२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एउटै व्यक्तिले पटक-पटक अवसर पाउने र टिकट ओगट्ने प्रवृत्तिको अन्त्य गर्दै आगामी स्थानीय तहको निर्वाचनमा संघीय सांसद र उम्मेदवारहरूलाई उम्मेदवार बन्न रोक लगाएको छ।
पार्टीले जारी गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ मार्फत दोहोरो पद र अवसरलाई निरुत्साहित गर्न यस्तो कडा व्यवस्था गरिएको हो।
रूपरेखाअनुसार २०८२ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ टिकट पाएर पराजित भएका उम्मेदवार, समानुपातिक बन्दसूचीमा नाम रहेका व्यक्तिहरू र हाल बहालवाला संघीय सांसदहरूले स्थानीय तहको कुनै पनि पदमा आवेदन दिन पाउने छैनन्।
नेपालका पुराना राजनीतिक दलहरूमा संघीय चुनाव हारेका नेताहरू फेरि स्थानीय चुनावमा वा स्थानीय चुनाव हारेकाहरू लगत्तै संघीय चुनावमा उठ्ने परिपाटी व्याप्त रहेका बेला रास्वपाको यो नीतिले त्यस्तो प्रवृत्तिलाई ब्रेक लगाउने देखिएको छ।
यद्यपि, पार्टीभित्रका अन्य नेता-कार्यकर्तालाई भने स्थानीय चुनाव लड्न बन्देज छैन। २०८२ को संघीय निर्वाचनमा टिकट नपाएका वा समानुपातिकको बन्दसूचीमा नरहेका नेताहरूले भने स्थानीय तहको प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गर्न पाउने व्यवस्था रूपरेखामा गरिएको छ।
प्रतिक्रिया 4