+
+
Shares

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद सुनार

अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद सुनार केही पहिले प्रहरी हिरासत पुगेको समेत भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला हिंसासम्बन्धी अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनारमाथि पार्टीले आन्तरिक छानबिन अघि बढाएको छ र सार्वजनिक कार्यक्रममा बोल्न रोक लगाएको छ।
  • प्रहरीका अनुसार अडियोबारे हालसम्म कुनै उजुरी परेको छैन, तर सुनारमाथि विगतमा पनि कुटपिट, धम्की र मुद्दासम्बन्धी विवादहरू रहेका छन्।
  • सुनारले भिडियोमार्फत छानबिनमा सघाउने, आवश्यक परे निलम्बन स्वीकार्ने र अडियो आफ्नो नभएको दाबी गर्दै एआईमार्फत फसाउन खोजिएको बताएका छन्।

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् । तर उनको विगत पटक पटक यस्ता विवादमा पर्दै आएका छन् ।

एक महिलामाथि हिंसा गरेको, ज्यान मार्नेसम्मको धम्की दिएको, अपशब्द बोलेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् । सांसद सुनारको बालेको दाबी गर्दै जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सार्वजनिक गरेको उक्त अडियोले सुनारमाथि नैतिक प्रश्न उठाएको छ ।

सार्वजनिक अडियो र त्यहाँ संवाद गरिएकी महिलासँगको सम्बन्ध तथा हिंसाको विषय पुरानो रहेको देखिन्छ । अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद सुनार केही पहिले प्रहरी हिरासत पुगेको समेत भेटिएको छ ।

स्रोतका अनुसार सार्वजनिक अडियोमा बोलेकी महिला विवादमा तानिएका सुनारलाई भेट्न त्यतिबेला प्रहरी वृत्त स्वम्भूको हिरासत पुगेकी थिइन् ।

२०७८ ताका ती महिला सीतापाइला क्षेत्रमा बस्थिन् । त्यतिबेला ती महिला र सुनारबीच लेनदेन सम्बन्धी विवाद भएको बुझिएको छ । त्यतिबेला सुनारले ती महिलालाई कुटपिट गरेको आरोप लागेको थियो ।

राजनैतिक नेतृ रहेकी ती महिलामाथि कुटपिट भएपछि पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले प्रहरी प्रधान कार्यायलयको भीआईपी सुरक्षा हेर्ने सुरक्षा सेवा निर्देशनालायमा जानकारी गराएका थिए ।

त्यसपछि प्रहरी हेडक्वाटरबाट उक्त सूचना जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो । त्यतिबेला काठमाडौंका प्रमुख तथा एसएसपी सुदीप गिरी थिए । स्वयम्भू क्षेत्रको घटना भएपछि प्रहरी वृत्त स्वयम्भूलाई एसएसपी गिरीले घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

त्यसपछि प्रहरीले सुनारलाई पक्राउ गरेर ल्याएको थियो । प्रहरीले सुनारलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएपछि ती महिला उनलाई भेट्न प्रहरीकोमा पुगेकी थिइन् ।

ती महिलाले सुनारलाई आफ्नो जिम्मामा छाड्न प्रहरीलाई भनेकी थिइन् । एक दिन हिरासत बसेपछि दुई जनाबीच मिलापत्र गरेर भोलिपल्ट सुनार छुटेको उच्च स्रोतले अनलाइनखबरलाई बतायो । ती महिलालाई सुनारले पटक–पटक महिला हिंसा तथा कुटपिट गरेको आरोप छ ।

विवादित पृष्ठभूमिका उनै सुनार अहिले अडियो सार्वजनिक भएपछि फेरि विवादमा तानिएका छन् । सार्वजनिक अडियोमा सुनार दाबी गरिएका व्यक्तिले एक महिलालाई तथानाम गाली गरेका छन् । उनका छोरालाई मार्ने काट्ने धम्की दिएका छन् । परपुरुषसँग सम्बन्ध रहेको भन्दै आरोप लगाएका छन् । नेताहरूको नाम जोड्दै उनीहरूसँगको उठबस र लसपस गरेको भन्दै अश्लील शब्द मार्फत् गाली गरेको सुनिन्छ ।

यो विषय आफ्नो नोटिसमा रहेको भन्दै रास्वपाले सुनारमाथि आन्तरिक छानबिन अघि बढाएको छ। सांसदको भूमिकामा सार्वजनिक कार्यक्रममा बोल्न समेत रास्वपाले सुनारलाई प्रतिबन्ध लगाएको छ ।

तर अहिलेसम्म कोही–कसैबाट अडियोको विषयलाई लिएर सुनारविरुद्ध उजुरी नआएको प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले भने, ‘अडियोको विषयमा अहिलेसम्म उजुरी आएको छैन । उजुरी आएको अवस्थामा कानुनी प्रक्रिया अघि बढ्छ’ प्रवक्ता काफ्ले भन्छन् ।

प्रहरीमा उजुरी नआए पनि सुनारमाथि नैतिक प्रश्न भने उठेको छ । सुन्नै नसकिने शब्दहरू बोल्ने, र काट्ने मार्नेसम्मको धम्की दिने व्यक्ति सांसदको हैसियतामा रहिरहन मिल्छ कि मिल्दैन भन्ने नैतिक प्रश्न रास्वपा र सुनार दुवै तर्फ तेर्सिएको छ । पहिल्यै पुलिस केशदेखि मिलापत्रसम्म भए पनि नैतिक प्रश्न भने सांसद सुनारमाथि बाँकी नै छ ।

त्यसो त यस बाहेक पनि सुनारको विगत भने विवादित नै छ । सुनारमाथि २०८१ असारमा सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपसमेत लागेको थियो । उनीमाथि अस्पताल प्रमुखले मुद्दा हालेका थिए ।

त्यस्तै, २०८० असारमा सुनारविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । उक्त प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २० हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए ।

सुनारविरुद्ध महिला अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा विद्युतीय कारोबारसम्बन्धी कसुरमा काभ्रे जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

यता गम्भीर आरोप लागेका सुनारले भने सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू छानबिनमा सघाउन तयार रहेको बताएका छन् । उनले आफूले कुनै अपराध गरेको प्रमाणित भए कानुनअनुसारका परिणाम भोग्न तयार रहेको दाबी गरेका छन् ।

‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ सुनारले भनेका छन् ।

पार्टी र राज्यका निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने बताउँदै उनले आवश्यक परे पार्टीबाट निलम्बित हुन र सांसद पदबाट निलम्बित हुनसमेत तयार रहेको बताएका छन् ।

‘राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु,’ उनले भिडियोमा भनेका छन् ।

तर, सुनारले सार्वजनिक अडियो आफ्नो नभएको दाबी गरेका छन् । उनले एआई लगायतका माध्यमबाट आफ्नो आवाजको नक्कल गरेर आफूलाई फसाउन खोजिएको दाबी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?