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ।
  • पार्टीको उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार एकेडेमीको परीक्षालाई २५ प्रतिशत भाराङ्क दिइनेछ र अनुत्तीर्ण हुनेहरू प्रतिस्पर्धाबाट बाहिरिनेछन्।
  • रास्वपाले वडा सदस्यदेखि पालिका प्रमुखसम्मका आकांक्षीलाई सुशासन, कानून, प्रविधि र विकाससम्बन्धी १० विषयमा प्रशिक्षण दिनेछ।

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहने आकांक्षीहरूका लागि परीक्षा दिएर पास हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ।

पार्टीले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार लिडरसिप एकेडेमीको तालिम तथा परीक्षा उत्तीर्ण नगर्ने व्यक्ति उम्मेदवार बन्न पाउने छैनन्।

उम्मेदवार छनोटको कुल १०० प्रतिशत मूल्याङ्कनमा लिडरसिप एकेडेमीको परीक्षालाई २५ प्रतिशत अंकभार (भाराङ्क) तोकिएको छ। क्यान्डिडेट क्लबमार्फत आवेदन दिएका आकांक्षीहरूका लागि यो पहिलो र निर्णायक परीक्षण हुनेछ।

एकेडेमीको परीक्षामा तोकिएको न्यूनतम मापदण्ड पार गरी उत्तीर्ण हुनेहरू मात्र उम्मेदवार छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछन् भने अनुत्तीर्ण हुनेहरू स्वतः प्रतिस्पर्धाबाट बाहिरिनेछन्।

एकेडेमीअन्तर्गत वडा सदस्यदेखि पालिका प्रमुखसम्मका आकांक्षीहरूलाई स्थानीय सुशासन, कानुन, प्रविधि र विकासका आधारभूत १० वटा साझा विषयगत मोड्युलमा प्रशिक्षित गराइनेछ। जसमा पार्टीको राजनीतिक दर्शन, संविधान तथा सङ्घीयता, स्थानीय सरकार सञ्चालन ऐन, सार्वजनिक वित्त, डिजिटल साक्षरता तथा ई-गभर्नेन्स, स्थानीय आर्थिक विकास, शिक्षा–स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, खुला सरकार र चुनावी अभियान व्यवस्थापन समावेश छन्।

साझा प्रशिक्षणपछि पदअनुसारको विशिष्टीकृत कार्यशालासमेत सञ्चालन गरिनेछ। वडाध्यक्ष तथा वडा सदस्यका लागि पञ्जीकरण, योजना तर्जुमा र मेलमिलापसम्बन्धी अभिमुखीकरण दिइनेछ भने प्रमुख र उपप्रमुखका लागि न्यायिक समिति, राजस्व परामर्श, बजेट तर्जुमा र कार्यकारी नेतृत्व क्षमतामा आधारित व्यावहारिक तालिम दिइने रास्वपा दस्तावेजमा उल्लेख छ ।

एकेडेमीको परीक्षणमा आकांक्षीहरूले प्राप्त गरेको अंक उत्तीर्ण वा अनुत्तीर्णमा मात्र सीमित नभई अन्तिम उम्मेदवार छनोटको कुल समष्टिगत प्राप्ताङ्कसम्म प्रत्यक्ष रूपमा ‘क्यारी फरवार्ड’ (जोडिने) हुनेछ।

नेताको चाप र चाकडीका आधारमा नभई जनप्रतिनिधि बन्न न्यूनतम अध्ययन, क्षमता र योग्यता हुनुपर्छ भन्ने स्थापित गर्न यो व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?