Comments Add Comment
सरकारको लापरवाही :

क्वारेन्टाइनमा बस्नुपर्ने ११,७५५ जना कहाँ छन्, सरकारलाई थाहा छैन

६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सन्त्रास विश्वभर बढ्दै गएपछि सरकारले १ चैतबाट संक्रमण फैलिएका देशबाट नेपाल आउनेहरु अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने निर्णय गर्‍यो ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २९ फागुको बैठकको निर्णयमा भनिएको थियो, ‘मार्च १०, २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरुले सेल्फ क्वारेन्टाइन र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागू गर्ने ।’

त्यसअघि कोरोनाबाट बढी प्रभावित र उच्च जोखिममा रहेका मुलुकहरुबाट वा ट्रान्जिट भएर आउने नेपाली नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने निर्णय गरेको थियो ।

त्यसबेलादेखि नै धेरैले यसरी आउनेहरु सेल्फ तथा होम क्वारेन्टाइन बस्छन् त ? भन्ने प्रश्न उठाएका थिए । तर, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भनेका थिए, ‘हरेकको निगरानी गर्छौ, स्थानीय स्वास्थ्य चौकीबाट ज्वरो नाप्न पठाउँछौं । यदि कोही क्वारेन्टाइनमा नबसेको पाइए संक्रमण ऐन २०२० अन्तर्गत कारवाही गर्छौं ।’

अध्यागमन विभागको तथ्यांकअनुसार होम क्वारेन्टाइन अनिवार्य भएको दिन चैत १ गते स्वदेशी तथा विदेशी गरी २२ सय २१ जना नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका छन् ।

त्यसको भोलिपल्ट २४ सय ७०, पर्सिपल्ट २२ सय १३ जना नागरिक नेपाल आएका छन् । निर्णय गरेको चौथो दिन २६ सय २६ जना नागरिक नेपाल छिर्दा पाँचौ दिन अर्थात ५ गते २३ सय ३५ जना नागरिक नेपाल भित्रिए । बिहीबार पनि करिब २ हजारको संख्यामा नेपाल आएका छन् ।

तर, न उनीहरुसँग सेल्फ वा होम क्वारेन्टाइनमा बस्छु भनेर लिखत गराइएको छ, न उनीहरु कहाँ के गरिरहेका छन् भन्ने निगरानी नै भएको छ । अर्थात सरकारको निर्णय कागजमै सीमित छ ।

त्यसलाई पुष्टि गर्दै त्रिभुवन विमानस्थल अन्तर्गत स्वास्थ्य डेस्कका संयोजक गोपाल पाण्डे भन्छन्, ‘अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भन्ने फर्म आज मात्र हेल्थ डेस्कमा आइपुग्यो, त्यसैले उनीहरुलाई भराउन पाइएन । हामीले आजै मात्र ३ सय फर्म एयरलाइन्स कम्पनीहरुलाई पठाएका छौं । अब आउनेले क्वारेण्टाइनमा बस्नुपर्ने फर्म भर्छन् ।’

उनका अनुसार अहिलेसम्म नेपाल आउनेहरुलाई ‘ट्राभल हिस्ट्री’सम्बन्धी फर्म मात्र भर्न लगाउने गरिएको थियो, जसमा देशको नाम, स्वास्थ्य अवस्था र जाने ठाउँबारे जानकारी हुन्छ ।

त्यसकै आधारमा पो निगरानी भइरहेको छ कि ? अहिले कोरोनाको इपिसेन्टर मानिएको युरोपका जर्मनी, बेल्जियम लगायतका मुलुकहरु घुमेर कतारको दोहा ट्रान्जिट हुँदै २ चैतमा नेपाल आएका एक नागरिक भन्छन् ‘विमानस्थलमा ट्राभल हिस्ट्री फर्म भराइयो । तर, न हामीसँग होम क्वारेन्टाइनको फर्म गराइयो, न बस्नुपर्छ भनियो ।’

