News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा आन्तरिक धाँधली रोक्न डिजिटल प्रविधिमा आधारित ब्लाइन्ड भोटिङ अवधारणा अघि सारेको छ।
- रूपरेखाअनुसार प्राइमरी इलेक्सनअघि आकांक्षीहरूको प्रारम्भिक अङ्क सर्भरमा डिजिटल लक गरिनेछ र मतदानपछि मात्र एकीकृत स्कोरकार्ड सार्वजनिक गरिनेछ।
- रास्वपाले आर्थिक लेनदेन, गुटबन्दी वा दुष्प्रचार प्रमाणित भए उम्मेदवारी खारेज गर्ने र गम्भीर अनुशासनहीनतामा सदस्यता नै खारेज गर्ने आचारसंहिता लागू गरेको छ।
२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटमा आन्तरिक धाँधली र अनुचित प्रभाव रोक्न डिजिटल प्रविधिमा आधारित ‘ब्लाइन्ड भोटिङ’ को अवधारणा अघि सारेको छ।
स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) मा मतदातालाई प्रभावित हुन नदिन उम्मेदवारहरूको प्रारम्भिक अङ्क गोप्य राखिनेछ।
रूपरेखाअनुसार मतदान हुनुअघि आकांक्षीहरूले लिडरसिप एकेडेमी, राजनीतिक सामीप्यता र समावेशिताबापत प्राप्त गरेको अङ्क सर्भरमा ‘डिजिटल लक’ गरेर राखिनेछ।
प्राइमरी इलेक्सन अघि नै कसको अङ्क कति छ भन्ने सार्वजनिक गर्दा धेरै अङ्क ल्याउनेको पक्षमा माहोल बन्न सक्ने वा कम ल्याउनेप्रति पूर्वाग्रह राख्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको हो।
सम्पूर्ण मतदान प्रक्रिया सकिएपछि मात्र सबै अङ्कहरू जोडेर एकीकृत स्कोरकार्ड (नतिजा) सार्वजनिक गरिने उम्मेदवार छनोट रुपरेखामा उल्लेख छ ।
यसका साथै, रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र भयरहित बनाउन कडा आचारसंहिता पनि लागू गरेको छ। निर्वाचनका क्रममा कुनै पनि प्रकारको आर्थिक लेनदेन गरेमा, गुटबन्दी खडा गरेमा वा आफ्ना प्रतिस्पर्धीविरुद्ध दुष्प्रचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिको उम्मेदवारी तत्काल खारेज गरिनेछ।
यति मात्र नभई, गम्भीर अनुशासनहीनताको हकमा पार्टी सदस्यता नै खारेज गर्नेसम्मको कडा दण्ड सजायको व्यवस्था रूपरेखामा समेटिएको छ।
प्रतिक्रिया 4