२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूसँग जोडेर निर्दोष महिलामाथि भइरहेको टीकाटिप्पणी स्वीकार्य नभएको बताएका छन् । बुधबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले छानबिन वा कारबाही जे भएपनि आफूमाथि हुनुपर्ने बताउँदै निर्दोष महिलालाई दु:ख दिन नहुने बताएका छन् ।
‘राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि जुन ढङ्गबाट मिडिया ट्रायल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियो जोडी टीका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन,’ सुनारले लेखेका छन्, ‘आरोपमा भनिएको छ मैले दु:ख दिएँ । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दु:ख दिएको थियो रे, भन्ने काल्पनिक बुझाइमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ?’
आफूबाट कुनै बदमासी भएको भए महिलालाई गोप्य राखी आफूमाथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषय रहेको उनले बताएका छन् । तर, राज्यको जिम्मेवार निकायबाट महिलालाई लखेटिएको भन्दै उनले प्रश्न गरेका छन् ।
‘समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ?,’ उनले प्रश्न गरेका छन् ।
उनले प्रहरीको हेडक्वाटर, सीआईबीले बार–बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको पनि दाबी गरेका छन् । ‘तर अन्याय भएको भए म आफैं मुद्दा हाल्थें, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफपछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटना क्रम भएको हो,’ सांसद सुनारले दाबी गरेका छन् ।
‘खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा ममाथि प्रश्न गर्नै नपाइने भन्ने होईन । प्रश्न: उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्यक आरोपको सत्य–तथ्य छानबिन होस्,’ उनले अगाडि लेखेका छन्, ‘तर, उहाँ महिलामाथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्तिजनक छ । जे कारबाही हो ममाथि होस्– मलाई स्वीकार छ । उहाँमाथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।’
प्रतिक्रिया 4