सरकारले त हरेक व्यक्ति होम क्वारेन्टाइनमा बसेको छ कि छैन हेर्न र ज्वरो नाप्न स्वास्थ्यकर्मी पठाउँछौं भनेको छ, तपाईंकहाँ आएन ? भन्ने प्रश्नमा काठमाडौं उपत्यकामै रहेका उनी भन्छन्, ‘म आफैं सचेत भएर अलग बस्ने प्रयास त गरिरहेको छु । तर, स्वास्थ्यकर्मी आउनु त परको कुरा, क्वारेन्टाइनमा बसे नबसेको पनि हेरेको छैन ।’

आफूसँगै भ्रमणमा गएका कतिपय साथीभाइ दैनिक काममा फर्किसकेको समेत उनले सुनाए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा पनि यस्ता नागरिकको निगरानी नभएको स्वीकार गर्छन् । चैत १ गतेबाट नेपाल प्रवेश गरेकाहरु होम क्वारेन्टाइनमा बसे नबसेको कसरी निगरानी भइरहेको छ ? उनीहरु के गरिरहेका छन् भन्ने अनलाइनखबरको प्रश्नमा मन्त्रालयमा प्रवक्ता देवकोटा भन्छन्, ‘अहिलेसम्म थाहा छैन ।’

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक वासुदेव पाण्डे भने नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न र केही समस्या भए अस्पताल जान भनेको बताउँछन् । उनले अघि भने, ‘अहिलेसम्म समस्या आएर अस्पताल गएको थाहा छैन ।’

विमानस्थलको हेल्थ डेस्क, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालयको प्रष्ट थाहा हुन्छ, ‘सेल्फ वा होम क्वारेन्टाइनको निर्णय अलपत्र परेको छ ।’

र, सरकारको यो लापरवाही घातक हुनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । किनकी यदि यसरी आएका मानिसमा कोरोनाको संक्रमण रहेछ भने महामारीका रुपमा फैलिन सक्छ ।

जतिबेला संक्रमण भित्रिएको पत्ता लाग्छ, त्यसबेलासम्म उसले फ्रन्टफेसमा भेटेका मानिसहरुको ट्रेसिङ गरेर परीक्षण, आइसोलेसन र क्वारेटाइनमा पठाउनसमेत मुश्किल हुन्छ ।

त्यसको पछिल्लो उदाहरण हो, भारतको महाराष्ट्र ।

भारतको सबैभन्दा प्रभावित प्रान्त महाराष्ट्रमा यो समाचार लेख्दासम्म ४७ जनामा संक्रमण देखिएको छ । त्यहाँ संक्रमण फैलिनुको मुख्य कारण एक टूर ग्रुपलाई लिइएको छ ।

एक निजी कम्पनीले ४० जनालाई फेब्रुअरीमा दुबई भ्रमणमा लगेको थियो, जसमा ३८ जना महाराष्ट्रका थिए । उनीहरु घुमफिर गरेर फ्रेब्रुअरी अन्तिम साता भारत फर्किए । त्यतिबेला क्वारेण्टाइनमा बस्नुपर्ने देशको सूचीमा यूएईलाई समावेश गरिएको थिएन ।

त्यसैले उनीहरु घर फर्किए, नियमित काममा गए । तर, भ्रमण टोलीकै एक सदस्यमा पुनेमा संक्रमण देखियो । सरकारले उनको भ्रमण दलमा कोको थिए, भारत आएपछि कहाँकहाँ गए, कोकोसँग प्रत्यक्ष सम्पर्क भयो भन्ने पत्ता लगायो, क्वारेन्टाइन र आइसोलेसनमा राख्यो तर यो निकै ढिलो भइसकेको थियो । त्यही कारण महाराष्ट्रमा कोरोनाको संक्रमण महामारीको रुपमा फैलिने संघारमा पुगेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्न नसक्दा नेपालमा पनि दुर्घटना नहोला भन्न नसकिने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

सारीमा आँचल

Advertisment